समाचार यौन-शिक्षा अपराध सुरक्षा

विद्यार्थीलाई यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्ब्यवहार गरेको आरोपमा चाबहिलको सेन्ट लरेन्स कलेजका एकजना शिक्षक पक्राउ परेका छन् ।

प्रहरी वृत्त, गौशालाले कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो ।

सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले त्यही नियन्त्रणमा लिएको हो । अधिकारीले आफुले भने अनुसार गरे सहयोग गर्ने भन्दै विद्यार्थीमाथि गलत नजर राखेको विद्यार्थीले आरोप लगाएका छन् । प्रहरीले भने यस विषयमा बोलेको छैन। जाहेरी नआएकाले जाहेरी आएपछि थप विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरी भन्छन्, ‘जाहेरी आइसकेको छैन, जाहेरी आइसकेपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्छौं ।’ अधिकारीले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने’ भनेर छात्रामाथि गलत मनसाय राखेको विद्यार्थीहरुको आरोप छ ।