समाचार इतिहास र अनुभूति

ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

नेपालका पुराना तथा चर्चित पत्रकार पदम ठकुराठीले राजपरिवारका सदस्यको गैरकानुनी तस्करी विरुद्ध समाचार लेखेका कारण आफुमाथि ज्ञानेन्द्र शाहले गोली चलाएर मार्न खोजेको खुलासा गरेका छन् ।

पत्रकार ठकुराठी माथि ०४३ सालमा गोली लाईएको थियो। गोली लागेर उनको दायाँ खाता गुमेको छ भने आँखा माथि टाउकोमा गहिरो चोट छ। उनले एउटा अन्तरवार्तामा तत्कालिन राजा विरेन्द्रको कृपा भएकै कारण आफु बाँच्न सकेको वताएका छन् । ज्ञानेन्द्रको मुर्ती तस्करी विरुद्ध समाचार लेखेकै कारण आफुलाई मार्न खोजिएको उनको दावी छ।

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका  छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

कानुनका छिद्र प्रयोग गरेर ज्ञानेन्द्र र धिरेन्द्रले गरेको गैरकानुनी कामको समाचार लेखेपछि उनीहरु आफुप्रति रुष्ट भएको उनको भनाई छ। ‘त्यती वेला नेपालको कानुनमा राजपरिवारका सदस्यहरु विदेश जाँदा÷आउँदा अन्तराष्ट्रिय विमानस्थलमा उनीहरुको ब्याग चेक गरिने छैन भन्ने कानुन थियो। त्यो कानुनको फईदा उठाएर ज्ञानेन्द्र र धिरेन्द्र यहाँबाट पुराना मुर्तीहरु र चरेश लिएर जान्थे विदेशमा। अव यहाँ त चेक हुने कुरा भएन, वाहिर पनि मुर्तिको कुनै अर्थै भएन।’

विदेशबाट आउँदा भने उनीहरुले सुन र हेराईन ल्याएर तस्करी गर्ने गरेको उनको अनुभव छ। ‘उताबाट आउँदा सुन र हेरोईन लिएर आउँथे। नेपालमा हेरोईन सुरुवात गराउने नै ज्ञानेन्द्र हो’ उनले भनेका छन्–‘अनि म त एउटा स्वतन्त्र पत्रकार, मेरो विषयमा उनीहरु विरोधी। म पनि लेख्ने भईहालेँ। त्यही कारणले मलाई गोली हान्न लगाएका हुन।’

उनीमाथि ०४३ साल भदौ २० गते गोली प्रहार गरिएको थियो । ‘भोलिपल्ट तीज थियो, अघिल्लो दिन दर खाएर आएर हामी सुतेका थियौं। त्यसै राती उनीहरुले गोली हान्न लगाए । भगवानको कृपाले म वोनसको जिन्दगी वाँचीराखेको छु। सुतिरहेको वेलामा उनीहरुले गोली प्रहार गरे। गोली प्रहार गर्दा खेरीमा भगवानकै कृपा भन्नु परो, मेरो खाटको वेरा अलि अग्लो थियो, यसरी हान्न पाएनन, यसरी हान्नु पर्यो (हातको इसारा– सिधा तेर्सो हान्न पाएनन्, ठाडो पारेर भुईतिर हान्नु पर्यो)। त्यसैले गोली टाउकोबाट निधार हुँदै आए छोएर गयो।’ उनले थपे–‘आँखाको मुनी देखाउँदै–यहाँनेरी खाल्टो नै छ। अनि आँखा वाहिर निस्कियो, अनि मलाई मेरो श्रीमतीले लिएर गईन, हस्पिटल। त्यहाँ डाक्टर गंगोल तैनाथ थिए। आँखा लत्रिरहेको थियो, अनि डाक्टर गंगोलले आँखा काटिदिए। आँखाबाट गोली निकालियो।’

आफु ६ दिन अस्पताल वसेपछि वल्ल उपचारको लागि भारत जाने अनुमति पाएको उनले स्मरण गरे। ‘छैठौं दिनमा मेरो छोरीको मित वाउ भनौं, डाक्टर प्रकाशलाल श्रेष्ठ भन्ने दाँतको डक्टर। उनी चाहीँ पहिलो दिन पनि र छैठौं दिनमा पनि हेर्न आएछन् । आएपछि मेरो श्रीमतीले भनिछन्– डाक्टरसाव म त राम्रो कण्डिसन देखेको छैन, तिमी त डाक्टर मान्छे हेरेर मलाई सल्लाह देउ न भनेपछि उ गएर हेर्यो’ उनले सविस्तार भने–‘हेरेपछि उसले के भनेछ भने–भाउजु म यो विषयको डाक्टर त होईन, म त दाँतको डाक्टर हुँ। तर, मेरो मेडिकल साईन्सको जुन नलेज छ, त्यसले के भन्छ भने छिटो भन्दा छिटो वहाँलाई विदेश लानु भएन भने तपाई आफनो लोग्ने पाउनुहुन्न भनेछ।’

त्यसपछि त उ रुन थालीन। अनि त्यो हुँदाहुँदै एकछिनपछि मेरो सासु आईपुगिछन्, त्यहाँ। अनि सासुलाई भनिछे यस्तो–यस्तो भन्यो डाक्टरले। श्रीमतीको जाहेरी अनुसार ज्यान मुद्दा भएको हुनाले यो त सरकारको मुद्दा भयो। सरकारको अनुमती नलिईकन म विदेश जान नपाउने। आफनो पैसा खर्च गरेर जान्छु भन्दा पनि जान पाईएन। त्यतिवेला राजा विरेन्द्र यहाँ थिएनन्। असंलग्न राष्ट्रको सम्मेलनमा सम्वोधनका लागि हरारे पुगेका थिए। 

मलाई गोली हानेको कुरा मुख्यसचिव कर्णध्वज अधिकारीले राजा विरेन्द्रलाई भनेछन् । उनले संसारका जुनसुकै अस्पतालमा लगेर भएपनि वचाउनु भनेछन्। उनको कृपा थियो ममाथि। मुख्यसचिव प्रधानमन्त्री मरिचमानलाई भेट्न पुगे। मरिचमानको विरोधमा हामी पत्रिकामा लेखिरहेका थियौं। मरिचमानले भनेछन– मैले दिल्लीबाट न्यूरो सर्जन वोलाई सकेको छु, इलाज यही भईहाल्छ वाहिर पठाउनु पर्देन भनेर रोके।

मेरो सासु आएपछि चै सुर्यवहादुर थापा आउनु भएछ। त्यसपछि सुर्य वहादुरले मुख्य सचिवलाई फोन गरेर ‘तपाई राजाको कुरा मान्ने की मरिचमानको कुरा मान्ने’ भनेर थर्काएछन् । त्यसपछि मुख्यसचिवकै पहलमा मलाई दिल्ली पठाईयो र उपचारपछि म ठिक भएर आँए।

सो घटनामा प्रहरीले काठमाडौं स्थायी घर भएका गौतम थापालाई प्रक्राउ गरेको थियो । थापा ८ वर्ष जेल वसेर निस्एिका थिए । 
 

ज्ञानेन्द्र शाह पदम ठकुराठी