समाचार अर्थ

प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सी कारोबारमा नेपाल '१६औँ स्थानमा’

प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सी कारोबारमा नेपाल '१६औँ स्थानमा’

यसै साता नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी र बिटकोइन लगायतका गैरकानुनी कारोबार हुने वेबसाइट, एप र अनलाइन सञ्जालमा पहुँच रोक्न निर्देशन दिएपछि उक्त भर्चूअल मुद्राबारे नेपालमा फेरि बहस हुन थालेको छ।

भर्चूअल मुद्रा र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिमार्फत् हुने कारोबार नेपालमा पछिल्लो समय बढ्दै गएको प्राधिकरणको निर्देशनमा उल्लेख छ।

‘क्रिप्टोकरेन्सी, बिटकोइन, हाइपर–नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाललगायत भर्चूअल माध्यमको नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउनेगरी तथा त्यस्ता वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच हुन नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट सेवाप्रदायकलाई निर्देशन जारी गरिएको छ।’

नेपाल राष्ट्र ब्याङ्कको आग्रहमा आफूहरूले इन्टरनेट सेवाप्रदायकहरूलाई पछिल्लो निर्देशन दिएको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले बीबीसीलाई बताए।

निर्देशनको पालना नगरेको पाइएमा प्रचलित ऐनबमोजिम कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ।

पाँच वर्षअघि नै गैरकानुनी घोषित
विसं २०७४ सालमै क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई अवैध घोषणा गरिसकेको नेपाल राष्ट्र ब्याङ्कले त्यसको कारोबार नगर्न सूचना जारी गर्दै आएको छ।

सर्वसाधारण ठगिनुका साथै अवैधानिक रूपमा रकम बाहिरिने र स्वदेशी पुँजी पलायन हुने भएका अहिलेसम्म नेपालमा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता नदिइएको केन्द्रीय ब्याङ्कका अधिकारीहरूले बताउँदै आएका छन्।

नेपालमा जस्तै बाङ्ग्लादेश, चीन, कतार, मोरक्को, इराक, इजिप्ट, अल्जेरिया र ट्यूनिशियामा पनि क्रिप्टोकरेन्सी पूर्ण रूपमा प्रतिबन्धित रहेको बताइन्छ।

कोइनडेस्क नामक बेवसाइटका अनुसार सन् २०२२ को ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्सको आधारमा नेपाल क्रिप्टोकरेन्सीको कारोबारमा विश्वभरि १६औँ स्थानमा देखिएको छ। यूके र इन्डोनेशियाजस्ता देशहरू नेपालभन्दा मुनि छन्।

यसले नेपालमा प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सीसँग सम्बन्धित गतिविधि धेरै रहेको सङ्केत गर्छ।

ब्लकचेनसम्बन्धी डेटा विश्लेषण गर्ने कम्पनी ‘चेनएनलिसिस’ले उक्त इन्डेक्स प्रकाशित गरेको हो।

उक्त कम्पनीका अनुसार उसले विश्वका ७० वटाजति मुलुकमा सरकारी तथा आर्थिक निकायका लागि डेटा, अनुसन्धान सहितको सेवा प्रदान गर्दै आएको छ।

एल साल्भाडोरले क्रिप्टोकरेन्सीलाई मुद्रासरह कानुनी मान्यता दिएको छ भने केही देशमा कानुनी मान्यता नपाए पनि क्रिप्टोकरेन्सीमार्फत् कारोबार सहज छ।

क्रिप्टोकरेन्सी विश्वव्यापी रूपमा उद्योगका रूपमा विकास भइरहेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाउनु उचित नभएको कतिपयले तर्क गर्दै आएका छन्।

इन्टरनेट सेवाप्रदायकहरू के भन्छन?
नियामक निकायले दिएको निर्देशनको आफूहरूले पालना गर्दै आएको इन्टरनेट सेवाप्रदायकहरू बताउँछन्।

यसअघि नेपाल राष्ट्र ब्याङ्कले सोही प्रकृतिको निर्देशन दिएपछि इन्टरनेट सेवाप्रदायक सङ्घले पहुँच रोक्नुपर्ने वेबसाइट र अनलाइन सञ्जालको सूची मागेको थियो।

यद्यपि कतिपय कुरा आफ्नो पनि नियन्त्रणमा नभएको सङ्घका प्रमुख सुवास खड्का बताउँछन्।

‘हाम्रो नेटवर्कमा, पहुँचमा भएका कुरालाई कानुनी प्रक्रिया पूरा भएको अवस्थामा हामी ब्लक गरिदिन्छौँ। तर हाम्रो नियन्त्रणबाहिरका कुरालाई प्राविधिक रूपमा पनि र व्यावहारिक रूपमा पनि हामी ब्लक गर्न सक्दैनौँ’उनले भने।

डीएनएस ब्लक लगायतका प्राविधिक पोइन्टमा ब्लक गर्न सम्भव नहुने खड्काको भनाइ छ।

जानकारहरूका अनुसार सेवाप्रदायकले अवरोध गरिदिए पनि वेबसाइट र एप्लिकेशनहरू भीपीएन (भर्चूअल प्राइभेट नेटवर्क) बाट खोल्न मिल्ने भएकाले क्रिप्टोकरेन्सी र अनलाइन बेटिङ पूर्णतः नियन्त्रण गर्न भने असम्भव नै हुन्छ।

नेपाल प्रहरी के भन्छ?
छोटो समयमा धेरै कमाउने लोभमा पनि नेपालमा क्रिप्टोकरेन्सी र अनलाइन जुवातर्फ कतिपय मानिसको आकर्षण बढिरहेको हुनसक्ने प्रहरीको ठम्याइ छ।

‘क्रिप्टोकरेन्सीको कुरा मात्रै होइन, डिजिटल प्रविधिमार्फत् हुने आर्थिक अपराधलाई पनि हामीले समयमै नियन्त्रण गर्न सकेनौँ भने डरलाग्दो रूप लिन सक्ने जोखिम छ,” नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले भने।

डिजिटल प्रविधिमार्फत् हुन थालेका गैरकानुनी कारोबारलाई नियन्त्रण गर्न विभिन्न निकाय एकीकृत ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता उनी औँल्याउँछन्।

‘त्यस्ता गतिविधि नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनी र प्रहरी मिलेर इन्टिग्रेटेड रूपमा काम गर्न जरुरी छ,” प्रहरी नायब महानिरीक्षक राईले थपे।

क्रिप्टोकरेन्सी के हो?
क्रिप्टोकरेन्सी भनेको भर्चूअल मुद्रा हो जसको अस्तित्व अनलाइनमा सीमित छ।

भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।

यो भर्चूअल मुद्राको कुनै केन्द्रीय ब्याङ्क हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन।

संसारभरिका कम्प्युटरमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।

क्रिप्टोकरेन्सीको प्रयोग गरी सरसामान खरिद गर्न वा भुक्तानी गर्न सकिन्छ।

यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ।

सबै क्रिप्टोकरेन्सी ब्लकचेन भनिने प्रविधिमा आधारित हुन्छन्। सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो।

बिटकोइनको संस्थापन श्रेय सातोशी नाकामोतोलाई दिइएको छ। तर रोचक कुरा के छ भने सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।

हालसम्म हजारौँको संख्यामा क्रिप्टोकरेन्सी अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम पनि जारी छ।
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।
 

विशेष