समाचार अपराध सुरक्षा

७७ प्रहरी अधिकृत फेल भएको निर्मला पन्त हत्या प्रकरणमा डिआईजी नेतृत्वमा अर्को टोली

७७ प्रहरी अधिकृत फेल भएको निर्मला पन्त हत्या प्रकरणमा डिआईजी नेतृत्वमा अर्को टोली

७७ प्रहरी अधिकृत असफल भएको निर्मला पन्तको बलात्कार तथा हत्याको घटना अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डीआईजी दुर्गा सिंह नेतृत्वको टोली फेरी कञ्चनपुर पठाएको छ। 

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा डिआईजी सिंह नेतृत्वको ५ सदस्यीय अनुसन्धान समिति बुधबार कन्चनपुर पुगेको हो। घटनालाई निचोडमा पुर्याउन भन्दै गठन गरिएको टोलीमा चिकित्सक समेत छन्।  

प्रहरी प्रवक्ता टेकप्रसाद राई भने अनुसन्धान भइरहे पनि नयाँ बनेको समितिले त्यसलाई थप निचोड दिन मद्दत गर्ने बताउँछन्। अहिले पनि त्यहाँ सीआईबीका डीएसपीको नेतृत्वमा टोलीले अनुसन्धान गरिरहेको छ। 

घटनापछिको साढे ४ वर्षको अवधिमा सईदेखि डीआईजीसम्म ७७ जना अनुसन्धान अधिकृतले यो हत्याको अनुसन्धान गरिसकेका छन् भने ४ गृहमन्त्री र ४ आईजीपी फेरिइसकेका छन्। हरेक गृहमन्त्रीले यो घटना आफ्नो प्राथमिकतामा रहेको बताउने गरेका छन्। कार्यभार सम्हालेपछि हरेक आईजीपीको उत्तर पनि उही हुन्छ– अब चाँडै दोषी पत्ता लाग्छ। 

घटनापछि रवि लामिछाने, रामबहादुर थापा, खगराज अधिकारी र बालकृष्ण खाण गृहमन्त्री भएका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ लामिछानेले पहिलो निर्णय गर्दै निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताए। गृहमन्त्री लामिछानेकै निर्देशनमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन भएको हो। 

हालका आईजीपी धिरज सिंहको पनि सुरुदेखि कै चासो यो घटनामा छ। आईजीपी भएपछि उनले पनि टोली खटाएका थिए। तर, सो प्रयास पनि असफल भयो। कतिपय आईजीपीहरु आफैँ घटनास्थल पुगेका छन्।

गृह मन्त्रालयदेखि मानवअधिकार आयोगसम्मले घटनाबारे छानबिन समिति बनाएका थिए। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। 

समितिले पनि अनुमान गर्नबाहेक अन्य ठोस उपलब्धि दिन सकेन। मानव अधिकार आयोगले पनि समिति बनाएको थियो। यस्तै प्रहरीले पनि डीआईजी धिरु बस्नेतको नेतृत्वमा समिति बनाएको थियो। 

सबै समितिले छुट्टाछुट्टै निचोडसहितका प्रतिवेदन तयार गरे पनि अनुसन्धानलाई सघाउ पुर्याउने कुनै पनि प्रमाण दिन सकेनन्। प्रहरीले सुरुमै स्थानीय दिलिप सिंह विष्टलाई पक्राउ गरेको थियो। तर डीएनए नमिलेपछि उनलाई छाडिएको थियो। सीआईबीको अनुसन्धान टोलीले विष्टसँग डीएनए नमिले पनि अन्य प्रमाणले पुष्टि गर्ने दाबी गरेको थियो। 

डीआईजी सिंह घटनाको अनुसन्धानमा दोस्रो पटक खटिएकी हुन्। यसअघि एसपी हुँदा पनि उनलाई अनुसन्धानमा त्यहाँ खटाइएको थियो। ०७५ साउन ११ गते भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला उखुबारीमा मृत फेला परेकी थिइन्। बलात्कारपछि उनको हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। 

डाक्टरसहित घटनास्थल पुगेको टोलीले अहिलेसम्मका प्रमाण र अनुसन्धानलाई एउटा निचोडमा पुर्याउने तयारी गरेको छ। 
 

निर्मला पन्त

विशेष