समाचार

अर्थमन्त्रालयले संसदिय समितिलाई ढाँट्यो, जेठको भन्दै असारको फुटेज पठाएको खुलासा

अर्थमन्त्रालयले संसदिय समितिलाई ढाँट्यो, जेठको भन्दै असारको फुटेज पठाएको खुलासा

अर्थमन्त्रालयले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई समेत ढाँटेको पत्ता लागेको छ। समितिले मागेको भन्दा एकमहिना पछिको सीसीटीभी फुटेज उपलब्ध गराएर अर्थमन्त्रालयले ढाँटेको पाईएको छ।

समितिले मन्त्रालयसँग जेठ महिनाभरको सीसीटीभी फुटेज मागेको थियो। तर अर्थमन्त्रालयले असारको चाहिँ फुटेजसहितको हार्डडिस्क दिएको छ। बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अनधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर करका दर हेरफेर गराएको विषयमा छानबिन गर्न बनेको समितिलाई मन्त्रालयले शुक्रबार सीसीटीभी फुटेजको हार्ड डिस्क दिएको थियो।

तर, उक्त हार्ड डिस्कलाई शुक्रबार र शनिबार हेर्दा असार महिनाको पाइएको छानबिन समितिका एक सदस्यले जानकारी दिए। मन्त्रालयले यसअघि सीसीटीभी फुटेज डिलिट भएको जवाफ दिएको थियो। अर्थमन्त्रीको योजनामा फुटेज मेटाइएको भन्दै संघीय संसदले छानबिन समिति बनाएको हो। मन्त्रालयले समितिलाई पनि जेठको हार्ड डिस्क उपलब्ध गराएको छैन।

छानबिन विशेष समितिले शनिबार अर्थसचिव, राजस्व सचिव, मन्त्रालयका विभिन्न विभागका महानिर्देशकसँग बयान पनि लिएको थियो। उनीहरुको वयानमा महत्वपूर्ण क्लु फेला पर्ने आशा गरिएको थियो। तर, कुनै महत्वपूर्ण क्लु भेटाउन नसकेको एक सदस्यले जानकारी दिए ।

यो पनि,
संसदीय छानविन समितिले हात पार्यो अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्क

जनार्दन शर्मा

विशेष