समाचार रोजगार

६ जना नेपाली साउदीमा कुटिए, म्यानपावर र दलालको वेवास्ता

६ जना नेपाली साउदीमा कुटिए, म्यानपावर र दलालको वेवास्ता

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ५७ जना नेपाली समस्यामा परेका छन् । तोकेको समयभन्दा बढी काम गर्नु पर्ने र भनेजती तलव समेत नदिने गरेकाले उनीहरु समस्यामा परेका हुन ।

बालकुमारी स्थित एमआर इन्टरनेशनल म्यानपावर कम्पनी मार्फत गत कात्तिक २१ गते साउदीका लागि हिडेका ३ सय नेपाली मध्ये ५७ जनाले अहिले समस्या भोग्नु परेको त्यहाँ रहेका एक नेपालीले वताए। उनीहरु मध्ये ११ जना नेपाली बाराको सुखिपत्रा निवासी तेजनारायण साह मार्फत साउदी पुगेका हुन।

उनीहरुलाई अल मजार अल अरेविया कम्पनीले जद्धा एयरपोर्टमा ट्रली ब्वाईको काम गर्न लगेको थियो । तर, अहिले उनीहरुलाई सामान लोड/अनलोडको काम लगाईएको छ। उनीहरुका अनुसार नेपालबाट जानु अघि दैनिक १० घण्टा र महिनाको २६ दिन काम गर्नु पर्ने वताईएको थियो। त्यस वापत उनीहरुले प्रतिब्यक्ति मासिक १ हजार २ सय रियाल पाउने वताईएको थियो । 

तर, त्यहाँ पुगेपछि महिनामा कुनै दिन पनि छुट्टी नहुने ११/१२ घण्टा काम गर्नु पर्ने र थप समय काम गरेको ओभरटाईम समेत नपाउँदा आफुहरु समस्यामा परेको पीडितले वताए । उनीहरुलाई अहिलेसम्म सेलरी पेपर समेत दिईएको छैन। नेपालमा हुँदा दिनको दुवै छाक खाना रोजगारदाताकातर्फबाट दिने भनिए पनि एक छाक मात्रै खाना दिने गरिएको पनि उनिहरुले गुनासो गरेका छन् ।

म्यानपावर र एजेण्टले भने अनुसारको काम, दाम र माम समेत नभएपछि आफुहरु समस्यामा परेको पीडित युवाहरुले वताएका छन् । त्यस विषयमा उनीहरुले रोजगारदाता कम्पनीसँग कुरा पनि राखे । सर्त अनुसारको तलव र सुविधा नपाए आफुहरु ‘लेवर कोर्ट’ जाने चेतावनी समेत दिए। तर, त्यसो भनेपछि उनीहरुमाथि थप समस्या उत्पन्न भएको छ। लेबर कोर्टको कुरा गरेपछि कम्पनीका मान्छेहरुले  ६ जना नेपालीलाई पालै पालो कोठा भित्र लगेर कुटेको र खाली कागजमा सही गराएर राखेको एक युवकले वताए । 

‘धेरै बाठो भए मारेर फाल्दिने धम्की दिएका छन् । आफनो समस्याका विषयमा वताउँदा ज्यानै मर्नेसम्मको धम्की आएपछि त्यस विषयमा हामीले कुरा गर्न पनि छोडेका छौं’ उनी भन्छन्–‘हामीलाई पठाउने एजेन्टलाई पनि कुरा गर्यौ, तर सुनुवाई भएको छैन। उस्ले सेलरी पेपर पठाउनु भन्छ, यता सेलरी पेपर माग्न जाँदा कुटाई खानु पर्छ।’

एजेण्ट र म्यानपावर कम्पनी मिलेर आफुहरुलाई ठगी गरेको उनीहरु वताउँछन् । ‘यहाँ वुझ्दाखेरी हामीलाई फ्रि भिसा, फ्रि टिकटमा साउदी पठाईएको रहेछ। तर, हामीसँग म्यान पावरले प्रति ब्यक्ति १ लाख ७० हजार रुपैयाँ लिएको छ’ पीडित युवा भन्छन्–‘मेडिकललगायतका सवै प्रक्रिया पुर्याउँदा हरेकको २ लाख जति खर्च भएको छ। त्यत्रो पैसा खर्च गरेर आएपछि तोकिए अनुसारको तलव नपाउँदा कसरी वस्ने ?’

एजेण्टलाई ‘आफुहरुलाई नेपाल फर्काउन वा सर्त अनुसार काम र तलवको ब्यवस्था गर्दिन’ आग्रह गर्दा समेत सुनुवाई नभएको उनीहरु वताउँछन् । तोकिए अनुसारको काम र सेवा सुविधा उपलब्ध नहुने र सधैं कुटाई खानु पर्ने भएकाले आफुहरुलाई नेपाल नै फर्काईदिन उनीहरुले माग गरेका छन् ।

एजेण्ट भनिएका बाराको सुखिपत्रा निवासी तेजनारायण साहले भने आफु एजेण्ट नै नभएको वताए । म्यानपावर कम्पनीमा आफनो चिनेको साथी भएकाले उसैमार्फत ११ जनालाई साउदी पठाएको उनको भनाई छ। उनीहरुसँग म्यान पावरले लिएको पैसाका वारेमा आफुलाई जानकारी नभएको र ११ जनालाई पठाए बापत आफुले प्रतिब्यक्ति ५ हजार रुपैयाँ कमिसन पाएको उनले वताए ।

साउदीमा उनिहरुलाई भनिएअनुसारको काम र तलव भने नपाएको विषयमा आफुलाई पनि जानकारी भएको उनले वताए । ‘१२ घण्टा काम लगाएको र उनिहरुलाई भनेभन्दा करिव डेढ सय रियाल कम तलव दिईएको विषयमा मलाई जानकारी छ। सोही विषयमा कुरा गर्न म अहिले पनि म्यानपावरमै छु। यो महिनापछि सवैले तोकिएकै तलव पाउने आश्वासन पनि पाएको छु।’ उनले भने–‘सेलरी पेपरका विषयमा धेरै किचकिच गरेपछि उनीहरुलाई कम्पनीले धम्क्याएको पनि हो। तर, अव सवै सुधार हुन्छ। भएन भने म आफै पनि दवाव दिन तयार छु।’

०१५००...६९ नम्वरमा सम्पर्क गर्दा फोन रिसिभ नभएका कारण बालकुमारी स्थित एमआर इन्टरनेशनल म्यानपावर कम्पनीको प्रतिक्रिया भने लिन सकिएको छैन।

साउदी अरब एमआर इन्टरनेशनल जद्धा एयरपोर्ट

विशेष