समाचार खेल

एसिया कपः शनिवार भारत–पाकिस्तानको भिडन्त, यस्तो छ विगत

एसिया कपमा १३ पटक प्रतिस्पर्धाः ७ मा भारत, ६ मा पाकिस्तान विजयी

एसिया कपः शनिवार भारत–पाकिस्तानको भिडन्त, यस्तो छ विगत

एसिया कप क्रिकेटको उपाधीका लागि शनिवार भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ। उनीहरु दुवै उपाधि दावेदार हुन् ।

दुई देशको सम्वन्धका कारण बहुराष्ट्रिय इभेन्टहरुमा मात्रै भेट हुने यी दुई टिम क्रिकेटमा पनि सधैंका प्रतिस्पर्धी हुन। भारतले पाकिस्तान भ्रमण नगर्ने अडान लिएपछि एसिया कपको आयोजना नै लामो समयसम्म अनिश्चित बनेको थियो ।

अन्ततः भारतका म्याचहरु श्रीलंकामा राख्ने सहमतिमा प्रतियोगिता अघि बढेको हो । भारत र पाकिस्तानबीचका खेलहरु पनि श्रीलंकामा नै हुनेछन् ।

यस प्रतियोगितामा तीन पटक भारत–पाकिस्तान आमनेसामने हुन सक्ने समीकरण छ । दुवै टीम एउटै समूहमा भएकाले समूह चरणमा उनीहरु पहिलो पटक भिड्नेछन् । दुवै टीम सुपर फोरमा छनोट हुने बलियो सम्भावना छ ।

सुपर फोरमा पुगेका चार टीमले एकआपसमा खेल्नुपर्ने हुन्छ । त्यहाँ भारत र पाकिस्तान फेरि भेट हुनेछन् । र, यदि दुवै टीम फाइनलमा पुगेको खण्डमा उपाधिका लागि भिड्नेछन् ।

भारत र पाकिस्तानबीचको खेलमा कसले बाजी मार्ला ? आँकलन गर्न सहज छैन । आम रुपमा पाकिस्तानभन्दा भारतलाई बलियो मान्ने गरिन्छ । एसिया कप खेल्ने भारतीय टीम निकै सन्तुलित पनि देखिन्छ । टीममा अनुभवी र युवा खेलाडीहरुको राम्रो मिश्रण रहेको छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा भारत अब्बल छ ।

यता विश्व नम्बर एक ब्याट्सम्यान बाबर आजम नेतृत्वको पाकिस्तान टीम अहिले विश्व वरियताको एक नम्बरमा छ। पाकिस्तानको ब्याटिङ र बलिङ राम्रो छ । तर, फिल्डिङ भने कमजोर छ । भारतले पाकिस्तानको यही कमजोरीको फाइदा उठाउन सक्छ ।

भारतसँग एकसे एक स्टार ब्याट्सम्यानहरु छन् । सबैभन्दा अगाडि आउने नाम हो विराट कोहली । उनी वर्तमान क्रिकेटकै सबैभन्दा ठूला नाम हुन् । भारतीय ओपनर जोडीका रुपमा कप्तान रोहित शर्मा र इसान किसान रहनेछन् ।

मध्यक्रममा विराटसहित शुभमान गिल, श्रेयस ऐयर, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या जस्ता युवा ब्याट्सम्यान छन् । सूर्यकुमार एक दिवसीयमा राम्रो फर्ममा नभए पनि टी २० का नम्बर १ ब्याट्सम्यान हुन् । हार्दिक पाण्ड्या विस्फोटक ब्याट्सम्यानका रुपमा चिनिन्छन् ।

यता, पाकिस्तानको ब्याटिङ बाबर आजममा बढी निर्भर छ । बाबर लामो समयदेखि एक दिवसीय विश्व वरियतामा नम्बर एक स्थान ओगटेर बसिरहेका छन् । उनी क्रिकेटका तीनवटै फर्म्याटमा आफूलाई अब्बल सावित गरेका ब्याट्सम्यान हुन् ।

दुई दिनअघि भएको उद्घाटन म्याचमा बाबरले नेपालविरुद्ध १५१ रनको विस्फोटक पारी खेले । पाकिस्तानको ओपनिङ जोडीका रुपमा इमाम उल हक र फकार जमानको जोडी रहनेछ । 

बलिङतर्फ भारत निकै सन्तुलित र शक्तिशाली छ । जसप्रित बुमराहले टोलीमा कमब्याक गरेका छन् । उनको बल झेल्न कुनै पनि ब्याट्सम्यानलाई सहज हुँदैन । अन्य दुई फास्ट बलर मोहम्मद सिराज र मोहम्मद सामी पनि उत्तिकै खतरनाक छन् ।

स्पिन बलिङमा भारत विश्वमै अग्रणी छ । कुलदीप यादव र रवीन्द्र जडेजाले भारतको स्पिन आक्रमण सम्हाल्नेछन् । उनीहरु दुवै विकेट टेकिङ बलर हुन् । जडेजा ब्याटिङ पनि राम्रो गर्छन् ।

पाकिस्तानको फास्ट बलिङ धारिलो छ । साइन साह अफ्रिदीले फास्ट बलिङको नेतृत्व गर्नेछन् । उनलाई नसिम साह र ह्यारिस राउफको साथ रहनेछ । तीनै जना फास्ट बलहरु १५० किलोमिटर प्रतिघन्टाको गतिमा बलिङ गर्न सक्छन् ।

पाकिस्तानको स्पिन विभाग अलिकति फितलो छ । प्रमुख स्पिनरका रुपमा सदाव खान र मोहम्मद नवाज छन् । स्पिनलाई सहयोग गर्ने पिचमा उनीहरुले राम्रो बल फ्याक्न सक्छन् । एसिया कपको अहिलेसम्मको रेकर्डमा भारत र पाकिस्तान १३ पटक आमनेसामने भएका छन् । त्यसमा भारतले सात वटा र पाकिस्तानले ५ वटा म्याचमा जीतेको छ। 

एसिया कप

विशेष