समाचार राजनीति

प्रचण्डको छुद्र बोलीले माओवादीले यसरी गुमाउँदैछ भरतपुर

प्रचण्डको छुद्र बोलीले माओवादीले यसरी गुमाउँदैछ भरतपुर

वैशाख २० गतेको स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका सत्तारुढ दलका नेताहरु यतिवेला तनावमा छन्। महानगरपालिकाको विषयमा तालमेलको निर्णय केन्द्रबाटै लिने र अन्य स्थानीय तहको हकमा तल्ला तहलाई नै निर्णय गर्न दिने सहमति गरेपनि महानगरको मुख्य पद कस्ले लिने भन्नेमा दलहरुविच सहमति जुटन सकेको छैन।

दलहरुबीच ६ वटा महानगरहरुको प्रमुख पद कसले पाउने भन्नेमा मतभेद छ। खासगरी भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच हानाथाप छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका बीच जुन महानगरमा जस्को मेयर छ सोही पार्टीलाई प्रमुख पद दिने आन्तरिक सहमति वनेपनि भरतपुरको हकमा त्यो सहमति कार्यान्वयनमा समस्या देखिएको छ।

दुई नेताबीचको सहमति हेर्ने हो भने माओवादी केन्द्रकै मेयर भएका कारण भरतपुरमा माओवादी केन्द्रको दाबी स्वभाविक छ। कांग्रेस सभापति देउवा पनि भरतपुर माओवादीलाई दिन लगभग तयार छन्। नेता शेखर कोईराला समुह यो सहमति मान्न तयार छैन। चितवन कोईराला पक्षका कांगेसीहरुको वाहुल्य भएको जिल्ला हो। 

चितवनबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्यदेखि स्थानीय नेता/कार्यकर्तासम्म अहिले तालमेलको विपक्षमा छन् । अघिल्लो निर्वाचनमा पनि कांग्रेसले माओवादीलाई सहयोग गरेर संसदिय निर्वाचनमा अध्यक्ष दाहाल र भरतपुरको मेयरमा उनकै छोरी रेणुलाई जिताएका कारण यस पटक कांग्रेसले दावी छोड्न नहुने उनीहरुको तर्क छ। हरेक निर्वाचनमा माओवादीलाई नै सहयोग गर्दै जाने हो भने चितवनमा कांग्रेस सिद्धिने भन्दै उनीहरुले चिन्ता ब्यक्त गरिरहेका छन् ।

उनीहरुको यो चिन्तालाई नेता कोईरालाले मुखरित गरेका छन्। उनले आईतवार एक कार्यक्रमलाई सम्वोनध गर्दै माओवादी अध्यक्ष दाहाल भरतपुरलाई मात्र ध्यानमा राखेर तालमेलको कुरा गरिरहेको र त्यो स्विकार्य नहुने वताई सकेका छन् । यतिमात्र होईन। कांग्रेसको चितवन जिल्ला समितिले भरतपुर महानगरपालिकामा आफ्नै पार्टीको मेयर खडा गर्ने निर्णय लिएको छ।

आइतबार बसेको बैठकले भरतपुरमा मेयर पदमा उम्मेदवारी दिन नपाए बरु एक्लै भए पनि प्रतिस्पर्धामा जाने निर्णय गरेको हो। यसरी हेर्दा यस पटक भरतपुरमा पुनः रेणुलाई मेयर वनाउने सपना अध्यक्ष दाहालका लागि ‘फलामको च्युरा चपाउनु’ सरह भएको छ।

प्रचण्ड र रेणुसँग यी ३ कारणले विच्कियो चितवन कांग्रेस
माओवादी अध्यक्ष दाहाल, छोरी रेणु र उनीहरुको पार्टी माओवादीसँग मुख्य ३ कारणले चितवनका कांग्रेसीहरु विच्किएका छन्। पहिलो– कांग्रेसका मतदातालाई प्रचण्डको धम्की, दोस्रो– कार्यपालिका र जिल्ला समन्वय समितिमा दिएको धोका र तेस्रो– एमालेबाट जितेकाहरुसँग मिलेर कांग्रेसलाई पेल्ने रेणुको असहिष्णु ब्यवहार।

स्थानीय तह निर्वाचन घोषणा भएपछि माओवादी अध्यक्ष दाहालले चितवनको ओहोर–दोहोर बढाएका छन्। यस क्रममा उनले रेणुलाई फेरी भरतपुरको मेयरमा खडा गर्ने र कांग्रेससँगै तालमेल गरेर मेयरमा जिताउने दाबी गर्दै आएका छन् ।

तर, उनको यो कुरालाई चितवन कांग्रसका नेता/कार्यकर्ताले स्विकारेनन। त्यसपछि गत चैत १० गते चितवन पुगेका दाहालले कांग्रेसकै गढमा उभिएर कांग्रेसी मतदातालाई नै बिझाउने गरी अभिव्यक्ति दिए। उनले भने ‘जिल्लाका कांग्रेसीले भनेर केही हुँदैन । हाम्रो हित सुनिश्चित हुने गरी कांग्रेसँग गठबन्धनको निर्णय केन्द्रबाटै हुन्छ ।’

यही अभिब्यक्ति दाहालका लागि अहिले ‘घाँटिमा अड्किएको हड्डी’ सरह भएको छ। कांग्रेसका नेता कार्यकर्ताहरु ‘हाम्रो सहयोग पनि खोज्ने, अनि हामीलाई नै धम्क्याउने ?’ भन्दै  माओवादीका विरुद्धमा उभिएका छन् ।

यसैगरी, कार्यपालिका र जिल्ला समन्वय समितिमा माओवादीले गरेको असहयोग पनि कांग्रेस चिढिनुको अर्को कारण देखिएको छ। भरतपुर महानगरको ३९ सदस्यीय कार्यपालिका गठनका निम्ति आवश्यक ८ पदमा निर्वाचन भएको थियो। जसमा कांग्रेसले ५ र माओवादीले ३ पद लिने सहमति थियो । ५ महिला पदमा कांग्रेसले ४ र माओवादीले १ तथा दलित तथा अल्पसंख्यकतर्फ कांग्रेसले १ र माओवादीले २ पद लिने सहमति भयो।

कुल १४७ मतदाता रहेको भरतपुरको नगर कार्यपालिकाको निर्वाचनमा सबैभन्दा बढी एमालेको ७०, कांग्रेसको ६९ र माओवादीको जम्मा ८ मत छ । २९ वडामा एमालेले १४, कांग्रेसले १२ र माओवादीले ३ वडा अध्यक्ष पद जितेका थिए । उक्त निर्वाचनमा माओवादीले असहयोग गर्दा कांग्रेसका दुई जना विजयी भए भने एमालेका ६ जना निर्वाचित भएको चितवन कांग्रेसका युवा नेता तथा भरतपुर महानगर मेयरका दाबेदार नीलकण्ठ रिजाल वताउँछन्।

यसैगरी, जिल्ला समन्वय समितिको निर्वाचनमा पनि माओवादीले धोका दिएको उनको भनाई छ। जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचित भएका थिए । 

कांग्रेसको मतले जितेकी रेणु कांग्रेसी प्रति नै असहिष्णु भएको पनि कांग्रेसका स्थानीय नेता÷कार्यकर्ताको गुनासो छ। यो कारणले पनि चितवनका कांग्रेसीहरु प्रचण्ड र रेणुलाई फुटेको आँखाले हेर्न चाहाँदैनन । माओवादी भन्ने वित्तिकै उनीहरु चितवनमा कांग्रेस सिद्याउन प्रयोग भएको पार्टीका रुपमा वुझ्छन्।

मेयर दाहालले कांग्रेसीहरूको मतको कदर समेत नगरेको उनीहरुको आरोप छ । एमाले र माओवादी मिलेर नेकपा वनेपछि रेणुले एमालेबाट जितेकाहरुसँग मिलेर कांग्रेसलाई पेलेको उनीहरुको गुनासो छ। कांग्रेसले चितवनमा १३ वडा जितेको पनि कांग्रेसका वडाध्यक्षका एजेण्डामा दाहालले सहयोग नगरेको नेता/कार्यकर्ता वताउँछन् । मेयर दाहाल भने कांग्रेसलाई धोका दिएको र आफूमाथि लागेको असहिष्णुताको आरोप अस्वीकार गर्छिन् ।
 

भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्र शेरबहादुर देउवा