समाचार राजनीति

इलामका ८१ वडामध्ये एउटामा जितेका वडाध्यक्ष पनि एमाले प्रवेश

इलामका ८१ वडामध्ये एउटामा जितेका वडाध्यक्ष पनि एमाले प्रवेश

इलामको स्थानीय तहमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित एक मात्र जनप्रतिनिधि पनि एमाले प्रवेश गरेका छन् । उनी एमाले प्रवेश गरेसँग स्थानीय तहमा माओवादी केन्द्र रित्तिएको छ।

इलामको सन्दकपुर गाउँपालिका–१ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका राईलाई एमालेको सन्दकपुर गाउँ पार्टी कार्यालयमा भएको एक कार्यक्रमबीच केन्द्रीय सदस्य राम राना, एमाले इलामका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुङले पार्टीमा स्वागत गरेका छन् ।

सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेस क्लिन स्वीप हुँदा राई माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए। 

सन्दकपुर मात्र होईन, उनी इलामका दश वटा स्थानीय तह मध्ये माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष थिए। इलामका ८१ वडामध्ये एमालेले ४८, नेपाली काँग्रेसले ३० वडाध्यक्ष जितेका थिए ।

यस्तै माओवादी केन्द्र, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति मोर्चाले एक÷एक वडाध्यक्ष जितेका थिए। 
 

नेकपा माओवादी केन्द्र नन्दकुमार राई