विचार

के प्रहरीको डण्डा र भाटे कारबाहीले कोरोना नियन्त्रण हुन्छ?

स्वास्थ्य प्रोटोकलको पालना गरौ

के प्रहरीको डण्डा र भाटे कारबाहीले कोरोना नियन्त्रण हुन्छ?
  • माधव गुरागाईं 

चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको महाँमारी आज विश्वमा फैलिएको छ। कोरोना भाईरस आजको दिनमा सन्सारकै शक्तिशाली भाइरस हो। जसले विश्वमा शक्तिशाली भन्ने राष्ट्रलाई पनि घुँडा टेकाएको छ ।

चीनवाट सुरु भएका कारण अमेरिकाका पूर्वरास्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना भाईरसलाई चीनियाँ भाइरससम्म भन्न भ्याए। यति मात्रै होईनले चीनले समय छँदै बाहिरी दुनियाँलाई सुचना नदिएको, बायो इन्जिनियरिङ गरेर बनाएको, बायोलोजीकल हतियार बनाएर बाँकी विश्वलाई आक्रमण गरेकोलगायत अनेक आरोप खेप्यो।

चीनले पनि कोरोनाको दोस सम्पुर्ण रुपमा अमेरिकालाई लगायो। उसले अमेरिकी सेनाले चीनमा भाईरस फैलाएको आरोप लगाउँदै आफु माथि लागेको आरोपको खण्डन गर्यो । जसले जेसुकै भने पनि र जसलाई आरोप लगाए पनि कोरोना भाईरसले अमेरिका, युरोपलगायत संसारका सबै देशहरुका नागरिकलाई आतंकित बनायो। लाखौं लाखको ज्यान लियो। विश्वको अर्थतन्त्र तहसनस बनायो।  

यति वेला विश्वका धेरै देशहरुले कोरोनाको दोस्रो लहर खेपीरहेका छन्। नेपाल पनि यसको चपेटमा परेको छ। कोरोनाको पहिलो लहर सुरु हुँदा नेपाल यस वारेमा अनभिज्ञ थियो । भाईरसको वारेमा जानकारी लिन र दिन सक्ने जनशक्ति पनि नेपालमा थिए । त्यसैले अरुले जे भन्छन्, त्यसैलाई पत्याएर हिड्ने नेपालको वाध्यता थियो। त्यसैले अन्य देशको सिको गर्दै देशभरी लकडाउन गरियो। सर्वसाधारण देखि ठुलावडा सवै आतंकित भए। नयाँ भाईरसको वारेमा ज्ञान नहुँदा सबैकुरा बन्द गरिनु पनि स्वभाविक थियो । 

तर, पहिलो लहार कम हुनासाथ हामी फेरी सामान्य अवस्था आयौं। कोरोना केहि नै होईन भन्ने सोच वनाएर पिन्जडावाट छुटेको पंक्षि जस्तै डुल्यौं । सर्वसाधारण र ज्ञान नभएका नागरिकको कुरै छोडौं, देशका महान  विद्वान तथा मार्ग दर्शकहरु पनि ‘को भन्दा को कम’ को अवस्थामा देखिए। ‘जो अगुवा, उहि वाटो ...’ भने झै राजनीतिक दलका मुख्य नेताहरुले भाइरस फैलाउने अभियना नै चलाए। 

स्वास्थ्य विज्ञ तथा जानकार चिकित्सकहरुको चेतावनीलाई समेत वेवास्ता गरी सार्वजनिक स्थलमा भिडभाड जम्मा गर्ने, सभा सम्मेलन मार्फत मानव सागर तयार गर्ने सवालमा देशका प्रधानमन्त्री नै पहिलो नम्वरमा देखिए ।

प्रतिपक्षिको झाँको झार्न ‘देख्यौ, यस्तो हुन्छ आमसभा’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै सर्वसाधारणलाई कोरोनाको भुमरीमा धकेलेको कसैवाट लुकेको छैन । हुन त यसको सुरुवात गर्ने जस अरुलाई दिनु भनेको राजाबादीलाई अन्याय गर्नु जस्तै होला। उनीहरुले नै आन्दोलनको श्री गणेश गरे। त्यसपछि प्रधानमन्त्रीले दरबारमार्गमा आमसभा गर्न भ्याए। पूर्व प्रधानमन्त्रीहरु माधब नेपाल, पुस्पकमल दहाल ‘प्रचण्ड’, झलनाथ खनाल लगायतका नेताहरुले प्रधानमन्त्रीको भन्दा ठूलो जनसभा गर्दै ओलीलाई चिढ्याए। जनताको स्वास्थ्यसँग खेलवाड गर्दै कुलिएर भने–‘देख्यौ, आमसभा यस्तो पो हुन्छ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले’नि ठुला–साना जनसभालाई सम्वोधन गरे । त्यसैले कोरोना भाईरस फैलाउन उनको योगदा पनि महत्वपुर्ण नै मान्नु पर्छ । वीर गोरखालीका सन्तान जाबो भाइरसदेखि को डराउने? ‘हर्दीपानी, गुर्जो, खाक्कखुक्क’ भन्दै उल्टो कोरोनालाई गिज्याउने, सेखि झार्ने र गिजोल्ने काम सवैले गरे।

पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारले त भारतमा गएर कुम्भ स्नान गर्न पनि भ्याए। कुम्भ स्नान ज्ञानेन्द्रका लागि ‘कोरोना पोखरी’ सावित भयो। त्रिभुवन विमानस्थलमा झर्न नभ्याउँदै परिवारै कोरोना संक्रमति भयो। अहिले पनि ज्ञानेन्द्र र कोमल नर्भिक अस्पतलको वेडमा छन् ।

कुरा यतिमा मात्र सिमित छैन, अहिले कोरोना संक्रमणले दैनिक नयाँ–नयाँ रेकर्ड वनाईरहेको छ । दैनिक झण्डै १० हजारको हाराहारीमा मानिसहरु संक्रति भईरहेका छन् भने सरदर ५०÷६० जनाको दरले मृत्यु भईरहेको छ। मर्ने त मरेर गए, जो वाँचेका छन, उनीहरु पनि उपचार नपाएर मृत्यु कुरेर वसोका छन् । अझै के–के हुने हो भविष्यवाणी गर्न सक्ने अवस्था छैन। विज्ञहरुका अनुसार कोरोनाको नयाँ भेरियन्ट त झन शक्तिशाली छ। त्यसैले समयमै होस पुर्याउन नसके भोलीको अवस्था अनुमान गरेभन्दा खराव भएर आउन सक्छ।

देशमा अहिले लकडाउन छ। जसले जिवनयापन झन असहज वताएको छ, मानिसहरु आक्रान्त छन्। पहिलो लकडाउनमा मानिसहरुलाई घरमा थुनेर राखियो। देश नै ठप्प बनाइयो। धेरैले आत्माहत्या गर्ने स्थिति बन्यो। काठमाडौवाट घर जान पनि मानिसले २२÷२५ दिनसम्म हिड्नु पर्ने अवस्था आयो। काठमाण्डौंवाट घर जान चाहनेहरु देशका कुना कुनासम्म हिडेरै पुगे। कतिपय ठाउँमा त बाहिर हिडडुल गर्ने मानिसलाइ प्रहरीले भाटेकार्बाही नै गर्यो, कान समातेर उठबस गर्नेदेखि, साईकल वोकेर उठवस गरेका भिडियो सार्वजनिक भए। यस्ता यातनावाट सर्वसाधारण मात्र होईन, चिकित्सकहरु पनि हैरान भए। नागरिकलाई दैनिक रोजगार गरेर बाच्न पनि हम्मे हम्मे पर्यो। निम्न आर्थिक अबस्था हुने देखि उच्च बर्गिय र धनाढ्यहरु समेत कंगाल हुने अवस्था आयो।

अहिले पनि यो अवस्थाले हामीलाई अझै छोडेको छैन। पहिलो लहरको गल्तिवाट सरकारले पाठ सिक्ने र शिक्षा लिने काम गरेन । पहिला त सबै अनभिज्ञ थियौं, त्यसैले लकडाउन भोग्यौं। जानी नजानी जे–जे भयो, भयो। बिगत सम्झनामा छ। तर हामिले अहिले पनि गल्ति गरीरहेकै छौं ।

सर्वप्रथम सरकारको कुरा गरौ। सरकारले यत्रो लामो समयमा पनि पर्याप्त भ्याक्सिन ल्याउन किन पहल गरेन ? राजनैतिक खिचातानी गर्न र पोलिटिकल थ्रीलर देखाउन माहिर सरकारले किन पर्याप्त तयारी गरेन । आवश्यक्ता अनुसारका अस्पताल तथा श्रोत र साधनको जोहो गर्न किन ध्यान दिईएन। कोरोना भाईरसको महामारी हुँदाहुँदा त्यसवाट वच्न नागरिकलाई सचेत वनाउने काम किन गरिएन ?  

दोस्रो कुरा हामिले पनि कोरोनाबाट बच्न स्वास्थ प्रोटोकल कति पालना गर्यौ? इमान्दारी पुर्बक भन्नु पर्दा माक्स लगाउने, साबुन पानी वा सेनिटाइजरले हात सफा गर्ने, घर÷ कार्यलय तथा सार्बजनिक स्थलहरुमा सेनिटाइज निरन्तर प्रयोग गरिरहने, सामाजिक दुरि कायम गर्नेलगायतका क्रियाकलाप हामिले कति गर्यौ र गरायौ? यि यावत कुरा हेर्ने हो भने हामीले पनि पक्कै लापरबाही गर्यौ। नेताहरुको कुरामा हौसिएर वुर्कुसी मार्दै आमसभामा कुदेकै हौ। जे होस, वितेका दिनलाई अव सुधार गर्न सकिदैन। तर, आगामी दिनलाई आफु अनुकुल सहज वनाउन भने पक्कै सकिन्छ। त्यसैले अवका दिनमा नागरिक र सरकार दुवै पक्षले होसियारी पुर्वक र सुझवुझपुर्ण कदम चाल्नु पर्ने आवश्यक्ता देखिएको छ ।

देश लकडाउनमा छ। नागरिकको अबस्था दिनदिनै नाजुक भइरहेको छ। हामी आफ्नै घरमा बन्दी बनेको अवस्था छ । तर पनि मानिसहरु संक्रमित हुने दर घटेको छैन, अझै वढ्दो क्रममै छ। सर्वसाधारण मात्र होईन, सांसद तथा मन्त्री समेत कोरोनाको चपेटमा परेका छन् । 

प्रतिनिधिसभाका कुल २६७/२७१ मध्ये चारजना निलम्बित) सांसद मध्ये २६ जना सांसद र दुई जना मन्त्री संक्रमित भएका छन् । 

अर्कोतर्फ सरकारसँग सबै जनतालाई राहत दिन सक्ने संचित पुँजी छैन। यस्तो अवस्थामा के लकडाउन नै अन्तिम विकल्प हो त ? लकडाउनले मात्रै समस्या समाधान गर्ने हो र? त्यसमाथि केहि घण्टा समय निर्धारण गरेर खुल्ने पसलका कारण भिडभाड वढ्छ की घट्छ ? र यसले संक्रमण घटाउँछ की वढाउँछ ? अस्पतालमा भिडभाड कति छ? यस्ता स्थानहरुमा भिड नियन्त्रण गर्न सरकारका योजना के छन् ? यि विषयमा पनि सोच्नु पर्ने वेला आएको छ । यदी नागरिकलाई वन्दि वनाएरै समस्याको समाधान खोज्ने हो भने राज्यले नागरिकलाई राहत दिनुपर्ने होइन?

अर्कोतर्फ सरकारले अहिले बिरामिको उपचार गर्न सकिरहेको छैन। निजि अस्पतालहरुले उपचारका नाममा लुट मच्चाईरहेका छन् । बर्षदिन अगाडिको कुरा हो, सरकारी अस्पतालमा आइसियु खाली नहुँदा निजी अस्पतालमा रिफर गरिन्थ्यो। विरामी रिफर गरे बापत सरकारी अस्पतालका चिकित्सकहरुले निजी अस्पतालबाट कमिसन असुल्थे। नाम चलेका अस्पताल जस्तै मेडिसिटी, बयोदया, ह्याम्स, ग्रान्डी, नर्भिक, कान्तिपुर, स्टारलगायतका अस्पतालले बिरामीले गरेको खर्चको आधारमा ७ देखि १० प्रतिसतसम्म कमिसन सरकारी अस्पतालका चिकित्सकहरुलाइ बुझाउथे। यतिमात्रै होईन, एम्बुलेन्सका चालक तथा दलालहरुले पनि बिरामी अस्पताल पुर्याई दिए वापत  कमिसन पाउँथे। पाटन अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, टिचिङ अस्पतालको एमर्जेन्सी वार्ड नजिकै चिया र चुरोटको चुस्की लगाउदै  दलालहरु बिरामी कुरिरहेका हुन्थे। निजी एम्बुलेन्सहरु कहिले गम्भीर बिरामीहरु रिफर हुन्छन् र निजी अस्पताल पुर्याएर कमिसन खाउँ भनेर ढुकीरहेका हुन्थे।

निजी अस्पतालमा लगेर बिरामीहरुलाइ लुट्नसम्म लुटिन्थ्यो। देशका कुना कन्दरामा अहिले’नि निजि अस्पतालका एजेन्ट छन्। गाडी नपुग्ने ठाउँमा रहेका बिरामिलाइ निजी अस्पतालमा ल्याउन गाउँ–गाउँमा हेलिप्याड बनाइएको छ, हेलिकप्टरहरु तयार छन। 

हामीले स्वास्थ प्रोटोकलको पालना नगरेकै कारण अहिले कोरोनाको संक्रमण वढिरहेको छ। पैसा हुनेहरु अस्पताल गएर उपचार गर्ने र नहुने हरु उपचार बिहिन हुनुपर्ने अबस्था छ। काठमाडौका निजी अस्पतालहरुलाई दशैं जस्तो भएको छ। रिसोर्टको मेनु जस्तो हस्पिटलको मेनु बन्न थालेको छ। बेड पाउन मुस्किल छ। आइसियु नपाएर काठमाडौ र दाङका बिरामी झापासम्म पुर्याउन थालिएको छ। के यो मेडिकल माफियाहरुलाई लुट्न दिने काम भइरहेको होइन र? 

त्यसैले यो लकडाउन परिमार्जन गर्न जरुरी छ। पुरै बन्दाबदी गर्न भन्दा पनि माक्स लगाउने, साबुन पानी बा सेनिटाइजरले हात सफा गर्ने, घर÷कार्यालय तथा सार्बजनिक स्थानहरुमा सेनिटाइज निरन्तर गरिराख्ने, सामाजिक दुरी कायम गर्ने जस्ता स्वास्थ प्रोटोकल पालना गर्न कडाइ गर्नु जरुरी छ । स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई कडाभन्दा कडा कार्बाहि गर्नु जरुरी छ। गरिखाने जनतालाई प्रहरीको डण्डा लगाएर मानवता बिरोधि काम गर्नु अपराध हो। त्यसैले कमजोर आर्थिक अवस्था भएका नागरिकको एउटै मात्रै माग छ– कि राहत देउ, कि गरिखाने बाताबरण बनाइदेउ। घरमा थुनेर नराख।  निजि अस्पताललाई नियमन गर। राजनैतिक खिचातानीको निम्ती सभा सम्मेल नगर।

लकडाउनको विकल्प कोरोना भाइरस चीनियाँ भाइरस