समाचार कभर स्टोरी

भुक्तानीका लागि फोटो खिच्न रङ्याइयो विद्यालयको भवन, पलास्तर नगरिएको पिल्लरमा दुईथरी रङ्ग

भुक्तानीका लागि फोटो खिच्न रङ्याइयो विद्यालयको भवन, पलास्तर नगरिएको पिल्लरमा दुईथरी रङ्ग

गत आईतबार नेपाल आजले ‘विद्यालय भवन निर्माणमा चरम लापरबाही, प्रधानाध्यापकको बदनियतले ४ कोठे भवन अलपत्र पर्दै’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो । बझाङको छविस पाथिभेरा ०७ स्थित मजखोरी माविको ४ कोठे भवन निर्माणाधिन अवस्था मै अलपत्र पर्ने आकलन गरिएको थियो ।  

गत आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट ४२ लाख रकम विनियोजन भैइ निर्माणाधिन अवस्थामा रहेको विद्यालय भवन आर्थिक वर्ष समापन हुनै लाग्दा समेत निर्माण सम्पन्न नहुँदा अलपत्र पर्ने देखिएको भन्दै समाचार प्रकाशन भएपछि रातारात काम चलाउ शैँलीमा विद्यालयको भवनले छलागं मारेको छ । 


ताज्जुबको कुरा त के भने विद्यालय भवन अनुगमन गर्ने निकाय सामाजिक विकास कार्यालयका कर्मचारी फिल्डमा गएर अध्ययन नगर्ने भएपछि फोटो खिच्न कै लागि रङ्ग भने दमदार पोतिएको छ । सामाजिक विकास कार्यालयले फोटो हेरेर भुक्तानी दिन्छु भनेपछि बजेट रकम लिन कै लागी रातारात विद्यालयको भवनमा रङ्ग पोतिएको छ । नव निर्मित भवनमा रङ्ग पोतिएर बेहुलि झै सिंगारिनु राम्रै भएता पनि पिल्लरमा पलास्तर नगर्दै रङ्ग पोतिनु भनेको लज्जास्पद र दुःखद विषय हो ।

नेपाल आजले समाचार प्रकाशन गरेपछि काम नगरी भुक्तानी लिने दाऊ ढुकेर बसेका प्रधानाध्यापक जनक बोहरालाई निल्नै लागेको गाँसमा ढुंगा लागे झै भएको थियो । विद्यालयको भवन जस्तोसुकै बनेपनि भुक्तानी भने पुरै लिएरै देखाउने प्रतिवद्धताका साथ लागेका बोहराले कामदारलाई रातदिन भएपनि भवनको नामनिसाना तयार पार्न कडा निर्देशन दिएको र सोही अनुसार ठेकेदारले कामदारलाई पेलेको स्रोतले बताएको छ । हुनत बिद्यालयमा ब्यवस्थापन समितिले पनि भवन निर्माणको विषयमा चनाखो हुनुपर्ने हो । तर, मजखोरी माबीमा बिद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकलाई परिचालन गर्नुको सट्टा प्रधानाध्यापक बिद्यालय व्यवस्थापन समितिलाई परिचालन गरेको स्थानीय बताउँछन । बिब्यस अध्यक्ष आफुले जे भने त्यही मान्ने भएकाले प्रधानाध्यापक बोहराले नटेर्ने गरेको स्थानीय बताउँछन् । 


आजभन्दा तिन तिन दिन अघिसम्म पलास्तर, झ्याल, ढोका, फर्निचर आदिको काम पुरा नगरेका बोहराले फोटो खिच्न कै लागि भवनको बाहिर रङ्ग दल्न लगाएकाछन् । भवनको भित्र भने अझै रङ्ग त कहाँ हो कहाँ पलास्तर पनि गरिएको छैन । 


करिब ४२ लाखको लागतमा बन्न लागेको भवन गुणस्तरिय नबनेको भन्दै सरोकारवाला आलोचना गरिरहेकाछन् । भवनको अनुगमन गर्ने निकाय सामाजिक विकास कार्यालय बझागंका कर्मचारीले फिल्डमा गएर अनुगमन नगरि फोटोको आधारमा भुक्तानी दिन्छु भनेपछि टालटुले काम गरेर चोरबाटो बाट भुक्तानी दिन खोजेको भन्दै सामाजिक विकास कार्यालयको समेत आलोचना भएको छ ।

एकजना स्थानिय भन्छन्, ‘अनुमगन र नियमन गर्न भनेर जिल्लामा कर्मचारीको व्यवस्था गरिएकोे छ । तिनीहरुको काम नै अनुगमन गरेर मूल्याकंन गर्ने हो । भ्याइएन भनेर हुँदैन । भवन व्यवस्थित नभए त्यसको जिम्मेवारी कर्मचारीले पनि लिनुपर्छ । बसी बसी तलब हसुर्ने छुट तिनिहरुलाई छैन ।’


यता नियमन गर्ने निकाय सामाजिक विकास कार्यालयका प्रमुख बिर बहादुर धामीले समय कम भएको भन्दै अन्तिम पटक मुल्याकंन गर्न जान नसकिने प्रतिक्रिया दिएका थिए । आईतबार नेपाल आजसँग कुरा गर्दै धामीले भनेका थिए, 'असार २२ गतेसम्म जति काम भएको छ त्यसै अनुसारको मुल्याकंन गरेर भुक्तानी दिन्छौ । समय कम भएकाले अनुगमनमा जान सकिदैन । अब फोटो हेरेर मुल्याकंन गरिन्छ ।'


धामीले कार्यालयबाट कर्मचारी खटाउन आनाकानी गरेर विद्यालयको भवन निर्माणमा लापरबाही गर्ने प्रशस्त ठाउँदिएको जानकारहरु बताउँछन् । सदरमुकाम चैनपुरबाट विद्यालय भएको ठाउँ करिब ५ घण्टाको यात्रामा पुगिन्छ । विद्यालयसम्मै गाडी जाने भएकाले एकदिनको समयमा पुगेर अनुगन गरि फर्किने अवस्थामा पनि कर्मचारी नपठाएपछि कार्यालय प्रमुख धामीको भुमिकामा समेत प्रश्न खडा भएको छ । नेपाल आजका प्रतिनिधि सुनिल धामीले सामाजिक विकास कार्यालयसँग विद्यालयको लागतसँग सम्बन्धित विल, भरपाई र कागजात सुचनाको हक अन्तर्गत माग गरेका थिए । कार्यालय प्रमुख धामीले आफु खुबै व्यस्त भएको भन्दै तुरुन्त सुचना दिन नसकिने जवाफ फर्काएकाछन् ।


यता विद्यालयका प्रधानाध्यापक जनक बोहरा भुक्तानी रोकिने भएपछि सामाजिक विकास कार्यालयका कर्मचारीसँग जसरी भएपनि रकम निकासा गरिदिन भन्दै कार्यालयमै डेरा जमाए जस्तै गरेर बसेको स्रोतले बतायो । कर्मचारीलाई प्रलोभनमा पारेर भएपनि पुरै भुक्तानी लिने बोहराको रणनिति रहेको स्रोतले जानकारी दिएको छ । विद्यालयको भवन पछि बनाउँछु अहिले जसरी भएपनि सबै रकम भुक्तानी दिलाई दिन जमानी बसिदिनु पर्याे भनेर प्रधानाध्यापक बोहराले सदरमुकाम चैनपुर स्थित केहि दलालहरुसँग पनि अनुनय विनय गरेको स्रोतले बताएको छ । 


विद्यालयको भवन निर्माणका लागि बजेटको व्यवस्था गरि सहि तरिकाले मुल्यांकन गरेर राज्यकोषको सदुपयोग गर्ने जिम्मेवारी पाएको सामाजिक विकास कार्यालय बझाङले काम हेरेर भुक्तानी गर्ने भने पनि रणनिति भने काम भएको जस्तै देखाउने गरी पुरै रकम भुक्तानी गर्ने रहेको विश्लेषण गरिन्छ । यसैबीच कर्मचारी र प्रधानाध्यापकबीच संरचनामा केही थप्ने, घटाउने, परिवर्तन गर्ने, दुरुस्तै  देखाउने जस्ता विषयमा गोप्य सहमती भएको स्रोतको दाबी छ । 


यो पनि,


विद्यालय भवन निर्माणमा चरम लापरबाही, प्रधानाध्यापकको बदनियतले ४ कोठे भवन अलपत्र पर्दै


भवन निर्माण सम्पन्न नहुँदै सिफारिस माग, सिफारिस नदिएपछि वडाध्यक्षमाथि आक्रमण


२२ लाखको शौचालयमा जस्ताको छानो


शौचालय विवादमा प्रशासनको ध्यानकर्षणः सिडिओले झिकाए कागजपत्र


२२ लाखको शौचालयका डिजाईनरलाई सिडियोको केरकारः मुल्याङ्कन अनुसार भुक्तानी गर्न निर्देशन


 

विशेष