समाचार मनोरञ्जन

प्रकाश सपुतको पक्षमा सुबोध प्याकुरेलका ७ वँदा, जनयुद्धको औचित्यमाथि प्रश्न

प्रकाश सपुतको पक्षमा सुबोध प्याकुरेलका ७ वँदा, जनयुद्धको औचित्यमाथि प्रश्न

माओवादी लडाकुमा देखिएको चरम निराशा तथा जनयुद्धले ब्यवस्था परिवर्तन गरेपनि अवस्थामा परिवर्तन नगरेको सन्देश दिने गरी गायक प्रकाश सपुतले ल्याएको ‘पीर’ गरी अहिले चर्चाको शिखरमा छ। गीत संगितको घेरा तोडेर यसले राजनीतिक वृत्तमा पनि तरंग उत्पन्न गरेको छ।

विशेषगरी नेकपा माओवादी केन्द्रका नेता÷कार्यकर्ता सपुतको गीतका कारण अत्तालिएका छन् भने पुर्व लडाकुसहित अन्य अधिकांशले गीतको प्रशंशा गरेका छन्। पीरले वास्तविक्ता वोकेको अधिकांशको प्रतिक्रिया छ।

यसैक्रममा मानवअधिकारकर्मी एवम् प्रदेश १ को योजना आयोगका पुर्व उपाध्यक्ष सुबोधराज प्याकुरलले पनि यो गितका विषयमा प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको टिप्पणीमा माओवादी जनयुद्ध नै आवश्यक नदेखिएको र त्यसको पुष्टि अहिले स्वयम माओवादीका कृयाकलापले गरीरहेको दावी गरेका छन् ।

संविधानमा भएको कागजको दुधभातको बखान गर्दै कलाकारको बिरुद्ध धम्की दिने काम माओवादीले वन्द गर्नु पर्ने उनको सुझाव छ। उनले माओवादीलाई कपटी भगौडाको उपमा दिदै भनेका छन्–‘अहिलेको संविधानले तथाकथित जनयुद्धको सबै एजेन्डा न बोकेको छ, न यो संविधानको निर्माणमा उसको नेतृत्वदायी भूमिका नै छ। उसले त संविधानसभा भङ्ग गरेर भाग्यो। संवैधानिक इतिहासमा उ भगौडा हो। कपटी भगौडा।’

प्याकुरेलले ‘पीर म्युजिक भिडियोका तमाम कलाकर्मीको पक्षमा’ भन्दै ७ वटा वुँदामा आफनो टिप्पणी लेखेका छन् ।

१. १० वर्ष तथाकथित जनयुद्ध, त्यो पनि जनताले आफ्नो सरकार आफै बनाउने, सम्पूर्ण मौलिक अधिकारको संवैधानिक प्रत्याभूति पाइसकेपछि।

२. १५ वर्ष शत्तामा, कहिले आफ्नै कहिले अर्काको नेतृत्वमा। खुला समाजको लोकतन्त्रमा, सजिलो बेलामा हिजोका जनयोद्धालाई बिर्सिएर माओवादीको अहिलेको राजनीतिक यात्रा जसको परिणती काँग्रेसको नेतृत्वमा तथाकथित अग्रगमनको सरकारी यात्रा। (जनयात्रा होइन)।

३. अहिले पनि उही संवैधानिक प्रवन्धको मात्रै रटान। त्यस्ता प्रवन्ध ०४७ को संविधानमा पनि थियोे।

४. जनयोद्धाले आम नागरिकसँगै आफ्नो जीवनलाई मर्यादित, सुरक्षित र स्वतन्त्र बनाउन लडेका हुन। मरेका हुन। चिराचिरा हुन तयार भएका हुन। नेताको व्यवहारले सावित गरेजस्तो नितान्त आफ्नो लागि मात्र होइन।

५. १६ मिनेटको गीतमा ५ सेकेन्डको दृष्यले आतंकित हुनुपर्ने अवस्थामा माओवादी किन आइपुग्यो? किनभने उसलाई शत्ताको तरमात्र चाट्नु थियोे। अरु शत्ताधारीको रवाफसँग इर्स्याग्रस्त थियो। होइन भने उसँग आफ्ना कार्यकर्ताको अभिलेख किन छैन? नक्कलीलाई लडाकुको नाममा दर्ज किन गर्नु पर्थ्यो ? पीडितलाई न्याय दिने कुरामा किन अन्यमनस्क जबकि दुई तिहाइ  घटनामा पीडक पक्ष राज्य नै छ?

६. यथार्थ के हो भने माओवादी संगठनको गठन जनतालाई पीडा र अत्याचारको उपचारको बौद्धिक सैद्धान्तिक होइन व्यक्तिपरक आक्रोशमा उरालेर आफू शत्तामा पुग्ने कुत्सित मनसायका साथ गरिएको थियोे। जसले असल मनका सिधा सोझा नेपालीलाई अलमल्यायो।

७. अझैपनि संविधानमा भएको कागजको दुधभातको बखान गर्दै कलाकारको बिरुद्ध धम्की दिने कामबाट माओवादी नेतृत्वले परहेज गरोस। यसकारण पनि कि अहिलेको संविधानले तथाकथित जनयुद्धको सबै एजेन्डा न बोकेको छ, न यो संविधानको निर्माणमा उसको नेतृत्वदायी भूमिका नै छ। उसले त संविधानसभा भङ्ग गरेर भाग्यो। संवैधानिक इतिहासमा उ भगौडा हो। कपटी भगौडा।

यो पनि

पीर प्रकाश सपुत