समाचार समाज

वडाको सिफारिसः रामबहादुर आलेकी श्रीमती अविवाहित हुन् !

वडाको सिफारिसः रामबहादुर आलेकी श्रीमती अविवाहित हुन् !

स्थानीय तहका जनप्रतिनिधिले जथाभावी सिफारिस गर्न थालेका छन् । गुल्मीको सत्यवती गाउँपालिकाका एक वडाध्यक्षले विवाहित महिलालाई समेत अविवाहित भन्दै सिफारिस गरेको पत्र अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

सत्यवती गाउँपालिका ८, भार्सेका वडाध्यक्ष होमबहादुर रानाले स्थानीय रामबहादुर आलेकी श्रीमती गौमाया आले अविवाहित रहेको भन्दै सिफारिस गरेको पत्र सार्वजनिक भएको छ। साउन ४ गते अविवाहित प्रमाणित गरिएको सिफारिस पत्रमा श्रीमानको नाम सहित खुलाएर उनी अविवाहित रहेको जनाईएको छ।

वडा कार्यालयको लेटरप्याडमा जारी गरिएको पत्रमा भनिएको छ– ‘प्रस्तुत विषयमा गुल्मी जिल्ला साविक भार्से गा.वि.स वडा नं. ६ हाल सत्यवती गाउँपालिका वडा नं ८ भार्से गुल्मीमा निवासी हिरालाल छन्तेलकी छोरी राम बहादुर आलेको श्रीमती ना.प्र.न. १६÷जारी मिति २०४४।१२।२९ गुल्मी, को गौमाया आलेले यस वडा कार्यालयमा दिनु भएको निवेदन अनुसार निज गौमाया आलेको हालसम्म कहिँ कतै पनि पुनः विवाह नभएकोले निज गोमाया आलेलाई अविवाहित हो भनी सिफारिस साथ प्रमाणित गरीन्छ।’

यो सिफारिस पत्र जारी भएपछि सामाजिक सञ्जालमा वडाध्यक्ष रानाको ब्यापक आलोचना भईरहेको छ। जानकारी अनुसार गौमाया आले एकल महिला हुन् । उनका श्रीमान् रामबहादुर आलेको २०७७/०१/०१ मा निधन भइसकेको छ ।


 

सिफारिस गौमाया आले