समाचार

चुनावको मुखमा ओलीको विवादित अभिब्यक्तिः पहिलो शहिद लखन होईन, बाँकाविर

चुनावको मुखमा ओलीको विवादित अभिब्यक्तिः पहिलो शहिद लखन होईन, बाँकाविर

स्थानीय तह निर्वाचनको मुखैमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम शहीद लखन थापाबारे दिएको अभिव्यक्ति विवादमा परेको छ। नेपाल मगर संघ रुपन्देहीले ओलीले नेपालको प्रथम शहीदबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट आन्दोलन घोषणा गर्ने संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले बताएका छन् ।

ओलीले गत चैत १८ गते एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा आयोजित केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तरित भेलालाई सम्बोधन गर्दै ‘नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाँकाबीर हुन्’ भन्दै अभिव्यक्ति दिएका थिए । 

अध्यक्ष ओलीका अनुसार पहिलो शहीदको विषयको बुझाइमा सबैमा दोधारपन छ । राणा शासनविरुद्ध लडेर पहिलो शहीद भएका लखन थापा नभई बाँकाविर हुन् । उनीपछि पहिलो शहीद भनिएका लखन थापा र योगमायाहरुले विद्रोह गरेको अध्यक्ष ओलीको भनाइ थियो ।

‘बैतडी, बझाङ कतातिर हुन् बाकावीरले पहिलोपल्ट राणा शासनविरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठित गरेका थिए र उनलाई पछि राणा शासनले गिरफ्तार गरेर हत्या गरेको थियो’ ओलीले भनेका थिए–‘उनी पहिलो शहीद हुन् । पहिलो शहीदको सम्बन्धमा कन्फ्युजन पनि छ । चर्चा नभएर पनि हो । बाँकावीर नेपालको राजनीतिक जाँगरणको र स्वतन्त्र अधिकार प्राप्तिको पहिलो शहीद हुन् । त्यसपछि अनेक आन्दोलन हुँदै गए । पछि लखन थापा व्रिदोहलाई लिन सक्छौँ, योगमायाको विद्रोह र अरु विद्रोहलाई लिन सक्छौँ ।’

ओलीले नेपालको पहिलो शहीद बाँकावीर भने पनि लोक सेवाको पाठ्यक्रम र अहिलेसम्म नेपालको पहिलो शहीद भनेर लखन थापालाई चिनिन्छ । विकिपिडियाका अनुसार पनि लखन थापा मगर नेपालका पहिलो शहीद हुन् ।

कसरी मारिए लखन थापा ?
जंगबहादुर राणाको तानाशाही शासनविरुद्ध जनसमर्थनसहितको संगठित सैन्य विद्रोहको नेतृत्व गरेका लखन थापा नेपालको पहिलो शहिद हुन। 

गोरखाको बुङ्कोट (हाल लखन थापा गाउँपालिका–७) का लखन थापा मगर र उनका साथीहरुले ‘जंगबहादुर राणाको जनविरोधी शासन अन्त्य गरी नेपालमा सुनौलो युग प्रारम्भ गर्ने’ संकल्प गरेका थिए। १९३३ सालमा नेपाली जनताको स्वतन्त्रता र मुक्तिका लागि १५०० जनाको सशस्त्र फौज खडा बनाएर उनीहरूले राज्यसत्तालाई चुनौती दिए। सरकारी सेनाले त्यसको दमन गरी अन्ततः मुख्य आरोपी लखन थापा र उनका ६ जना सहयोद्धाहरूलाई बुङ्कोटमै झुन्ड्याएर मारे ।

लखन थापा पुरानो गोरख गणका सैनिक थिए। लखनऊ लगायतका भारतीय शहरहरूमा सन् १८५७ को विद्रोह दमन गर्न नेपालबाट खटिएको पुरानो गोरख गणमा लखन थापा र जयसिंह चुमी पनि सामेल थिए। थापा १९११ सालमा पुरानो गोरख गणमा भर्ति भई कप्तान दर्जामा पुग्न सफल भएको कतिपय लेखहरुमा उल्लेख छ। 

जंगवहादुरविरुद्धको विद्रोहमा लखन थापा सँगै उनका समर्थक जहरे (जयसिंह) चुमी, विराज थापा मगर, जुठ्या थापा मगर, जीतमान गुरुङ र अजपसिंह थापा मगर देखा परेका छन्। उनीहरूलाई नै मुख्य दोषी ठह-याई बुङ्कोटमा झुन्ड्याएर मारिएको अनुमान गरिन्छ।

त्यसबेला पक्राउ पर्ने करीब ५० जना रहेको, १२ जनालाई काठमाडौं चलान गरिएको, काठमाडौंबाट ५ जना छुटेको कतिपय लेखकहरूले उल्लेख गरेका छन्। लखन थापा र उनका ६ जना कट्टर समर्थकलाई पद्मजंग राणाले मृत्युदण्ड दिएको उनीहरुले स्पष्ट पारेका छन्। 

किन सुरु भयो जंगबहादुर विरुद्ध विद्रोह
जंगबहादुरले वि.सं.१९१० को मुलुकी ऐनमार्फत् नेपाली समाजमा जातिपाति, छुवाछूतजस्ता कुरीति र अन्धविश्वास जस्ता गैरसामाजिक प्रचलन सुरु गराएपछि लखनले सशक्त विरोध गरे। शासक वर्गका विषयमा सामान्य आलोचना गर्दा पनि मृत्यु दण्ड दिने त्यो समयमा लखनले देखाएको साहस सामान्य थिएन। ईश्वरप्रति पूर्ण आस्था राख्ने समाजलाई जागरुक बनाउन मनकामनाको निर्देशन अनुसार विद्रोह गरेको भन्ने लखनको उद्घोष नै आन्दोलनको निम्ति ऊर्जा थियो र मान्छे बटुल्ने प्रभावकारी माध्यम बन्यो। बुङ्कोट विद्रोह नेपालको राजनीतिक इतिहासमा जनअधिकारको लागि उठेको प्रथम विद्रोह थियो।

केपी शर्मा ओली लखन थापा