समाचार कभर स्टोरी

कम्रेड एटमबाट प्रभाकर बनेका जनार्दन शर्माको यस्तो छ क्रान्तियात्रा

कम्रेड एटमबाट प्रभाकर बनेका जनार्दन शर्माको यस्तो छ क्रान्तियात्रा

(प्रभाकरको योजनामा पाल्पा, सुनवल, बुटवल, तौलिहवा, तीनगिरे, पण्डौन, रम्भापूर, आमखैया हुँदै पिलीसम्मका युद्ध भएका थिए)

रुकुम पश्चिमको तत्कालिन खलंगा गा.वि.स. वडा नं. ३ सेरीगाउँमा गाउँ भरीकै सोझासाझा एवं मिलनसार ब्यक्ति थिए जनार्दन शर्माका बुवा स्कन्द शर्मा । स्कन्द र नर्मदा शर्माका ६ सन्तानहरु जन्मिए । जसमा जनार्दन शर्मा (प्रभाकर), उपेन्द्र शर्मा(शुभ), केदार शर्मा, विजय शर्मा, नारायणी शर्मा र अनिल शर्मा । २०२० सालमा जन्मिएका जेठा छोरा जनार्दन शर्मा अहिले प्रभाकर भनेर चिनिन्छन् । एकीकृत ने.क.पा.(माओवादी)का पोलिटब्यूरो सदस्य, जनमुक्ति सेनाका डेपुटी कमाण्डर, नेपाल सरकारका शान्ति तथा पुननिर्माण मन्त्री, उर्जामन्त्री हुँदैै देउबा नेतृत्वको सरकारमा अर्थमन्त्रीका लागि सिफारिस भएकाछन् । 


जनार्दन शर्मा कसरी प्रभाकर भए?


उनी सानो छदा घरको उत्पादनले परिवारलाई खान पुग्दैनथ्यो । सानैदेखि घरको काममा सघाउनु, गोठबाट स्थानीय बजारसम्म दुध बेच्ने काम गर्नु उनको दैनिकी थियो । गाईवस्तु पाल्ने र घास, दाउरा गर्ने काम आमाले मात्र गर्नुपर्ने भएकोले सानैदेखि खाना पकाउने, भाई–बहिनीको हेरविचार गर्ने काम पनि गर्थे । त्रिभूवन जनता माध्यामिक विद्यालयबाट जेनतेन एस.एल.सी. पास गरे । आफ्नो पढाइलाई बढाउने क्रममा एम.ए.सम्मको अध्ययन त्रिभूवन विश्वविद्यालयबाट गर्दागर्दै भूमिगत भए ।


उनका बुबा स्कन्द शर्मा रुकुम जिल्लामा २०२२ सालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने मध्येका एक थिए । घरमा असल स्वभावका मान्छेहरु आउने, जाने, बैठक गर्ने गरेको हेर्दाहेदै कम्युनिष्ट बाटोमा लाग्न पुगेको बताउछन् जनार्दन शर्मा । उनका सबै भाई–बहिनीहरु एकीकृत नेकपा(माओवादी) पार्टीको संगठनमा आवद्ध छन् । माइला भाई उपेन्द्र शर्मा पत्रकार र राज्यसमिति सदस्य, कान्छी बहिनी नारायणी (प्रतिक्षा) थारुवान राज्यसमिति सदस्य पनि हुन् । कान्छा भाई अनिल क्रान्तिकारी विद्यार्थीको केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्यसमिति सदस्य समेत हुन् । जेठी बहिनी केदार र माइली विजया पनि राजनीतिमा आवद्ध छन् ।


जागिर गर्ने सहपाठीहरुलाई नै आन्दोलनकारी बनाएका थिए प्रभावकरले


जनार्दन शर्माले २०३८ सालमा एस.एल.सी.पास गरे । जागिर खाने इच्छा नभए पनि घरको बाध्यता र प्रशासनिक निगरानीबाट बच्न जे.टि.ए. भई ५ वर्ष काम गरे । सो अवस्थामा पनि पार्टीको जिम्मेवारी पदमा रहेर जिल्लामा पार्टी विस्तारको काममा लागि नै रहे । तरकारी विऊ उत्पादन केन्द्रमा जागिर गर्दा उनले त्यहाँ काम गर्ने मजदूर संगठन बनाएर ज्यालाबृद्धिको संघर्षको लागि समेत मजदूरलाई सघाउने गरेका थिए । नौ वटा अफिसहरुमध्ये धेरैले उनलाई सर्तकतापूर्वक हेर्ने गरेका थिए । कतिपयले कम्युनिष्ट हो भनेर गोप्य रिपोर्ट मन्त्रालयमा पठाउने गरेको पनि उनी बताउँछन् । जागिरमा रहेपनि आफ्नो संगठनको काम पूरा गर्दै आएका थिए । हेमन्तप्रकाश ओली, लोकेन्द्र विष्ट, यज्ञश्वर शर्मा, दौलतराम घर्ती, पूर्ण घर्तीलाई विद्यार्थी संगठन संगठित गर्दै सो टिम मार्फत संगठन विस्तारमा सशक्त रुपले अगाडि बढाएका थिए । यो एउटा सशक्त टिम बन्न सफल भएको थियो । पार्टीका पुराना ब्यक्तिहरु काममा सक्रिय नहुने र आफ्नो काममा मात्र अल्झि राख्ने भएकाले पार्टीको स्थापना भएको भएपनि विस्तार हुन सकेको थिएन । पछि यो टिमको जुझारु स्प्रीडले जिल्लाभरी संगठनलाई नयाँ जीवन दिन सफल भयो ।

२०३६÷३७ को संघर्षको नेतृत्व गर्नेदेखि २०४३ सालमा वर्ग संघर्षका केही अभ्यासहरु गर्न सफल भए । यो टिमले केही गुरिल्ला कार्वाहीहरु पनि गरेको थियो । यो टिममा दौलत घर्तीको नेतृत्वमा ११ जना गुरिल्ला रहेका थिए । हालको रुकुम पुर्वको हुकाम मैकोटमा चलेको संघर्षलाई अगाडि बढाउन त्यहाँ पार्टी संगठन विस्तार गर्न समेत लागिपरे प्रभाकर । थवाङ्गमा भएको २०३८ सालको सैनिक अप्रेशनले संगठन विस्तार गर्न सकारात्मक रुपले मद्दत गरेको बताउँछन् उनी । गुरिल्ला तालिम कहाँ र कसरी गर्ने भन्ने ठूलो छटपटी भइरहन्थ्यो । गुरिल्ला तालिम गर्नेबारे उक्त टिममा बारबार छलफल हुने गरेको थियो । पञ्चायतको पछिल्लो अवधीमा विभिन्न बहाना र झुट्टा मुद्दा समेत लगाई पटकपटक गिरफ्तार भएर मानसिक तथा शारीरिक यातना प्रहरी हिरासतमा भोगे ।

प्रचण्डसँग प्रभाकरको पहिलो भेट


नेकपा माओवादी केन्द्रका अध्यक्ष क.प्रचण्डसँग प्रभाकरको पहिलो भेट २०४२ कामीबुढाको हिल भन्ने गाउँमा जनमोर्चाबाट सांसद हुनु भएका खड्गबहादुर बुढाको घरमा प्रशिक्षण कार्यक्रममा भएको थियो । तर उनले प्रचण्डलाई चिनेका थिएनन् । त्यो समयमा उनले एकजना पातलो, छरितो र प्रखर वत्ताको प्रशिक्षण पाए । ती दुब्लो पातलो ब्यक्तिको नाम थियो क.विश्वास उनी ने.क.पा.मशालका केन्द्रीय सदस्य थिए । साथमा एक गोरो, मोटो ब्यक्ति थिए । एक जना दुब्ला पातला ब्यक्तिसँग बारबार भेट हुने गरेको थियो । २०४६ सालमा ने.क.पा.मशालको पहिलो राष्ट्रिय सम्मेलन हुँदा यो थाहा भयो क.प्रचण्ड भनेका तीनै विश्वास रहेछन् अनी मोटा चाही वादल, अर्काे पातलादुब्ला चाही बरिष्ठ नेता किरण पो रहेछन् । पहिलो भेटमै प्रचण्डबाट प्रभावित भएका प्रभाकरको तत्कालीन नाम एटम रहेछ । उनले उक्त भेटमा क्रान्ति गर्ने हो की होइन ? भनेर प्रश्न गर्दा, क.विश्वासले क्रान्ति कै लागि हामी लागिरहेका छौं, अब छिट्टै क्रान्ति गर्नुपर्छ भनेको कुरा स्मरण छ उनलाई । अब गुरिल्ला तालिम गर्न अरु कसैलाई खोज्नु नपर्ने समाचारले त झन् टिमको खुशीको सीमा नै रहेन ।उक्त कुरा हेमन्त, लोकेन्द्र, यज्ञश्वर, पूर्ण आदिलाई सुनाउदा सिङ्गो टिम नै उत्साहित भएको बताउँछन् प्रभाकर । 


कम्युनिष्ट भएको भन्दै वारेन्ट जारी भएपछि गाउँ छोडेर भागेका थिए प्रभाकर


२०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट भनेर उनलाई जिल्लामा वारेन्ट जारी गरेको थियो । उनी विरामी भएपछि उपचारको लागि काठमाडौं आए । काठमाण्डौमै रहनु प¥यो, सो समयमा पढाइको निहुँमा टियूमा जाने गर्थे । भारतले गरेको नाकाबन्दी विरुद्धको आन्दोलनमा सक्रिय भै सहभागी काठमाण्डौमा भएपनि लुकीछिपी जिल्लामा जाने आउने क्रम जारी रह्यो । पछि २०४६ को जनआन्दोलनमा कीर्तिपुरको सशक्त आन्दोलनको अभियानमा सरिक भए । चैत्र २४ गते नयाँ जनवादी क्रान्ति जिन्दावाद र राजतन्त्र मूर्दावाद भन्ने नारामा एमालेका विद्यार्थी नेता कीर्तिपुर गेटमा चढेर प्रतिबन्द लगाएपछि त्यसको काउन्टर गरी जनतालाई उक्त नारा सहित जुलुसको नेतृत्व गर्दै कृष्णसेन इच्छुक, मणिथापा सहित कालिमाटी चौकी कब्जा गर्दै टुडीखेल पुग्नुभयो । टुडीखेलमा पाइला टेक्ने स्थान पनि नभएपछि त्यही जुलुस दरवारमार्ग पुगेको थियोे । त्रिचन्द्र कलेजबाट जुलुस अगाडि बढ्दै गर्दा महेन्द्रको सालिक ढाल्न भनेर मणी थापा र प्रभाकर भत्काउन लाग्दा एक युवक माथि चढेर श्रीपेच बटार्दै गर्दा गोली चलेपछि ती युवक घाइते भए । त्यतिबेला चान्सले बल्ल बचेको बताउछन् जनार्दन शर्मा ।


२०४६ सालको आन्दोलनबारे २६ गते भएको सम्झौता धोका भन्दै कीर्तिपुरमा २६ गते नै निस्केको जुलुसलाई संघर्ष जारी राख्ने सम्वोधन गरेको तर जनता विजय याली निकाल्दै अगाडि बढेपछि टुडीखेलमा पार्टीले निकालेको सम्झौता धोका हो भन्ने पर्चा छदैगर्दा मण्डले भनेर मार्न आउँदा मुस्किलले बच्न सफल भएको उनि बताउँछन् । २०४६ सालको आन्दोलन कै बीचमा फागुन ३० गते लक्ष्मी शर्मासँग जनार्दन शर्माले विवाह गरे । गर्नुभयो । २०४७ सालको आन्दोलनमा सरिक हुँदै वैवाहिक जीवन भन्दा राजनैतिक र आन्दोलनकै जीवन मुख्य बन्न पुगेको उनि बताउछन् । विवाहकै अर्काे दिन रातभर कालोझण्डा टाँस्दै विताएको प्रभाकर सम्झिन्छन् । 


जनवादी संगीतकार खुशीराम पाख्रीनको गीतमा बन्दुक लिएर नाचे बापत राज्य विरुद्ध अपराध मुद्दा


२०४६ सालको आन्दोलन लगत्तै दाङ, सल्यानका विभिन्न ठाउँमा कार्यक्रम गर्दै जुलुस सहित रुकुम पुगेका थिए । रुकुममा २०४६ सालको आन्दोलनलाई लोकेन्द्र, पूर्ण, यज्ञश्वर, दौलत, गोप्यश्वर, केदार, उपेन्द्र शर्माहरुले आन्दोलन भावकारी रुपमा संचालन गरेका थिए । यज्ञश्वर र उपेन्द्र शर्मा थुनामै थिए । प्रभाकर र लोकेन्द्र विष्टको नेतृत्वमा जिल्लामा आमजनतालाई संगठित गर्दै पञ्च र सामन्तहरु विरुद्ध संघर्षमा अगाडि बढाए । २०४७ साल जेठ १ गते ‘भेषे’लाई फासि दे भन्ने नाटकको अभिनय गर्नुकोसाथै रगतको बदला रगतले नलिए के क्रान्ति आउने, के शान्ति छाउने, गरिब जनताको ‘भन्ने जनवादी संगीतकार खुशीराम पाख्रीनको गीतमा बन्दुक लिएर नाचे बापत बहुदलीय कालको पहिलो राज्य विरुद्ध अपराध मुद्दा लागेको उनि बताउँछन् । सेनाको कमाण्डो फोर्स परिचालन गरी प्रभाकर, उनका भाई उपेन्द्र शर्मा र पहल पुनलाई लगायतलाई गिरफ्तार गरी मुद्दा चलाइएको थियो । त्यतिबेला सदरमुकाम कब्जा गरेको आरोप लागेको थियो । 


प्रभाकारको योजनामा डोल्पा कब्जा भएको थियो 


सदरमुकाम कब्जा गर्ने योजना त नभएको तर जनयुद्ध शुरु गरेपछि कुनैपनि हालतमा कब्जा गर्ने संकल्प समेत गरेको बताउछन् । रुकुम त कब्जा भएन तर त्यो अभिभारा उनले डोल्पा कब्जा गरेर पूरा गरेको बताउँछन् । छापामार दलहरु बनाएर पश्चिम नेपालको पहिलो र सफल झिम्पे रेडका योजनाकारका साथै कार्वाहीको नेतृत्वमा प्रत्यक्ष सहभागी भएका थिए । पासाङ्गलाई यो रेडमा कमाण्डको जिम्मेवारी दिई फौजी कमाण्डरको रुपमा परिचित गराउन समेत प्रभाकरले भूमिका खेलेका हुन् । लगत्तै झुल्नेटा कार्वाहीको योजना पनि बनाए र क.विवेकको राजनीतिक नेतृत्वमा क. राजेशको स्क्वाडलाई खटाए र उक्त कार्वाही पनि सफल भएपछि फौजी योजनाकारका रुपमा पार्टीले स्वीकार ग¥यो । २०५५÷०५६ मा उनी २ नं. प्लाटूनको राजनैतिक कमिसार भए भने पासाङ्ग १ नं र भक्तबहादुर शाह ३ नं. प्लाटून कमिसार । १ र २ नम्बर प्लाटूनको सहभागितामा अनन्तको राजनीतिक नेतृत्वमा महत कार्वाही सफल भयो । पछि २ नम्बर प्लाटूनले सहरतारामा कार्वाही सफलगर्दाको उनको विशेष अनुभूति रहेको छ । रामपुर, घर्तीगाउँ, तक जस्ता महत्वपूर्ण कार्वाही डोल्पा सदरमुकाम कब्जा गर्न पनि पुगेका थिए उनी ।


२०५७ सालमा सेती–महाकाली इञ्चार्ज र सैन्य कमिसार


२०५७ सालमा सेती–महाकालीमा क्रान्तिको विस्तार गर्न जिम्मा पाए । त्यहाँ प्रारम्भीक स्तरबाट सेना निर्माणमा लागि पछि डिभिजनसम्म निर्माण गर्न सफल भए । सेतीमहाकालीको इञ्चार्ज र सैन्य कमिसारको भूमिका एकैसाथ उनले निभाएका थिए । सेतीमहाकालीमा लेखराज भट्ट, पम्फा भुसाल, हेमन्तप्रकाश ओली र जयराज भट्टसँग राम्रो सहकार्य गर्दै सेतीमहाकाली राष्ट्रिय मुक्तिमोर्चाको स्थापना समेत गरे । २०५४ को शुरुमै कैलालीमा किसान संघर्षलाई उत्कर्षमा पु¥याउनुकासाथै दमनका विरुद्ध प्रतिरोधका रुपमा लालबोझी कार्वाहीका एकीकृत अभियानहरु संचालन गरेर ठूलो उभार पैदा गर्न सफल भएका थिए । अर्घाखाँची, जुम्ला कार्वाहीमा बटालियनको राजनैतिक नेतृत्व गर्न पुगेका प्रभाकर फेरि सेती–महाकाली ब्यूरो इञ्चार्ज भए दुई वर्ष पश्चात् डिभिजन कमाण्डर भएर सेती–महाकाली र कर्णालीको फौजी कमाण्ड गर्न पुगे । पश्चिम नेपाललाई आधार इलाकामा बदल्न राजनैतिक र फौजी अभियानको समायोजन र प्रत्यक्ष कमाण्ड गदै क.प्रभाकरले पश्चिमलाई माओवादी जनयुद्धको एउटा किल्लाकै रुपमा खडा गर्न नेतृत्व गरे । महाकालीदेखि कुसुमसम्मको राजमार्गलाई कब्जा र जाजरकोटदेखि अछाम, बझाङ, बाजुरा, बैतडी, डडेल्धुराका घनिभूत कार्वाहीहरुमा मुख्य कमाण्ड  प्रभाकरकै रहेको थियो । क.विविध, क.जित, क.बहुवर, क.प्रहार, क.विशाल, क.जीवन जस्ता फिल्ड कमाण्ड गर्ने सक्षम कमाण्डरहरुको उनले साथ पाएका थिए । प्रभाकरको योजनामा पण्डौन, रम्भापूर, आमखैया, वडैपुर हुँदै पिली मोर्चाको प्रत्यक्ष कमाण्ड प्रभाकरले गरेका थिए जसमा कयौँ व्यक्तिले शाहदत प्राप्त गरेकाछन् । 


ढाडमा टेकेर टाउकोमा हान्ने युद्ध योजनाको कमाण्डर


प्रत्याक्रमणको दोश्रो योजनामा डेपुटी कमाण्डको हैसियतले चारवटा डिभिजनको कमाण्ड गर्ने अवसर पाए । ढाडमा टेकेर टाउकोमा हान्ने युद्ध योजनाको कमाण्ड गर्दै गण्डकमा हजारौ शाहीसेनाका घेराबन्दीहरु विफल पार्दै पाल्पा, सुनवल, बुटवल, तौलिहवा र तीनगिरे जस्ता ठूल–ठूला आक्रमणको योजना र कमाण्ड गरेर जनमुक्ति सेनाको फिल्ड कमाण्डको रुपमा समेत आफूलाई परिचित गर्न सफल भए । सो अभियानमा प्रतिक, प्रज्ज्वल, शरद, रश्मी, र विवेक, दिपक, प्रतिक्षा, जीवन जस्ता कमाण्डरहरु उनको साथमा थिए । क. सुनिलसँग कमाण्डरको रुपमा सहकार्य गर्नुपूर्व उनि शहीद हुनुभएकोमा अत्यन्तै मर्माहित भएको बताउछन् उनी । त्यसैगरी राजनीतिक कमिसारहरुको रुपमा क.सुरेश सिंह, क.सुदर्शन, क.संजय क.उद्धवको नेतृत्वमा गण्डक अभियान अगाडि बढेको थियो । त्यसैगरी युद्ध पत्रकारहरु ओम शर्मा, मनऋषि घिताल, ओपेन्द्र शर्मा, खिलबहादुर भण्डारीहरुसँगको युद्धयात्रा पनि उनको लागि अविस्मरणीय क्षण रहेको बताउछन् । अर्काे महत्वपूर्ण कुरा युद्धको चाप र दबाबमा समेत कम्प्युटर प्रविधिको प्रयोग शुरुदेखि गर्दै आएका थिए । सेती–महाकालीका डाँडा पाखाहरुमा डोकोमा कम्प्युटर बोकेर क.ज्वाला दौडेको पनि उनि अझै सम्झिन्छन् । क.ज्वालाको नेतृत्वमा क.विदूर, क. जिज्ञासु सहित श्रब्यदृश्य बनाउने टिम समेत खडा गरेका थिए ।

पत्रकार बन्ने रहर थियो प्रभाकरको


प्रभाकरका अन्य रहर र रुचिहरु जान्न खोज्दा उनलाई पत्रकार बन्ने रहर रहेछ । आइ.ए.मा ५० पूर्णाङ्कको पत्रकारिता पढेका उनले बी.ए.मा पत्रकारिता पढ्नका लागि आर.आर. क्याम्पसमा भर्ना पाएनन् । उनले हस्तलिखित विगुल पत्रिका २०४६ सालमा निकाल्ने गरेको रहेछ । पार्टीबाट दाङ्गमा हुँदा जनउभार, सेतीमहाकाली हुँदा जनसमर, विगुल र प्रत्याक्रमण पत्रिका समेत प्रकाशन गरेका थिए । उनको पत्रकार हुने अझै पनि धोको छ ।
उनी फिल्महरु त्यति हेदैनन् । सानो उमेरमा त्यो हेर्न अवसर पनि थिएन । पछि राजनीतिले अरु केही गर्न समय भएन उनले सीमित फिल्महरु मात्र हेरेका छन् । अन्धाकानुन, भगतसिंह, कुसुमेरुमाल, टाइटनिक आदि । उनलाई गीतगाउने रहर भएपनि कला छैन । सामान्यतया उनी नाच्न जान्दछन् । नाचेकै अभियोगमा राजनीतिक अपराध मुद्दा खेपे । अध्ययनमा उनले साहित्य मनपराउँछन् र अर्काे महत्वपूर्ण रुचि विषय सैन्य विज्ञान हो । पुस्तकहरुमा सेक्सपियरका नाटकबाट प्रभावित छन् । राजनैतिक क्षेत्रमा पुस्तकहरुमा उनलाई लेनिनको दृढता र माओको विश्लेषणयुक्त रचनाहरु मनपराउ छन् । माक्र्स, एङ्गेल्सको जनताप्रतिको सर्मपर्ण र आपसी एकता उनको प्रेरणाको श्रोत हो । नेपाली लेखनहरुमा खगेन्द्र संग्रौलाको कला र प्रस्तुतिको प्रसंसा गर्छन भने सिकेलालको विश्लेषण । उनी कवि बन्न चाहन्थे धेरै कविता र नाटक लेखपनि पनि संकलन र प्रकाशन गर्न नपाएकोमा दुःखी छन् । राजनैतिक विश्लेषण मुक्त लेखहरु उनका सयौ छन् तर पुस्तकको रुपमा छैनन् ।

प्रष्ट बक्ताका रुपमा परिचित क.प्रभाकरलाई पार्टीमा राजनैतिक र फौजी क्षमतायुक्त नेताका रुपमा लिने गरिएको छ । पार्टीका कमजोरीहरुलाई जनताको बीचमा स्वीकार गर्दै सच्याउदै जानु पर्ने उनको बुझाई छ । आफ्ना कमीहरुलाई स्पष्ट रुपमा स्वीकार गर्ने र सच्याउने उनको अर्काे गुण रहेको निकट नेताहरु बताउँछन् । कमरेड प्रभाकरसँग थुप्रै युद्ध मोर्चाका मर्मस्पर्सी अनुभूति छन् । धेरै रोचक र महत्वपूर्ण यात्रा स्मरणहरु छन् । ठूल्ठूला संकट, घेराबन्दीहरुमा समेत आफ्नो दृढतालाई कहिल्यै कमजोर हुन नदिने र चुनौतीहरुका बाबजूद पनि हाँस्दै सामानागर्ने उनको बानी रहेको छ । रुकुम खलंगा सेरीगाउँमा स्कन्द शर्मा र नर्मदा शर्माका छोरा जनार्दन प्रभाकर बन्नका लागि धेरै लामो संघर्षको प्रक्रियाबाट गुज्रिएका छन् ।

(यो लेख जनार्दन शर्माको आधिकारिक वेबसाइटमा भएको सामाग्रिको सहयोगमा तयार पारिएको हो) 

जनार्दन शर्मा

विशेष