समाचार विचार

कानुन व्यवसायः वकालत र समाजप्रतिको दायित्व

विशाल भट्टराई

कानुन व्यवसायः वकालत र समाजप्रतिको दायित्व

ऐतिहासिक पृष्ठभूमि
पुरातन अवधारणा अनुसार कुनै मुद्दामा पक्षको प्रतिनिधिको रूपमा अदालतमा बहस पैरवी गर्ने व्यक्ति कानुन व्यवसायी वा वकिल हो । मानव अधिकारको दर्शनले भने वकिललाई व्यक्तिको जीवन, स्वतन्त्रता, सम्पत्ति र प्रतिष्ठाको प्रतिरक्षामा अग्र पङ्तिको मानव अधिकार प्रतिरक्षक मान्दछ । संसारका अधिकांश देशमा कानुन व्यवसायलाई सदाचारपूर्ण प्रतिष्ठित र मर्यादित क्षेत्र र पेशाका रूपमै लिइन्छ । कानुन व्यवसाय न्याय व्यवस्थाको नयाँ प्रणालीको उपज जस्तो देखिए पनि यसको इतिहास अत्यन्त लामो छ । उदाहरणका लागि, राजर्षि जनकले कसैलाई कुनै दण्ड दिनुपर्ने भएमा धर्मासनमा कम्तीमा दुई जना विद्वानसँग शास्त्रीय राय अनिवार्य लिन्थे । त्यतिखेरको दण्ड गर्ने धर्मासन (इजलास) को नामै त्रयवरा (तीन जनाको रायबाट निर्णयमा पुग्ने संयन्त्र) भनिन्थ्यो । जे होस् विश्वका विभिन्न समाजका न्याय प्रणालीमा धेरै पहिलेदेखि विधिविधान र शास्त्रका ज्ञाताको सहयोग लिने काम परापूर्वकालदेखि नै हुँदै आएको हो ।

पाश्चात्य समाजमा निजी पेशाका रूपमा कानुन व्यवसाय गर्ने प्रचलनको सुरुआत ग्रिस र रोमनबाट इसापूर्व ४८० तिर भएको मानिन्छ । सम्राट क्लाउडियसको समयपश्चात् वकिलहरू खुल्ला रूपमा वकालत पेशाको अभ्यास गर्न सक्थे । रोमन साम्राज्य र बाइजान्टिन साम्राज्यको बखत कानुन व्यवसाय बिस्तारै कुशल र विनियमित पेशाको रूपमा विकास भयो । १२ औं शताब्दीमा कानुनको नयाँ अध्ययनको पुर्नरुत्थान भएपछि रोमनवादी शिक्षामा विश्वविद्यालयबाट स्नातक गरेका वकिलहरूले अदालतमा मौखिक बहस गर्ने पद्धतिको विकास भएको मानिन्छ ।

आधुनिक कानुन व्यवसायको जननी मानिने बेलायतमा सन् १०६६ को हेस्टिंग्सको लडाइँमा राजा विलियम प्रथमले आफ्नो ठूलो विजय प्राप्त गरेपछि रोमनको अभ्यासबाट प्रभावित भएर राजसेवामा कार्यरत कर्मचारी र प्रारम्भिक न्यायाधीशहरूले कानुन व्यवसायलाई निजी पेशाका रूपमा वरण गर्न थालेको पाइन्छ । सन् १२१५ मा म्याग्नाकार्टा जारी भएपछि कानुन व्यवसायको संस्थागत रूपमा सुरुआत भएको देखिन्छ । १६ औं शताब्दीमा चान्सरी अदालतको स्थापनापछि वकिललाई सोलिसिटर र ब्यारिस्टरमा विभाजित गरियो । अदालतमा मुद्दाको सुनुवाइ हुन थाले लगत्तै बहसको अभ्यास सुरु भयो । मुद्दाका पक्षहरूले बहसमा आफ्ना तर्फबाट शिक्षित र प्रतिष्ठित बोल्न सक्ने व्यक्ति लिएर जान थाले । 

संयुक्त राज्य अमेरिकामा १७ औं शताब्दीसम्म न्याय सम्पादन प्रक्रिया एकदम अनौपचारिक थियो । न्यायाधीशले मुद्दामा संलग्न व्यक्तिहरुसँग प्रत्यक्ष छलफल गर्थे । अदालतमा मानिसहरूले आफ्नो प्रतिनिधित्व आफै गर्थे जसको फलस्वरूप केहीलाई फाइदा हुन्थ्यो र केहीलाई हानि । सन् १७८० को दशकदेखि न्यायिक प्रक्रियाहरू धेरै औपचारिक हुँदै गएपछि अदालतमा बहस गरी मजबुत तर्क दिएर मुद्दा जित्न योग्यता भएका वकिल चाहिन्छ भन्ने धारणालाई व्यवहारमा अवलम्बन गर्न थालेको देखिन्छ ।

भारतमा बेलायती शासनको आगमनको रूपमा कानुनी पेशाको इतिहास पाइन्छ । सन् १७२६ मा मद्रास र कलकत्तामा मेयर अदालतको स्थापना हुनुभन्दा अघि त्यहाँ कुनै कानुन व्यवसायीहरू थिएनन् । सन् १८७९ मा ‘कानुनी व्यवसायी ऐन’ जारी भएपछि कानुन व्यवसायको आधुनिक विकास हुँदै गयो ।

नेपालको इतिहास हेर्दा वि.सं. १४३६ मा बनेको न्याय विकासिनीमा न्यायासनमा बसेको राजाले दण्ड दिने भएकोले उसलाई यमराजको रूपमा लिइने र त्यसरी राजा रहेका ठाउँमा आसन राखेर ब्राह्मणलाई अनिवार्य राख्नुपर्ने उल्लेख छ । यसले त्यस समयमा पनि न्याय सम्पादन गर्दा राजाले वकिलको रूपमा विद्वान् ब्राह्मणको सहयोग लिने गरेको देखिन्छ । उता सिँजा राज्यमा “कच्चहरिआ“ बसालेरै निसाफ गर्ने र पक्षविपक्षका कुरा सुन्ने सिलसिलामा ’राई’ ले विद्वानको सहयोग लिने गरेको देखिन्छ । 

सेन, शाह र राणाकालमा आफ्ना कुरा आफै भन्न नसक्नेलाई “बोकाहा’’ को सहयोग लिन पाउने परिपाटी विकास हुँदै आयो । यही बोकाहाको परिपाटी पछि आएर निजी कानुन व्यवसायको रूपमा रूपान्तरण हुन आएको पाइन्छ । राजा सुरेन्द्रविक्रम शाहको पालामा वि.सं. १९१० मा मुलुकी ऐन जारी भयो । उक्त ऐनको अदालती बन्दोबस्त महलको १६ नं. मा मुद्दाका झगडियाले आफ्नो कुरा अदालतमा गएर न्यायाधीशसामु आफै भन्न पाउने व्यवस्था रहेको थियो । तर बोल्न नजान्ने वा निरक्षरहरूलाई प्राकृतिक न्यायबाट बञ्चित गर्नु हुँदैन भन्ने मान्यताका आधारमा ‘आफ्नो कुरा आफै भन्न नसक्ने झगडियाले आफ्नो मुद्दाको व्यहोरा जान्ने व्यक्तिलाई अदालतमा उपस्थित गराउन पाउने छन्’ भन्ने विशेष व्यवस्था गरिएको थियो । मुद्दाको व्यहोरा जानेर अर्काको मुद्दा बोकेर जाने र अदालतमा उपस्थित भई उसका कुरा भनिदिने व्यक्ति ‘बोकाहा’  हो । 
वि.सं. २००८ सालमा प्रधान न्यायालयको स्थापना हुँदै वि.सं. २०१३ सालमा सर्वोच्च अदालत नियमावलीले प्रथम पटक कानुन व्यवसायीलाई ‘वकिल’ भन्ने शब्दद्वारा परिचित गराएको देखिन्छ । यसर्थ वि.सं. २०१३ सालबाट नेपालमा कानुन व्यवसाय निजी पेशाका रूपमा संस्थागत रूपले सुरुआत भएको पाइन्छ ।

संविधानले चिनेको पेशा
वकिल त्यस्तो पेसेवर व्यक्ति हो जसलाई देशको मूल कानुन संविधानले चिनेको हुन्छ । अन्तराष्ट्रिय कानुनमा न्यायसम्बन्धी हक अन्तर्गत कुनै व्यक्तिलाई आफूले रोजेको कानुन व्यवसायीसँग सल्लाह वा परामर्श लिन पाउने तथा कानुन व्यवसायीद्वारा मुद्दाको पुर्पक्ष गर्ने हक सुनिश्चित गरिएको छ । त्यसलाई अधिकांश देशका संविधानले समेटेका छन् । नेपालको संविधान, २०१९ देखि हालसम्मका सबै संविधानहरुमा समेत मौलिक हकको रोहमा ‘कानुन व्यवसायी’ शब्द समाविष्ट हुँदै आएको छ । यस अर्थमा ‘कानुन व्यवसाय’ एक संवेदनशील पेशाका रूपमा न्याय सम्पादनको महत्त्वपूर्ण  र अपरिहार्य अंग भएको छ ।

समाजमा विविध प्रकारका मान्छे हुन्छन् र विवाद पनि फरक विषयवस्तुमा त्यसै गरी निस्कन्छन् । प्रायः सबै प्रकृतिका विवाद समाधानका निमित्त अन्तिम उपायको रूपमा अदालतमा पुग्छन् । निर्दोषिताको सिद्धान्त अनुसार अदालतले निर्णय गर्नुअघि हरेक मानिस निर्दोष मानिन्छ । अदालत र न्यायाधीशले फैसला गरेर नतोकेसम्म ऊ अपराधी हुँदैन । संविधानको धारा २० को (५) मा ‘कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसूर प्रमाणित नभएसम्म कसूरदार मानिने छैन’ भनी लेखिएको छ । अर्थात् अदालतले अन्तिम फैसला नगर्दासम्म अभियुक्त निर्दोष नै मानिन्छ । कसैले आफूमाथि अभियोग लगाए पनि आफू निर्दोष भएको प्रमाण पु¥याएमा उसले सजायबाट छुटकारा पाउँछ । फौजदारी मुद्दामा वकिल नभईकन सुनुवाई समेत गरिँदैन । 

कुनै मुद्दा अदालतसमक्ष पुगेपछि आफ्ना कुरा राख्न कानुन व्यवसायी राख्ने संवैधानिक अधिकार हो । विवादका पक्ष वा विपक्षले आफ्ना कुरा राम्रोसँग न्यायाधीशसमक्ष राख्न सकियोस् भनेर कानुनको ज्ञान भएको मान्छेको सहायता लिने हो । वकिलले गर्ने मुख्य काम न्यायाधीशले फैसला गर्दा चाहिने कानुन, कानुनको व्याख्या, तथ्यमाथिको प्रश्न, कानूनी प्रश्न र न्याय–अन्यायका कुरा बेञ्च सामु प्रस्तुत गर्ने हो । उसले आफैं फैसला गर्ने होइन । वकिलले न्याय सम्पादनको क्रममा अदालतमा सक्षम सहयोगीको भूमिका मात्र निर्वाह गर्ने हो । 

नेपाली समाजको आँखामा ‘वकिल’
विश्वव्यापी रूपमा सम्मानित रहँदै र त्यसै रूपमा हेरिदै आएको कानुन व्यवसायको छवि नेपाली समाजमा भने त्यस्तै सम्मानित छैन । नेपालमा कानुन व्यवसायलाई अस्तित्वमा रहेका विभिन्न पेशा मध्येको औसत पेशाकै रूपमा हेरिन्छ । चिकित्सक, प्राविधिक, प्रशासक वा सरकारी कर्मचारीको जस्तो सम्मानजनक काम वकालत पनि हो भन्ने ठानिँदैन । यस अर्थमा वकालत वा कानुन व्यवसायलाई निकै हेय दृष्टिकोण राखिएको देखिन्छ । 
समयसँगै कानुन व्यवसायीको प्रतिष्ठा र मर्यादा केही वर्षयता क्रमैले खस्कँदै गएको छ । वकिललाई झुटो बोल्ने, कालोलाई सेतो र सेतोलाई कालो गराउने, अपराधीलाई छुटाउने, भ्रष्टलाई सफाइ दिलाउने, दुर्लभ कलेजो भएका मान्छे, कानूनी पन्जाबाट छुटकारा दिलाउने कानुनका खेलाडी जस्ता अनेकौं संज्ञा दिएर बुझ्ने चलन वर्तमानमा पनि जीवितै रहेको छ । समाजमा वकिललाई दोहोरो व्यक्तित्वका साथ बाँचिरहेको आरोप निरन्तर लागिरहन्छ । आफूभित्रको दोहोरो चरित्रलाई ओझेलमा राखेर समाजमा सभ्य, व्यवसायिक, इमानदार, विधिको शासनको पक्षधर र स्वतन्त्रताको पक्षमा हुङ्कार गर्ने यी वकिलको अर्को कालो पाटो पनि गुप्त रहेको हुन्छ भन्ने बुझाइ र भ्रामक प्रचारले कानुन व्यवसायीको साख जनस्तरमा दिनानुदिन घट्दै गएको छ ।

पेशागत आचारका हिसाबले वकिललाई आफ्नो पक्ष, विपक्षी र अदालतसामु झूट बोल्न अनुमति हुँदैन । तर मुद्दाको विषयवस्तुलाई हेर्ने दृष्टिकोण वकिलको फरक हुन सक्छ । अदालतमा मुद्दाको गलत तथ्य र कथन भने, विपक्षीको वकिलले प्रतिवाद गर्छ । कानुनको प्रतिकूल व्याख्या गरे न्यायाधीशले प्रश्न उठाएर सुधार्ने प्रशस्तै ठाउँ रहन्छ । वकिल अदालतमा आफ्नो पक्षको तर्फबाट प्रतिनिधित्व गरेर पक्षको सर्वोत्तम हित हुने गरी वकालत गर्न बाध्य छ तर पक्षको अनुचित स्वार्थको उसले पक्षपोषण गर्दैन । वकिलले कानुनको अन्तर्निहित बौद्धिकताको प्रयोग न्यायाधीशलाई आफ्नो तर्क र बहसमा विश्वस्त गराउन प्रयोग गर्दछ । न्याय सम्पादनको क्रममा कानुन राज्यका, तथ्य प्रमाण र पक्षका र दर्शन (सिद्धान्त) वकिलको हुन्छ । यस कारण वकिलले आफ्नो पेशागत दायित्व निर्वाह गर्दा यसैको परिधिमा सीमित रहन्छ । दुनियाँ यो तथ्यबारे प्रायः अनभिज्ञै हुन्छ । 

कसैले जाहेरी दिँदैमा कोही दोषी हुँदैन । कसैले रिस उठेका भरमा प्रहरीले गिद्दे दृष्टि लगाएर कसैलाई एक पोको लागूऔषध गोजीमा राखी दिँदैमा ऊ लागू औषध कारोबारी भई हाल्दैन । लागेको आरोप वस्तुनिष्ठ प्रमाणबाट पुष्टि नहुँदासम्म कसैलाई पनि बिना कुनै आधार संगिन अपराधमा कसैलाई दोषी ठहर गर्न मिल्दैन । तर सरकारी पक्षले कतिपय आपराधिक मुद्दामा राम्रोसँग अनुसन्धान नगरेको वा अभियोजन गर्दा कानुनको गलत प्रयोग गरेकै कारण दोषी व्यक्तिलाई समेत वकिलले सफाइ दिलायो भनेर आलोचना गरिन्छ । यसो गरिनु कदापि जायज होइन ।

व्यवसाय र सामाजिक दायित्वबारे गन्जागोल बुझाइ
वकिलका व्यवसायप्रतिका र समाजप्रतिका दायित्व अलग–अलग हुन्छन् । व्यावसायिक हिसाबले एउटा पक्ष र वकिल बीचको सम्बन्ध न्यायका निमित्त अनिवार्य हुन्छ । पक्षको सर्वोत्तम हित कानुनी सन्दर्भको कुन बिन्दुमा छ भन्ने कुरा नै वकिलको मूल लक्ष्य हुन्छ । यो सामाजिक अपेक्षाभन्दा बिलकुलै फरक हुन्छ । न्यायका मान्य सिद्धान्तभित्र रहेर पक्षको सर्वोत्तम हितको खोजी समाजको दृष्टिमा अनपेक्षित कुरा हुन सक्छ तर व्यावसायको धर्मले त्यसलाई अन्यथा गर्न नपाउने गरी वकिललाई बाँधेको हुन्छ । न्यायाधीशले दुवै पक्षको कुरा सुनेर निर्णय गर्नमा यो व्यावसायिक प्रस्तुतिको भारले सहयोग पुग्ने हो । वकिलले पक्षको बहकाउमा प्रस्तुत हुने होइन । न्याय र कानुनका सिद्धान्त र दायराबाट अदालतलाई सघाउने हो । 
आमसमाजले भने सामान्यतः वस्तुनिष्ठताका आधारमा होइन भावनाका आधारमा न्याय अपेक्षा गर्छ । पीडितको रोदनबाट द्रवीभूत मानसिकताले न्यायलाई समाजले हेरेको हुन्छ । कसुरदारका पनि अधिकार हुन्छन् भन्ने कुरा समाजले प्रायः इन्कार गर्छ र प्रतिशोधरूपी ठाडो दण्डको अपेक्षा गर्छ । न्याय र कानुनका प्रतिमानले वकिललाई त्यस्तो भावुकतातर्फ जानबाट रोक्छ । उसले समाजको अपेक्षाको विपरीतमा प्रस्तुत हुनुपर्ने हुन्छ । अनि वकिल फटाहा, अपराधीका मतियार भनेर दुनियाले उसको कटु आलोचना गर्छ । समाजले वकिलको व्यावसायिक अभिभारा र मर्दाया नबुझिदिनाले र उसको व्यावसायिक अभिभारालाई समाजप्रतिको दायित्व ठानिनाले अनावश्यक रूपमा वकालत पेशालाई आलोचना गरिएको पाइन्छ । 

अहिले किन कानुनी क्षेत्रमा रहेका कानुन व्यवसायीप्रति नागरिकहरुको श्रद्धा र सम्मान छैन? वाह! फलानो कस्तो राम्रो वकिल भन्ने किन छैन? किनभने धेरैलाई रातारात चर्चित वकिल हुनु छ, धेरै पैसा कमाउनु छ, ठूलो मान्छे बन्नु छ । सबै वकिलहरू एक हुन् । न्यायको दियो बालिरहनका लागि कटिबद्ध छन् भन्ने कुरा आफैमा अर्धसत्य हो । न्याय क्षेत्रमा भइरहेको विचलनमा वकिलकै पहिचान भएका मानिसहरूको आचारहीन क्रियाकलापको भूमिका छ । वकिल आफैले  पेशाप्रतिको दायित्व र समाजप्रतिको दायित्वमा सन्तुलन कायम नगर्नाले पनि यो गन्जागोल बुझाइको भुँवरीमा कानुन व्यवसाय परेको छ । 

नैतिकताको प्रश्न
वकिलको नैतिकताले उसको व्यक्तित्व कुन रूपमा स्थापित गर्ने कुरा निर्धारण गर्दछ । वकिलमा नैतिकता र मानवता हुन्न भनी बारम्बार टीकाटिप्पणी हुने गरेको छन् । कानुनी रुपमा प्रश्न उठाउन नमिले पनि कतिपय मुद्दामा वकिलहरुको संलग्नतालाई समाजले नैतिक रुपमा अस्वीकार गर्न सक्छ । वकिलले कुनै अमूक व्यक्तिको मुद्दा लड्दिनँ भनी आफैं निर्णय गर्न त पाउँछ तर उसले यो वा त्यो मुद्दा लड्न पाउँदैन वा हुँदैन भनेर अरू कुनै व्यक्तिले भन्न मिल्दैन । कसलाई कानूनी राय दिने कसलाई नदिने भन्ने अधिकार वकिललाई हुन्छ । यो वकिलको विवेकाधीन स्वनिर्णय विषय हो ।

जस्तोसुकै अपराध गरे पनि वकिलले प्रतिरक्षा गर्नैपर्छ? अहिले हजारौं कानुन व्यवसायीको इज्जतमाथि उठेको गम्भीर प्रश्न यही हो । नेपाल कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायीको आचारसंहितामा कानुन व्यवसायीले गर्न नहुने भनी थुप्रै नियमहरू बनाएको छ । जसमा कानुन व्यवसायीले कस्ता मुद्दा हेर्न हुने र कस्ता नहुने भन्ने व्यवस्था छैन । तर परिवेश अनुरूप मुद्दा हेर्न वकिलले विचार पु¥याउनुपर्छ । नैतिकतको विषय अलग हो, कानूनी विषय अलग हो । पेशाको आधारमा नैतिकताको व्यापार हुनु हुँदैन । व्यवसाय र नैतिकतालाई कसरी साथ–साथै लैजाने भन्ने तर्फ वकिलले सोच्नुपर्ने समय आएको छ ।

पछिल्लो समयमा स्वार्थको द्वन्द्वभित्र फसेर वकिलहरुको चरित्र र न्यायिक अनुशासन दिनानुदिन स्खलित हुँदै गएको छ जसले आमजनमानसमा कानुन व्यवसायप्रति वितृष्णा बढिरहेको छ । यसले कानुन व्यवसायीको गौरवपूर्ण अतीत र प्रतिष्ठा छाँयामा पर्ने चुनौती बढेको छ । कानुन व्यवसायीको धुमलिएको छवि पवित्रता उन्मुख गराउन कानुन जगत र न्यायका याचकहरुको सोच र व्यवहारमा ठोस रुपमा परिवर्तन आउन नितान्त जरुरी रहेको छ ।

र अन्त्यमा,
उचित न्याय सम्पादन र कानूनी शासनको लागि व्यवस्थित र स्वतन्त्र कानूनी पेशा एक पूर्वसर्त  हो । वकिल पीडितहरूको न्यायको पहिलो द्वार र आश्रय हो । समाजले अपराधी वा पीडक भनेर औल्याएको व्यक्ति न्याय र कानुनका दृष्टिले उत्पीडित भैरहेको हुन्छ । यसैले वकिल अपराधी र पापीहरूको प्रतिनिध होइन ऊ त त्यस्ता उत्पीडितहरूको को सारथी हो जसको जीवन, स्वतन्त्रता र सम्पत्ति विधिकै शासनका नाममा खोसिइरहेको हुन्छ । एउटा मकैको दाना रोपेर घोगा फल्न तीन–चार महिना लाग्छ । धान रोपेर बाला झुल्न तीन–चार महिना लाग्छ । एउटा शिशु जन्मिन आमाले नौ महिना गर्भमा बोक्नुपर्छ । त्यस्तै एउटा वकिलको तार्किक सिकाइको भ्रूण हुर्केर परिपक्व बन्न धेरै समय लाग्छ । राम्रो वकिल बन्न कानुनका विभिन्न विषयवस्तुभित्र खारिएर मजबुत हुँदै जानुपर्छ । न्यायाधीश बन्न जति सजिलो छ तर एउटा असल वकिल बन्न उत्तकै कठिन छ । अब समाजमा वकिलमाथि सिर्जित अशोभनीय दाग स्वच्छ पारी कानुन व्यवसायको साख जोगाउने जिम्मेवारी वकिलहरूकै काँधमा छ । विभिन्न लालसा वा लोभका चङ्गुल, क्षणिक लाभ र स्वार्थको दौड, त्रास र भयमा अल्झिएर सामाजिक अभियन्ताको मूल कर्तव्यबाट कदापि विचलित हुनु हुँदैन । विधिको शासन र संवैधानिक सर्वोच्चता, स्वतन्त्र र सक्षम न्यायपालिका सहित प्रतिष्ठित र मर्यादित कानुन व्यवसाय स्थापित गर्न सम्पूर्ण कानुन व्यवसायी एकै थलोमा उभिनु जरुरी छ ।
(भट्टराई कानुन व्यवसायी हुन ।)