समाचार

कर्मचारीलाई घुस खुवाएको आरोपमा अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

कर्मचारीलाई घुस खुवाएको आरोपमा अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुशन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाका बासिन्दा ज्ञानहरि लामालाई कर्मचारीलाई घुस खुवाएको आरोपमा भ्रष्टाचार मुद्दा लगाएको छ । 

लामाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका आठौं तहका इन्जिनियर योगेन्द्र ढुंगेललाई १ लाख ५० हजार रुपैयाँ घूस दिएको आरोप छ।

लामा स्वयमले दिएको घुस र बयानका आधारमा अख्तियारको फन्दामा परेका हुन। अख्तियारले लामालाई सरकारी साक्षी बनाएर ढुङ्गेल विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। तर, अन्तिम समयमा उनले बयान फेरेपछि अख्तियारले उनलाई नै मुद्दा हालेको हो।

उनले आयोगमा दिएको बयानको प्रतिकूल हुने गरी विशेष अदालतमा बकपत्र गरेको जनाईएको छ। त्यसपछि मूल अभियुक्त सरह १ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवाना मागसहित आइतबार भ्रष्टाचार मुद्दा चलाइएको हो ।

अख्तियारले ढुङ्गेल विरुद्ध ०८० वैशाख १५ गते भ्रष्टाचार मुद्दा चलाएको थिए । इन्जिनियर ढुंगेल घूस रकमसहित पक्राउ परेका थिए ।

खाद्य विभागसँग खानेपानी जार तथा मिनरल वाटरका निम्ती अनुज्ञापत्रका लागि लामाले घूस बुझाएका थिए । 
 

विशेष