समाचार अर्थ रोजगार

जापानमा कामदार लान सुरु नहुँदै म्यानपावर र दलालको विगविगी

जापानमा कामदार लान सुरु नहुँदै म्यानपावर र दलालको विगविगी

नेपाल र जापानबीच ०७५ चैत ११ गते स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लू) अन्तर्गत नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी समझदारी भएसँगै म्यानपावर र दलालको विगविगी वढेको छ ।

जापान रोजगार सुरु नहुँदै पछिल्लो दुई वर्षमा करिब १ सय जनाको ६ करोड रुपैयाँभन्दा बढी ठगी भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आव ०७६/७७ मा जापान रोजगारीका नाममा एक करोड ५६ लाख ठगी भएको भन्दै २६ वटा उजुरी परेको छ।

त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ३० लाख ठगी भएको भन्दै ५० भन्दा बढी उजुरी परेका छन्।

जापानले करिब दुई वर्षयता एसएसडब्लू भिसामा नेपाली कामदार लैजाने तयारी गरेको छ। सरकारी संयन्त्र (जीटूजी) बाट पठाइने समझदारी भए पनि दलाल र म्यानपावरले डकुमेन्ट चार्जको नाममा लाखौं रकम असुल्ने गरेको पाईएको छ ।

केही म्यानपावर व्यवसायीले त पत्रिकामा विज्ञापन नै गरेर राहदानी संकलन र पैसा असुल्न थालेका थिए। 

राष्ट्रिय मानव अधिकार आयोगले गरेको अध्ययनअनुसार १६ हजार उजुरी अध्ययन गर्दा २७ प्रतिशत उजुरी मात्रै फरफारक भएको पाइएको थियो। फरफारक भएको केसको पनि कार्यान्वयनमा समस्या छ।

आप्रवासी श्रमिकसम्बन्धी अनुसन्धानकर्ता रामेश्वर नेपालले कतिपय पीडितलाई उजुरी कहाँ गर्ने भन्ने जानकारी नभएको बताउँछन्। कानुनबमोजिम दण्ड र जरिवाना नहुँदा शोषण र मानव तस्कर बढेको उनको भनाई छ।


अध्यागमन विभागका अनुसार हालसम्म २८ हजार नेपाली जापान पुगेका छन्। प्रशिक्षार्थी, वर्किङ, विद्यार्थीलगायत विभिन्न भिसामा नेपाली जापान जाने गर्छन्। जापानले २०६६ सालदेखि नै जिट्को अन्तर्गत नेपालबाट प्रशिक्षार्थी कामदार लैजाने गरेको छ। तर, यसबाट जाने कामदारको संख्याभन्दा ठगिने नेपाली बढी छन्।

जापान रोजगारीका नाममा ठगी गर्ने म्यानवपावरमा नेल्को इन्टरनेसनल अग्रस्थानमा आउँछ। उसले जिट्को अन्तर्गत युवालाई जापान पठाउने भन्दै धेरै युवाबाट पैसा लिने र नपठाउने गरेको पाइएको छ। डकुमेन्ट चार्जका नाममा सुरुमा लाखसम्म पैसा असुल्ने तर महिनौंसम्म प्रक्रिया सुरु नगर्ने पीडितको गुनासो छ।

नेल्कोले विशाल भट्टराईलाई १३ लाख रुपैयाँ ठगी गरेको विभागमा उजुरी परेको छ। उनको मुद्दा प्रक्रियामा छ। धेरै ठगेको उजुरी परेको भन्दै विभागले उक्त म्यानपावरलाई कालोसूचीमा राखेको छ।

जापान रोजगारीका नाममा राजेश लामालाई दीपज्योति ओभरसिजले पाँच लाख रुपैयाँ ठगी गरेको थियो। विभागले दोषीलाई कारबाही गरी क्षतिपूर्ति भराइसकेको छ। त्यस्तै जानकी ओभरसिजले दीपकुमारलाई पाँच लाख रुपैयाँ ठगी गरेको छ।

कृष्णबहादुर विक, जमुनादेवी कार्की, जयराम लामा, विवेकराज खनाल, मुना पाण्डे, कमला भण्डारी, दीपा कुँवर केसी, रामकृष्ण दाहाल, विष्णुबहादुर सेन, भरतराज शर्मा रेग्मी, दीपेन्द्रकुमार सुरेन, मिरज श्रेष्ठ, महेन्द्रबहादुर सिंह, सन्तोष सदा शंकर, राजाराम खत्री, गोविन्द खड्काले, सर्वधन तामाङ, राधाकृष्ण ढुंगाना, सविता तामाङ, कपिल गुरुङ, राजु गिरी, पूर्णबहादुर बोहरा र नरप्रसाद पाण्डेले विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरी विभागमा परेको छ। 

वैदेशिक रोजगार विभाग जापान रोजगारी म्यानपावर र दलालको विगविगी