समाचार राजनीति

एमालेसहित ४ पार्टीको गठवन्धन गर्ने प्रयासमा बाबुराम भट्टराई

एमालेसहित ४ पार्टीको गठवन्धन गर्ने प्रयासमा बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र लोसपासँग गठवन्धन गर्ने योजना अघि वढाएका छन।

गठवन्धनका लागि विभिन्न च्यानल मार्फत अनौपचारिक छलफल तथा एमाले अध्यक्ष केपी शर्मा ओली र डा. भट्टराईका विचमा पनि सम्वाद चलिरहेको श्रोतको दावी छ। केही समय अघिसम्म भट्टराई ५ दलिय गठवन्धनमै रहने चर्चा थियो। कांग्रेसबाहेक अन्य दलबीच एउटै चुनाव चिन्हमा उम्मेदवारी दिन तयार रहेका भट्टराईले अन्तिम समयमा गठबन्धनबाट धोका पाए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुरामलाई लक्षित गरी पाँच दलबाहेक अन्यसँग गठबन्धनमा सहभागि नगराउने सहमति गराएपछि भट्टराईका लागि सत्ता गठबन्धनको ढोका बन्द भएको छ। त्यसपछि मात्रै उनी एमालेसहितको गठवन्धन गर्ने तयारीमा लागेको जनाईएको छ। श्रोतका अनुसार महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि गठवन्धनमा समावेश गराउने भट्टराईको तयारी छ।

भट्टराईको योजना सफल भए एमाले, नेसपा, लोसपा र  नाउपाका बीचमा चुनावी तालमेलको सम्भावना रहेको भट्टराई निकट एक नेताले वताए । तर, लोसपा भने कांग्रेससँगै गठबन्धन गर्ने पक्षमा छ। त्यसबारे छलफल गर्न लोसपाले आजै (साउन २३ गते) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

तथापी भट्टराई र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोबीच छलफल भइरहेको श्रोतको दावी छ। चुनावको मिति घोषणा भएपछि नयाँ पार्टीभित्र निर्णय गर्न बाबुरामलाई सहज छ। त्यसमाथि आफ्नो निर्वाचन क्षेत्रमा जित्न महिन्द्र राय यादवलाई पनि बलियो शक्तिकै आड चाहिने भएकाले लोसपासँग चुनावी तालमेल हुने नेताहरु बताउँछन्।

जसपा पुनर्गठन गरेर भट्टराईले पनि साउन १२ गते लोकतान्त्रिक समाजवादी पार्टीको नाम परिमार्जन गरी नेसपा बनाएका छन। उनको पार्टी निर्वाचन आयोगमा दर्ता भईसकेको छ। 

बाबुराम भट्टराई