समाचार

सत्तारुढ दलकै महामन्त्रीले मागे अर्थमन्त्रीको राजिनामा, नदिए हटाउन सुझाव

सत्तारुढ दलकै महामन्त्रीले मागे अर्थमन्त्रीको राजिनामा, नदिए हटाउन सुझाव

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनु पर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर पनि प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताए।

स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाको माग छ। ‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ’ थापाले भने–‘यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । र तत्काल छानबिन गर्नुपर्छ।’

अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको र करको दर हेरफेर गराएको आरोप लागेको छ । नेकपा एमालेले संसदमा यो विषय उठाउँदै संसदीय छानबिन माग गरेको छ । उनले गलत गरेको भन्दै सार्वजनिक रुपमा सिसिटिभी फुटेज माग गरिएको छ। तर, उनले त्यो फुटेज डिलिट भएको जवाफ दिएका छन् । कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने नियम रहेको तर अर्थ मन्त्रालयले त्यो नियम पनि नमानेको थापाले बताए ।

‘अब यो उठ्यो, यत्तिकै गयो भनेर हुँदैन । यस्तो ग¥यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ । र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ। वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ’ थापाले भने–‘तत्काल उहाँले राजीनामा दिने । वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने ।’
 

गगन थापा
ADVERTISEMENT