समाचार कभर स्टोरी

पुतली सडकको नेममा शिक्षक सेवाका विद्यार्थी अलपत्र, गुनासो गर्नेलाई गुण्डा परिचालन

पुतली सडकको नेममा शिक्षक सेवाका विद्यार्थी अलपत्र, गुनासो गर्नेलाई गुण्डा परिचालन

काठमाडौँस्थित पुतलीसडकमा रहेको नेम इन्स्टिच्युटमा शिक्षक सेवा आयोगका हजारौँ विद्यार्थी अलपत्र परेका छन्  । नेमले क्षमता भन्दाबढी विद्यार्थी भर्नागर्दा बस्ने ठाउँसमेत नभएको गुनासो बढ्न थालेको छ  । गुनासो गर्ने विद्यार्थीलाई गुण्डा परिचालन गरेर धम्कि दिने गरेको आरोप नेममाथि लागेको छ  । 


‘देशको राजधानीमा रहेको यो ईन्स्टिच्युटमा बिधार्थीहरु आफ्नो भबिष्य बनाउनको आउने गर्छ्न  । बा–आमाका सपना र आफ्नो भबिष्य देखेर आएका सबै बिद्यार्थीहरुमाथी नेमले ठूलो घात गर्दै छ  । पैँसा कमाउने उदेश्यले खोलिएको यो ठाउँमा विद्यार्थीहरुले सकि नसकी महिनाको दश–बाह्र हजार तिरेर आएका छन  । म पनि यहि ईन्स्टिच्युटमा अध्ययनरत एउटा विद्यार्थी हुँ  । तर, पढाइको नाममा पैसा कमाउनको लागि एउटै कोठाभित्र करिब दुइ सय जना राखेर पढाउने गरेको छ   । शिक्षकहरु व्यवस्थापन गर्न नसकेर बिद्यार्थीहरुलाइ अलमल्ल पारेर दिनहरु धकेल्दै छ  । त्यसमा पनि भएको शिक्षक विशेषज्ञ नभएर अरु विषयको शिक्षक लाई पढाउन थालेको छ  ।’ नेममा पढ्न आएकी कमला शाही गुनासो गछिन्  ।

शिक्षक व्यवस्थापन नभएको र बस्ने ठाउँसमेत नभएको गुनासो गर्दा गुण्डा लगाएर धम्कि दिने काम समेत भएको शाहीको भनाई छ  । राम्रो भनेर नेममा भर्ना हुँदा कुकुरले नपाएको दुःख पाएको साथै भविष्य पनि अन्योल परेको उनको गुनासो छ  ।

उनले टियु स्टुडेन्ट नामक फेसबुक ग्रुपमा पोस्ट सेयर गरेकिछिन्, ‘बिद्यार्थीहरुले आवाज उठाउन खोज्दा गुण्डा परिचालन गरि धम्काउने गरेको छ  । बेलैमा ठाउँ चिन्न नसक्दा अहिले धेरै धोका पाइएको छ  । साथिहरु तपाईं आफ्नो सुनिश्चित भबिष्यको लागि पढने ठाउँ खोज्दै हुनुहुन्छ भने यहाँ झुक्किएर पनि नआउनु होला  । गरिव र निमुखा बा–आमाका  छोराछोरीले त यहाँ पढ्न सम्भब नै छैन  । बरु लुटानमा भने अबश्य पर्न सकिन्छ  ।’


उक्त ग्रुपमा सेयर भएको शाहीको स्टाटसमा  हजार भन्दाबढीले रियाक्ट गरेकाछन् भने सयौँ 'नेम-पिडित' विद्यार्थीले समर्थन गरेकाछन्  । दुर्गा वास्तोला नामक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘नेमले पछिल्लो समय न नोट राम्रोसँग एकमुष्ट दिएको छ न त विषय विज्ञ शिक्षक नै छन्  । पढाउने शिक्षक पनि खाली मोबाइल मात्र हेरेर पढाउँछन्  । समय सकिन लाग्दा समेत विषयवस्तु कति सकियो ध्यान नै छैन  । बेलैमा सम्बन्धित पक्षको ध्यान जाओस्  ।’ 


नमिता कार्कीको प्रतिक्रिया पनि उस्तै छ, ‘तितो यथार्थ  । साच्चै पिडित छन् यहाँका विद्यार्थीहरु  । त्यसमा म पनि पर्छु  ।’ 


लोकेन्द्र पुन मगर लेख्छन्, ‘कुनै बेला राम्रो चलेको थियो  । पढाउने मान्छेपनि राम्रा आउँथे  । तर हाल आएर दक्ष प्रशिक्षक नहुँदा कमाई खाने भाँडो भात्र भएको देखिन्छ  ।’ 


विद्यार्थी संख्या बढी भएकोले उचित व्यवस्थापन गर्न नसकेको कुरा नेमका एकजना प्रतिनिधिले स्विकार गरे  । फोनमा कुरा गर्दै उनले भने, ‘धेरै विद्यार्थी भएको ठाउँमा कहिलेकाहीँ समस्या आईहाल्छ  । गुनासो गर्ने विद्यार्थीले किन गुनासो गरे यतै नेममा हेर्न आउनुहोस्  । विद्यार्थीले कार्ड नल्याउँदा, पैसा पुरै नतिर्दा प्रशासनमा गएर कुरा गर्नुस् भन्छौँ  । त्यसलाई गुण्डा लगाएको भन्न मिल्दैन  ।’

कसरी लुट्छ नेमले ? 
१. नेममा भर्ना हुने विद्यार्थीलाई ‘हामीसँग प्रश्नपत्र आउट गर्न सक्ने क्षमता छ’ भन्ने र सोही अनुसारको भ्रम श्रृजना गर्ने गरेको । किन्न सक्नेलाई  नेमले प्रश्नपत्र पनि बेच्ने गरेको आरोप लाग्छ ।  
२. नेमले आफुले सिफारिस गरेका पुस्तकबाट मात्र प्रश्न आउने दावी गर्छ । पछिल्लो घट्नाक्रमले नेमले सिफारिस गरेको पुस्तक गुरु र गुरु टुबाट मात्र प्रश्न आउनु संयोग मात्र हो र? भन्ने प्रश्न उठ्नु यसको उत्तर हो । 
३. धेरै पैसा दिएर उच्च सरकारी कर्मचारी, त्रिभुवन युनिभर्सिटीका प्रोफेसर, लेक्चरलाई प्रशिक्षक बनाएर ल्याएर मार्केटिङ गर्ने गरेको  । यी र यस्तै कारणले भ्रम श्रृजना गरेर बेरोजगार युवालाई नेमले ठगी गर्ने गरेको आरोप लाग्दै आएको छ ।

अतिथी प्रशिक्षक भएर जाने एक उच्च सरकारी कर्मचारी भन्छन–‘हामीले खास केही पढाउने त होईन,  गेस्ट लेक्चर भएर जाने हो । आफ्नो अनुभब शेयर गर्ने हो । तर एकदम राम्रो पैसा दिन्छ ।’ 

यसरी पनि जोडिन्छ गुरु
केही दिनअघि सेडेप नेपालका श्रोत ब्यक्ति डा. दत्तात्रय दहालले जुमको प्रयोग गरेर आफनो पुस्तकको विज्ञापन गरेको भिडियो सार्वजनिक भयो  । उनले गुरु वाहेक अन्य कुनै पनि पुस्तक नपढ्नु सवै प्रश्न त्यसैबाट पर्छ भन्दै परिक्षार्थीहरुलाई आश्वास्त पारिएको छ  । 

भिडियोमा दहालले फागुन महिनाको २० गतेसम्म गुरु पुस्तक तीन पटक पढिसक्न आग्रह गरेका छन्   । ‘यो २० गतेसम्म, यो फागुन महिनाको २० गतेसम्म तपाईले तीन चोटी पढिसक्नोस  । त्यसपछि तपाई फेरी यो खालको जाँचमा वस्नोस, अव त्यतिवेला तपाईको परिक्षामा सुधार भएन भने, म त तपाईकै क्लासमा हुन्छुनी त  । अनि मलाई भन्नोस  । तर तीन चोटी पढिसक्नोस’ उनले भनेका छन–‘अरु कुनै किताव नहेर्नोस, कुनै पनि   । कुनै पनि, मात्रै गुरु वुक पढ्नोस  । मात्रै तीन चोटी  । यो महिनाको २० गतेसम्म  ।’

दहालले आफुहरु रणनीतिक रुपमा अगाडि वढेको वताएका छन्   । ‘हामी के गर्दैछौ भने रणनीतिक हिसावले, तपाईहरु पास हुनुपर्छ  । तपाईहरुलाई यो महिनाभित्र हामीले कोर्ष सक्छौ  । सवै कोर्ष सक्छौ  । चैत १ गतेदेखि कम्तीमा दुई हप्ता वेलुका यसैगरी दुई घण्टा समय छुट्याउँछौं  । आधा समय मुल–मुल कन्टेन्टको वारेमा तपाईहरुलाई भन्छो र आधा समय कैशन एन्सर यहाँबाट गछौं  ।’ उनले भनेका छन–‘तर, त्यो आईडि र पासवर्ड जल्ले एड्मिसन गर्नु भाको छ, त्यो भन्दा वाहेकलाई दिन पनि पाउनु हुन्न  । त्यहाँ भित्र धेरै सेक्रेट कुराहरु तपाईलाई आउँछ  । त्यो भन्दा वढि भन्न मिल्दैन  । विशुद्ध परिक्षा केन्द्रित कृयाकलाप हामी गर्छौ  ।’

दहाल नेम इन्स्टिच्युटकै प्रशिक्षक हुन   । उनले त्यहाँ शिक्षा सेवाको प्राविधिक सहायक, बीनी तथा शिक्षक सेवा आयोगका कक्षाहरु लिन्छन्  ।

फेसवुक पेजमा आदर्शका कुरा
माथिका घट्नाक्रमले नेमबाट भईरहेको गतिविधिका विषयमा प्रष्ट्याउँछ  । आरोप लगाउनेहरुले यिनै आधारमा रहेर नेमलाई ठगी गरेको आरोप लगाउँछन्  । तर, नेमको फेसवुक पेजमा भने निकै आदर्शका कुराहरु उल्लेख गरिएको छ  ।

विद्यार्थी र अभिभावकसँग अनावश्यक प्रतिवद्धता नगर्ने र हुँदै नभएका नजितामा दावी नगरेका कारणले विद्यार्थीहरू र अभिभावकहरूले नेमलाई विश्वास गरेका छ र यसले नै आफुहरुलाई थप जिम्मेवार वनाएको उल्लेख छ  । 

नेम ‘विकास तथा नीति अध्ययन केन्द्र नेपाल’ अन्तर्गत सञ्चालनमा छ  ।

शिक्षक सेवा आयोगको परिक्षा पास गराइ दिने भन्दै लाखौं असुल्ने माथि प्रहरीको एक्सन

शिक्षक सेवा आयोगको प्रश्नपत्र बजारमा लिलामी, अडियो सम्वाद सार्वजनिक

नेम सेडेप नेपाल
ADVERTISEMENT