फोटो

'तस्कर'ले सोझा मजदुर लाई गरे यस्तो चरम श्रम शोसण!

'तस्कर'ले सोझा मजदुर लाई गरे यस्तो चरम श्रम शोसण!

तातोपानी नाकामा सिल्क ट्रान्सपोर्टले दादागिरी सुरु गरेको छ। सिल्कले सामान ओसार–पसार र लोड–अनलोड गर्ने मजदुरको पारिश्रमिकमा पनि वैमानी गर्ने गरेको छ।

तातोपानी नाकामा सिल्कको एक छत्र राज छ। यो नाका भएर उसका कन्टेनरले मात्रै सामान आयात गरिरहेका छन् । दैनिक ५ देखि ८ वटा सिल्लका कन्टेनर नेपाली ब्यापारीका सामान लिन चीन जाने गरेको छन्। सिल्कले ल्याएको समान तातोपानी नाकामा अनलोड हुने गरेको छ। 

मजदुरहरुले दुःख गरेर सिल्कको कन्टेनर लोड अनलोड गर्छन। तर, तिनै मजदुरलाई सिल्क ट्रान्सपोर्टले कामको समयमा गालिगलौज गर्ने, वजार रेट अनुसार पारिश्रमिक नदिने तथा दिनै पर्ने पारिश्रमिक पनि २÷३ महिनासम्म झुलाउने गरेको गुनासो ब्याप्त छ। यति मात्रै होईन, ‘अहिले खाए भरे के खाउँ’ भन्ने आर्थिक अवस्थाका मजदुरलाई सिल्कले खातामा पैसा नै नभएको चेक दिएर दुःख दिने गरेको छ।

सिल्कका कर्मचारीको यस्तो दादागिरीका कारण मजदुरहरु पीडित छन् । कोरोना संक्रमणका कारण मजदुरलाई काम पाउन मुस्किल छ। दिनभर नाकामा वस्दा पनि उनीहरु कयौं दिन काम विहिन भएर घर फर्किन्छन्। काम पाई हाले पनि पाउने मजदुरीले घर खर्च चलाउन धौ धौ छ। त्यसमाथि पनि २÷३ महिनासम्म ज्याला नपाउने र चेकको वहानामा झुलाउने गर्न थालेपछि उनीहरु हैरान भएका छन् ।

मजदुरहरुले कामको ज्याला तत्कालै पाउनु पर्ने परम्परा विपरित सिल्क ट्रान्सपोर्टले दादागिरी देखाउँदा घरबाट नाकासम्म पुग्न लाग्ने गाडिभाडा, खाजा÷खानाको खर्च समेत नहुँदा समस्या हुने गरेको उनिहरु बताउँछन् ।

चीनको अघोषित नाकाबन्दीपछि नाकामा मजदुरले काम नपाउने स्थिती छ। मजदुरको ज्याला पनि घटेको छ । यस्तो समयमा सिल्क ट्रान्सपोर्टको व्यबहार निन्दनीय रहेको जनप्रतिनिधिहरु नै वताउँछन् ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले पनि नाकावन्दीको असर मजदुरमा नाराम्ररी परेको स्विकारे। नाकावन्दीपुर्व एक जना श्रमिकले महिनामा २०÷२५ हजार कमाउने गरेको तर न्युन संख्यामा गाडि चल्न थालेपनि निश्चय नै घटेर जाने उनले वताए । उनीहरुको कमाई अहिले १०÷१२ हजारमा सिमित भएको सुनेको उनले वताए । यस विषयमा आफुले पनि माथिल्ला निकायमा सुचना गरिरहेको तथा उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंस्थाले नेपाल सरकारलाई पहल गरिरहेका छन् ।