समाचार कभर स्टोरी

कालो बंगुरले प्रख्यात धरानको बगरकोट, जहाँ लेकसाईट र ठमेलको झल्को पाईन्छ

कालो बंगुरले प्रख्यात धरानको बगरकोट, जहाँ लेकसाईट र ठमेलको झल्को पाईन्छ

प्रदेश १ को धरान शहर पछिल्लो समय कालो धराने बंगुरका लागि प्रख्यात बन्दै गएको छ । सुनसरीको धरान स्थित बगरकोट अहिले धराने कालो बंगुरका परिकारको लागि प्रख्यात बनेको छ । बगरकोटमा करिब दुई दर्जन होटेल र रेस्टुराहरुका मेनु अहिले धराने कालो बंगुरकै परिकारले भरिएकाछन् ।

साँझपख पोखराको लेकसाईड र काठमाडौको ठमेल कै झल्को दिने माहोल अहिले धरानको बगरकोटमा हुने गर्छ । रेस्टुरेण्टको बाहिर झिलिमिली बत्तिको चमक देखिन्छ । भित्र विभिन्न लयका गीत सुनिन्छन् । प्रेमील युवा युवतीहरुको उपस्थितिले बगरकोट प्रत्येक साँझ बंगुरको परिकारसँगै रोमाञ्चित बन्छ । युवा युवतीहरु लाईभ म्युजिक र रोधिको दोहोरीसँगै झुम्छन् । 


भोजपुरका एकराज राई बगरकोटमा पाँच वर्षदेखि होटेल याङटाररु सञ्चालन गर्दै आएकाछन् । धराने कालो बंगुरका परिकार बनाउँदै आएका राई सामान्य समयमा व्यवशाय राम्रै रहेको बताउँछन् । कोभिड महामारीले भने उनको व्यवशायलाई असर नगर्ने कुरै भएन । यद्यपी अहिले लकडाउन सामान्य अवस्थातर्फ फर्किदै गर्दा दैनिक १६ केजीसम्म धराने कालो बंगरको परिकार बनाएर खपत हुने गरको उनि बताउँछन् । राईले सञ्चालन गरेको याङटाररु होटेलमा धराने कालो बंगुरको सेकुवा धेरै ग्राहकको छनोटमा पर्ने गरेको उनको अनुभव छ । कान, जिब्रो आदिबाट बन्ने परिकार पनि ग्राहकको रोजाइमा पर्ने गरको उनि बताउँछन् । 


धरान बरगाँछीमा कल्पना आलेले आठ वर्षदेखि होटेल नमास्कार सञ्चालन गर्दै आएकीछिन् । कल्पनाको दिनचर्या पनि धराने कालो बंगुरको परिकार बनाएरै बित्ने गरेको छ ।  कोभिड १९ को असरले पछिल्लो समय व्यवशायमा धक्का पुगे पनि आउँदा दिनहरुमा व्यवशाय पुरानै लयमा फर्किने उनको अपेक्षा छ । कल्पनाले पनि दैनिक १५ केजी सम्म धराने कालो बंगुरको मासुबाट बन्ने विभिन्न परिकार बनाएर ग्राहक रिझाउने गर्छिन् । विगतमा भन्दा पछिल्लो समय धराने कालो बंगुरको माग बढेको उनको अनुभव छ । देशका विभिन्न ठाउँबाट आएका व्यक्तिहरु कालो बंगुरको स्वाद लिन उत्सुक हुने उनि बताउँछिन् ।  


बगरकोटमा कालो बंगुरको मासु विक्रि गर्ने फ्रेस हाउस सञ्चालन गरेर बसेका सुबास लिम्बुले अहिले दैनिक ३ सय साट्ठी केजीसम्म काँचो मासु विक्रि गर्दै आएकाछन् । एउटा वयस्क धराने कालो बंगुर करिब १ सय विस केजीसम्म हुने गरेको लिम्बुको अनुभव छ । लिम्बुले पसलका लागि दैनिक जसो धराने कालो बंगुर किनेर ल्याउँछन् । बगरकोट जस्तै भौरी, पिण्डेश्वरी चोक, भेडेटार तथा भोजपुरे धराने कालो बंगुरका लागि प्रख्यात ठाउँ भएको लिम्बु बताउँछन् । 

धरान नजिक विषेश गरेर बगरकोट, भौरी, पिण्डेश्वरी चोक, भेडेटार तथा भोजपुरे धराने कालो बंगुरका लागि प्रख्यात ठाउँ बनेकाछन् । धराने कालो बंगुरको परिकार काठमाडौंमा पनि निकै लोकप्रिय बन्दै गइरहेको छ । किराँत समुदायको घना बसोबास रहेको ललितपुरको ताल्छीखेल, धोलाहिटी, नख्खिपोटलगायत क्षेत्रमा धराने कालो बंगुरको मासुको व्यावसायिक सफलताको नमुना देख्न सकिन्छ । कालो बंगुरको विभिन्न खालका परिकार बन्न सक्छ । तर, काठमाडौंमा धेरै खाइने परिकारमा पर्छ, पोर्क सेकुवा । धराने कालो बंगुरको नाम सुनेरै धेरै जना सेकुवा खान आउने गरेको ‘सेकुवा मोड’ का सेफ टकबहादुर राना मगर  बताउँछन् ।


 

कसरी उत्पादन गरियो धराने कालो बंगुर?
सुँगुर र बंगुर बनेल जातमा पर्छन् । बनेल र सुँगुर मिसिएर पैदा भएको पशुलाई बंगुर भनिन्छ । तर, सामाजिक प्रचलनमा सुँगुर भनौं वा च्वाँचे, सबैलाई बंगुर भनेको पाइन्छ । त्यसमा पनि धराने कालो बंगुरको त प्रख्यात ब्रान्ड नै बनिसक्यो ।


धराने कालो बंगुर खासमा चिनियाँ हेमसायर जात र पाख्रीबास स्थानीय च्वाँचेको ठिमाहाका रूपमा विकसित गरिएको जात हो । चिनियाँ हेमसायर छिटो बढ्छ र ठूलो हुन्छ । पाख्रीबास स्थानीय च्वाँचे भने ढिलो बढ्नुका साथै सानो हुन्छ, खाँदा स्वादिलो हुन्छ । धराने कालो बंगुरमा ती दुवैको मिश्रण अर्थात् छिटो बढ्ने, ठूलो हुने र अत्यन्तै मीठो हुने विशेषता पाइन्छ ।


संसारमा मांसाहारीले सबैभन्दा बढी खपत गर्ने आधारमा कुखुरा पहिलो नम्बरमा पर्छ भने दोस्रो माछा, तेस्रो बंगुर र चौथो गोरु पर्छ । कुुखुरा, माछा र बंगुरलाई सेतो मासुका रूपमा लिइन्छ । यी मासुमा कोलेस्ट्रोल, रगतमा गएर जम्ने ट्रान्सफ्याट र मस्कुलर फ्याट नामक तत्त्वहरू हुँदैनन् । जुन तत्त्व भेडा, बाख्रा, च्याङ्ग्रा, राँगा आदिमा प्रशस्त मात्रामा हुन्छ । यी मासु मानवीय हिसाबमा अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड प्राप्त गर्न असमर्थ छन् । छोटो समयमा मासुको उत्पादनमा बंगुरले जति स्थान ओगट्न सक्छ, त्यो स्थान अन्य कुनै पनि पशुपक्षीहरूले स्थान लिन सक्दैनन् ।
 

धराने कालो बंगुर धरानको बगरकोट