समाचार

एमसीसी प्रकरणमा एक्लियो कांग्रेस, प्रचण्डले धर्म छोडेपछि देउवा संकटमा

एमसीसी प्रकरणमा एक्लियो कांग्रेस, प्रचण्डले धर्म छोडेपछि देउवा संकटमा

सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी प्रकरणमा धर्म छोडेपछि नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवा संकटमा परेका छन् । एमसीसी संसदबाट अनुमोदन गराउने आश्वासनसहित अमेरिकासँग समय माग गरेका देउवा र दाहाल मध्ये दाहालले लत्तो छोडेका छन् ।

दाहालले साथ छोडेसँगै अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता संसदबाट अनुमोदन गराउने सम्बन्धमा नेपाली कांग्रेस एक्लिएको छ । गठबन्धनमा रहेका अन्य चार दलले एमसीसी अनुमोदन गराउने विषयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई साथ नदिने भएका छन् । 

गठबन्धन दलले नै साथ नदिएछि एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा कांग्रेस एक्लीएको हो । काग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदनको लागि संसदमा टेवल गर्न प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अनुमति दिएको थियो । 

उक्त निर्णयसँगै सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरेको थियो । तर, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाले यथास्थितीमा एमसीसी पास गर्न नदिने जनाउँदै विरोधमा उत्रेपछि देउवा पछि हटेका छन् । 

बुधवार माओवादी केन्द्रको संसदिय दलको वैठकले संशोधन विना एमसीसी टेवुल भए सरकार छोड्ने निर्णय गर्यो। यही निर्णय सुनाउन अध्यक्ष दाहाल वालुवाटार पुगे। देउवा–दाहाल भेटमा भएको छलफलपछि देउवा वुधवारको बैठकमा एमसीसी टेवुल नगर्ने पक्षमा पुगेको जनार्यएको छ।

सत्तारुढ दलमध्ये माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीका केही बुँदा राष्ट्रघाती भएको जनाउँदै संशोधन नगरी पास नगर्ने पक्षमा छन् । जसपा भित्र एमसीसीलाई लिएर एकमत छैन । जसपा भित्र अध्यक्ष उपेन्द्र यादव पक्ष एमसीसीको विरोधमा छ भने बाबुराम भट्टराई पक्ष अहिलेकै अवस्थामा ढिला नगरी अनुमोदन गर्नुपर्छ भन्नेमा छन् । 

माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका भातृ संगठनले त पछिल्ला दिन दिनहुँ एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एमसीसीका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन । सरकारले पहिला एमसीसीका बारेमा औपचारिक धारणा सार्वजनिक गरेपछि मात्र एमालेले आफ्नो धारणा बाहिर ल्याउने जनाउँदै आएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमसीसीको विरोध गर्दै आएको छ । राप्रपाको प्रतिनिधि सभामा एक जना सांसद छन् । नेपाल मजदुर किसान पार्टी पनि एमसीसीको विपक्षमा रहेको छ । उनसका पनि एक जना मात्रै सांसद छन् ।

सरकारलाई समर्थन दिएको तर मन्त्रिपरिषद्मा सहभागी नबनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मात्र एउटा यस्तो दल हो जसले स्पष्ट रुपमा एमसीसी अनुमोदन गर्न सघाउने निर्णय गरेको छ । 
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ शेरवहादुर देउवा एमसीसी

विशेष