समाचार राजनीति

प्रधानमन्त्री देउवाको भारत भ्रमण यसरी भयो सफल

प्रधानमन्त्री देउवाको भारत भ्रमण यसरी भयो सफल

प्रधानमन्त्री शेरबहादुर देउवको भारत भ्रमण अपेक्षाकृत सफल भएको विश्लेषण गरिएको छ। भ्रमणका एजेण्डा समेत सार्वजनिक नगरी ५५ जनाको जम्बो टोली लिएर तीन दिने भ्रमणमा निस्केका देउवाले ‘कतै फेरि पनि महाकाली सन्धी जस्तो कुनै विवादास्पद र असमान सन्धी सम्झौता गरिदिएर आउने हुन की ?’ भन्ने आशंका गरिएपनि देउवाले देशहितका ४ वटा सम्झौता गरेको भन्दै उनको भ्रमण सफल भएको विश्लेषण गरिएको छ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा विभिन्न चार वटा सम्झौता भएका छन्। शनिबार प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता पछि भएको प्रतिनिधिमण्डलस्तरीय छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो।

दुई देशबीच भएका चारवटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान रहेका छन्।

यसैगरी बार्तापछि जारी गरिएको ‘नेपाल–भारत उर्जा क्षेत्र सहकार्य संयुक्त दृष्टिकोण’ मा नेपाल र भारतबीच सार्क उपक्षेत्रीय मोडलमा उर्जा क्षेत्रको सहकार्य विस्तार गर्ने सहमति भएको छ । वार्तामा बिबिआइएन (भुटान, बंगलादेश, भारत र नेपाल) ढाँचामा सहकार्य विस्तार गर्ने जनाईएको छ।

बिबिआइएन मोडलमा यसअघि मोटर भेइकल एग्रिमेन्ट भएको थियो । नेपाल, बंगलादेश र भारतले सो सम्झौतालाई अनुमोदन गरे पनि भुटानले वातावरणसहितको विषय उठाउँदै त्यसबाट पछि हटेको छ । जसलाई तीन देशले मात्रै अघि बढाउन खोजेका छन् ।

नेपाल, बंगलादेश र भारतबीच त्रिदेशीय विद्युत् प्रसारण लाइन निर्माणसहितको विषयमा वार्ताहरु भए पनि त्यसले अन्तिम रुप लिएको छैन । नेपाल र बंगलादेशबीच हुने बैठकहरुमा दुवै देशले भारतसँग छुट्टाछुट्टै वार्ता गर्ने सहमति गरेका छन् । तर यस विषयमा त्रिदेशीय वार्ता भने हुन सकेको छैन । 

बंगलादेशले नेपाल र भुटानबाट बिजुली किन्न चाहे पनि भारत हुँदै प्रसारण लाइन निर्माण गर्नु पर्ने भएकाले संभव हुन सकेको छैन । भारतसँग नेपाल र भुटान दुवै देशको विद्युत् उत्पादनमा सहकार्य हुँदै आएको छ । भुटानमा सबै परियोजना भारतीय अनुदान र ऋणमा निर्माण भएका हुन् ।

दुवै देशका प्रधानमन्त्रीहरुबीच भएको सहमतिमा विद्युत् उत्पादन गर्न संयुक्त परियोजना नेपालमा निर्माण गर्ने, सीमा पार प्रसारण लाइन पूर्वाधार निर्माण गर्ने, पारस्परिक लाभ, बजारको माग र दुवै देशको घरेलु नियमहरु आधारमा दुवै देशको बजारमा उचित पहुँच हुनेगरी बिजुली व्यापार गर्ने, राष्ट्रिय प्रसारणलाई सहकार्यमा सञ्चालन गर्ने र नयाँ प्रविधि, कार्य सञ्चालन तथा जानकारी संस्थागतरुपमा साझा गर्ने रहेका छन् ।
 

यस्तो छ ‘नेपाल–भारत उर्जा क्षेत्र सहकार्य संयुक्त दृष्टिकोण’

यो पनि,

शेरबहादुर देउवा भारत भ्रमण