विचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले दिएको सन्देश

नारद मधेसी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले दिएको सन्देश

नेपाल–भारत सम्वन्ध विश्वमै अनौठो प्रगाढ मित्रताको प्रतिक छ । इतिहास सुरु हुनुभन्दा सदियौ पुरानो धार्मिक, सामाजिक, भौगोलिक, भाषिक आपसी समानतामा आधारित दुबै छिमेकी मुलुक खुला सिमा नाकाको सम्बन्धले पनि विश्वमै उदाहरणीय छ । विश्व समुदाय समक्ष भिन्न राष्ट्रियता र छवी वनाउदै आएका नेपाल र भारतबीचको सम्वन्ध एैतिहासिक, प्राकृतिक र घनिष्ट मित्रतासंगै संसारमै खुला सिमाना बिचको आवत जावतले  संसारलाइ आफ्नो प्रगाढ मित्रताको उदाहरण स्थापित गर्न सफल छ ।

भूगोल परिवर्तन हुँदैन तर राजनीति परिवर्तन हुन्छ । राजनीतिक परिवर्तनले आर्थिक नीति र अवस्थामा परिवर्तन ल्याउँछ । मोदीले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको यसअघि नै दर्शन गरिसकेका छन । यसैलाई निरन्तरता दिँदै उनी पछिल्लो पटक लुम्बिनी उत्रिएका हुन । प्रधानमन्त्रीका रूपमा पाँचौं पटक नेपाल भ्रमणका आएका उनले समान धार्मिक परिवेशमा आधारित दुबै मुलुकको राजनीतिसँगै धार्मिक कूटनीतिलाई पनि विस्तार गर्न खोजेको स्पष्ट हुन्छ । लुम्बिनीमा सम्बोधनका क्रममा पनि मोदीले धार्मिक विषयलाई नै बढी जोड दिएका थिए ।

जनकपुरको भ्रमणका क्रममा आफूले ‘नेपाल बिना राम अधुरो रहेको’ बताएको स्मरण गर्दै उनले भारतमा राम मन्दिर बनिरहँदा नेपालीहरू पनि खुसी भएकोले सबै नेपालीमा उत्साह वढेको वताए। बुद्ध सर्किट र लुम्बिनीको बारेमा गरेका कुरा र दुई मुलुकबीच भएको लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध  सैद्धान्तिक सहमतिले बुद्ध धर्मावलम्बी सहित सबै हिन्दु बिच खुसीको सञ्चार भएको छ।

भारतीय प्रधानमन्त्री मोदीको पछिल्लो आध्यात्मिक भ्रमणले राजनीतिक र आध्यामिक आयाम दुबै देशबिचको सम्बन्धलाई झनै प्रगाढ बनाएको छ । यो भ्रमणले नेपाल–भारत सम्बन्ध राजनीतिमा आधारित भन्दा पनि आध्यात्मकताले जोडेको छ भन्ने  सजिलैसंग बुझन सकिन्छ । आध्यात्मकतालाई केन्द्रबिन्दुमा राखेर गरिएको यो भ्रमणको आध्यात्मीक सन्देशले राजनीतिलाई समेत धेरै सदसम्म रिपेयर गरेको छ । अर्कोतर्फ प्रधानमन्त्री मोदीले  लुम्बिनीको भ्रमण गर्नुभयो र एउटा सन्देश दिनुभयो कि भारत र नेपाल एक संस्कृति एवम विरासत साझा गर्ने मुलुक हुन ।

गौतम बुद्धको जन्म स्थानबारे धेरै वर्षदेखि देखिएको जुन बिवाद थियो त्यसलाई पनि मोदीले  लुम्बिनीमा पुगेर चिरेका छन् । उनले त्यहिँ इन्डिया इंटरनेश्नल सेंटर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेजको स्थापना गर्नु भएको छ । जसले गर्दा यो बिवाद पनि समाप्त भएको छ। साथै उत्तरप्रदेश र बिहारलाइ मिलाएर बुद्ध सर्किट बनाउनुका साथै बौद्धगया, सारनाथलाई मिलाएर लुम्बिनीसंगै संस्कृति साझा गर्ने पहल सुरु भएको छ । नेपाल भारत बौद्ध धर्मका साथ साथै हिन्दू धर्मको रुपमा पनि जोडिएको छ। नेपाल प्रति मोदी कालमा भारतको सफ्ट पावर र पहिलो छिमेकीको नीतिले पनि धेरै अत्मीयता बढाएको छ । लुम्बिनीमा भएको द्विपक्षीय भेटवार्तामा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउदै जन–जन आवागमनलाई थप सहज बनाउने र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेमा पनि जोड दिइएको छ । सौहाद्र्रपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ भएको कुराकानीमा हाम्रो धार्मिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धलाई गाढा बनाएको छ ।

कतिपयले मोदीको यो भ्रमणले नेपाल–भारत सम्बन्धमा शान्ति र मोक्षको ज्ञान खोजीमा साझा प्रयासलाई प्रेरित गरेको पनि विश्लेषण गरेका छन् । ‘लुम्बिनी, बोधगया, कुशीनगर र सारनाथलाई यो भ्रमणले अझ सशक्त रूपमा जोडेको छ । धेरै बुद्धिस्ट पर्यटक भारतमा गएर ३ स्थानमा दर्शन गर्ने तर कमजोर कनेक्टिभिटीका कारण लुम्बिनी नजाने यथार्थलाई अब सहयात्रीका रूपमा हामीले यो सर्किटलाई प्रवद्र्धन गर्नुपर्छ । भ्रमणमा मोदीको अभिव्यक्तिले नेपालको महत्व र विशिष्ठ पहिचान नै धर्म र संस्कृतिमा आधारित भएको समेत उजागर गरेको छ ।

यति मात्र होइन अहिले संस्कृति र पर्यटन कूटनीतिको अभिन्न अंग भइसकेको छ । धेरै मुलुकले त्यसैलाई आधार बनाएर काम गरिरहेका हुन्छन । साउदी अरबले मक्का र मदिनामा धार्मिक पर्यटक ल्याएर पैसा कमाइरहेको छ । रोमले त्यस्तै गरेको छ । हामीले पनि केहि किन नगर्ने ? यो प्रश्नको उचित जवाफ पनि मोदीको यो भ्रमणले दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालको सम्बन्ध हिमाल जस्तै अटल र पुरानो रहेको धारणा व्यक्त गर्नुले पनि धेरै कुरालाई निश्चयनै सम्बोधन गरेको छ । मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउँछ भन्ने कुराले पनि नेपाल प्रतिको मायालाई प्रमाणित गरेको छ । मोदीले लुम्बिनी म्युजियम, लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, डा अम्बेडकर चेयर फोर बुद्धिस्ट स्टडिजको स्थापना दुवै देशको साझा सहयोगको उदाहरण भएको बताए । उनले बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आउने सौभाग्य मिलेको भन्दै मायादेवी मन्दिरमा दर्शन गर्ने अवसर अविष्मरणीय रहेको कुराले दुबै देशवासीलाई गदगद बनाएको छ।

काठमाडौं, त्रिभुवन विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच शैक्षिक क्षेत्रसँग सम्बन्धित चार समझदारी र एउटा सम्झौताले पनि दुबै देशको कुटनितिलाई अझ दरिलो बनाएको छ ।

विश्वको सामाजिक, राजनीतिक, वैचारिक बहाव कस्तो छ ? छिमेकी राष्ट्र र मित्र राष्ट्रसँग सम्बन्ध सुमधुर बनाउन कस्तो विदेश नीति चाहिएला भन्ने कुरा नेपालले मोदीको भ्रमणमा सिक्नु पर्छ।