समाचार अर्थ रोजगार देश प्रदेश १

वन्द हुनै लागेको उदयपुर सिमेन्ट उद्योगले यसरी पायो जिवनदान, १२ वर्षपछि विक्रिमा नयाँ रेकर्ड 

वन्द हुनै लागेको उदयपुर सिमेन्ट उद्योगले यसरी पायो जिवनदान, १२ वर्षपछि विक्रिमा नयाँ रेकर्ड 

साधन श्रोतको उचित ब्यवस्थापन तथा समन्वयकारी भुमिकाको अभावका कारण वन्द हुनै लागेको उदयपुरको त्रियुगा नगरपालिका स्थित उदयपुर सिमेन्ट उद्योगले एक पटक फेरी रफ्तार समाएको छ ।

कोईला, जिप्सनलगायतका कच्चा पदार्थ अभावमा लगभग वन्द अवस्थामा पुगेको र दैनिक मजदुर आन्दोलनले उत्पादनत तथा विक्रि वितरण प्रभावित भईरहेका वेला सरकारले नयाँ महाप्रवन्धक (जिएम) नियुक्ति गरेर पठाएपछि उद्योगले पुनः सहज रुपमा सिमेन्ट उत्पादन सुरु गरेको छ ।

दक्षिण एसियाकै उत्कृष्ट गुणस्तरयुक्त गैंडा सिमेन्ट उत्पादन र विक्रि वितरण गर्दै आएको उद्योगले पछिल्लो पटक एकैदिन साढे १७ हजार बढी बोरा सिमेन्ट बिक्री गरेर किर्तीमान कायम गरेको छ। पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा सिमेन्ट बिगत १२ वर्षयता एकैदिन सबभन्दा धेरै बिक्री भएको यो पहिलो रेकर्ड हो ।

उदयपुर सिमेन्ट उद्योग विगत दुई वर्षसम्म नेतृत्वविहीन अवस्थामा रह्यो। तर, गत माघ १ गतेदेखि गोपीकृष्ण न्यौपानेले जिएमको नेतृत्व सम्हालेपछि उद्योगको सवै क्षेत्रमा सकारात्मक प्रभावहरु देखिएका छन् । उद्योगले गत वैशाख ६ गते एकैदिन १७ हजार ३ सय ६४ बोरा सिमेन्ट बिक्री गरेको छ। सो बिक्रीबाट एकैदिन उद्योगले १ करोड २९ लाख ५० हजार ७१ रुपैयाँ प्राप्त गरको छ।

०४९ सालदेखि व्यवसायिक उत्पादन थालेको उद्योगले स्थापनापछि ०५५ सालतिर एकपटक धेरै सिमेन्छ बिक्री गरेको थियो । त्यसयता बढीमा १२ हजार बोराभन्दा सिमेन्ट विक्रि गरेको रेकर्ड छ । पछिल्लो समय भने अप्रत्यासित रुपमा सिमेन्ट बिक्रीदर वढेको कर्मचारीहरु वताउँछन् । उनीहरुका अनुसार अहिले दैनिक सरदर ८ देखि १२÷१३ हजार बोरा सिमेन्ट बजार जाने गरेको छ। 

‘माघमा पहिलो पटक म उद्योगमा आउँदा कोईला, जिप्सनलगायत कच्चा पदार्थ नभएर सिमेन्ट उत्पादन वन्द थियो’ जिएम न्यौपाने भन्छन्–‘लगभग १० दिन भित्रमा आवश्यक सामग्री जुटाएर उद्योग सञ्चालनमा ल्याइयो। त्यसपछि माघमा मात्रै २ लाख ११ हजार १ सय ३८ बोरा सिमेन्ट विक्रि भयो।’ यसैगरी, फागुनमा २ लाख ३८ हजार ३ सय ७१ बोरा सिमेन्ट विक्रि गरेको उनले जानकारी दिए । उद्योगले आर्थिक वर्षको सुरुदेखिको ६ महिनामा बेचेजत्तिकै सिमेन्ट माघदैखि चैतको विचमा विक्रि भएको न्यौपानेले जानकारी दिए ।

उद्योगका सूचना अधिकारी लक्ष्मण प्रसाद पोखरेलका अनुसार साउन १ देखि पुस मसान्तसम्म ६ लाख ९८ हजार ५ सय ८६ बोरा सिमेन्ट बिकेकोमा माघ १ देखि वैशाख ९ भित्र ६ लाख ६० हजार १ सय ७३ बोरा सिमेन्ट विक्रि भएको छ । 

अहिले उत्पादन र बिक्री दुवैमा प्रगति देखिएको पोखरेलले वताए । यस अवधिमा उद्योगको चालु दायित्व पनि घटाईएको न्यौपाने वताउँछन् । करिव ६६ करोड दायित्व रहेकोमा कमाइ बढेपछि सरकारी राजस्व ७ करोड, कर्मचारी सेवासुविधा भुक्तानी ८ करोड, वस्तु आपूर्ति सेवाको भुक्तानी ३० करोड, अवकाश कोषमा ४ करोडसमेत गरी ४९ करोड भुक्तानी गरिएको छ । बाँकी १७ करोड दायित्व आगामी असारभित्र भुक्तानी गरिसक्ने न्यौपानेले बताए । ‘म आउँदा ६५ करोड हाराहारीमा चालु दायित्व रहेकामा सय दिनभित्र ४९ करोड भुक्तानी भयो’ न्यौपाने भन्छन्–‘बाँकी १७ करोड दायित्व आउँदो असारभित्र भुक्तानी गरिसक्ने योजना छ ।’ 


उद्योगले पछिल्लो समय कोइला र जिप्सनलगायत सामग्री ल्याएबपत सिमेन्ट नै भुक्तानी (वस्तु बिनिमय) दिने प्रणालीको पनि अन्त्य गरेको छ। सिमेन्ट अन्यत्र बेचेर भुक्तानी गर्दा नगदै दिने प्रचलन बसाएको उद्योगले जनाएको छ । कोईला र जिप्सनको भुक्तानी सिमेन्टबाट गर्दा बिक्रेताले लक्ष्यमा आधारित बिक्रीको कमिसन, बैंक ग्यारेण्टी, नगद छुटजस्ता स्किम नपाउने हुनाले उद्योग र बिक्रेता दुवैलाई घाटा हुने उनले वताए । ‘त्यस्तो प्रणालीको अन्त्य गरिएको छ’ उनले भने–‘विक्रिको नयाँ नीति लिएपछि प्रदेश १, २ र बागमतीमा अधिकृत बिक्रेताको संख्या वृद्धि भएको छ। सिमेन्ट बिक्री पनि दोब्बर भएको छ ।’

न्यौपानेका अनुसार उद्योग स्थलवाट २७ किलोमिटर दुरीमा रहेको खानीमा करीव ७ करोड ३० लाख मेट्रिकटन चुनढुङ्गा छ। अहिलेको उत्पादनलाई आधार मान्ने हो भने करिव ३ सय वर्षलाई पुग्ने मुख्य कच्चा पदार्थ रहेको उनले वताए । 

तर, उद्योगमा जडान भएका अधिकांश मेसिन÷उपकरणहरु  मर्मत हुन नसक्ने अवस्थामा पुगेकाले चिन्ता सुरु भएको न्यौपानले वताए । ‘कतिपय जीर्ण छन्, कतिपय फेज आउट भैसकेको अवस्था छ’ उनले भने–‘त्यसैले अहिले पनि उद्योगले क्षमता अनुसारको उत्पादन गर्न सकेको छैन ।’

उद्योग स्थापना हुँदा करिव ६ सय भन्दा बढीले रोजगारी प्राप्त गरेको स्मरण गरेका उनले मेसिनमा आएको खरावीकै कारण उत्पादन कम हुँदा हाल ३५० जनाले प्रत्यक्ष रोजगारी पाईरहेको वताए । ‘उद्योगका कारण अहिले पनि अप्रत्यक्ष रुपमा ढुवानी सेवा, सुरक्षा सेवा लगायत ठूलो जनसंख्यालाई सकारात्मक प्रभाव परेको छ र स्थानीय स्तरको लागि आर्थिक उर्पाजनको श्रोत बनेको छ’ न्यौपाने भन्छन्–‘वार्षिक रुपमा करीव ५ करोड अग्रिम कर, करीव ३ करोड अन्तःशुल्क, मुल्य अभिबृद्धि कर लगायत स्थानीय प्रदुषण शुल्क खानी उत्खनन् शुल्क लगायतको राजश्व जोड्दा वर्षेनी करीव अरवको हाराहारीमा राजश्व योगदान पु¥याईरहेको अवस्था छ ।’

सामान्य रुपमा बित्तीय बिबरण बिश्लेषण गर्दा अहिलेसम्म ५ अरब ५० करोडको नोक्सानी देखिए पनि राजश्वको प्रमुख श्रोतको रुपमा स्थापित उद्योग भएकोले बिभिन्न कोणवाट सकारात्मक प्रभाव परेको न्यौपाने वताउँछन्। 

उद्योगलाई पहिलेकै अवस्थामा फर्काउने अहिलेको चुनौतीका रुपमा आफुले लिएको उनले वताए। ‘हालको  अवस्थालाई सुधार गरी ८ सय मेट्रीक टन सिमेण्ट उत्पादन गर्नका लागि कतिपय मेशिनहरु फेर्नुपर्ने, मर्मत संभार गर्नुपर्ने र कतिपय मेसिनहरु संचालनमा रहेपनि कुनै कारणले बन्द भएमा बनाउनै नसकिने भएकाले ठूलो खर्च आउने देखिएको छ’ उनी भन्छन्–‘उत्पादन कार्यको मुख्य ‘किल्न सिल’ को ३ वटा भाग मध्ये एक भाग काटेर फेरिसकिएको र करीव २० मिटर ाटेर फेर्नु पर्ने अवस्था छ । अर्कोतिर बजार प्रतिस्पर्धाको दृष्टिकोणले हेर्दा सबै निजी कारखानाहरुले नयाँ प्रविधिवाट उत्पादन गरिरहेको अवस्थामा हाम्रो पुरानो प्रविधिवाट प्रतिस्पर्धी हुनै नसक्ने स्थिति छ । उद्योगले किल्न संचालन गर्नको लागि १० मेघावाटको सोलार विद्युत उत्पादन योजना वनाईएको छ ।’

उद्योगमा करीव ३५ करोड लगानी गर्नुपर्ने स्थिति छ भने त्यसमा करीव २५ करोड थप लगानी गरी ‘आरएसपी’ (रिइनफोर्स सस्पेन्सन प्रिहिटर) जडान गर्दा कारखानाको क्षमता प्रतिदिन ३ सय मेट्रिकटनको हिसाबले बृद्धि भई ११ सय मेट्रिक टन पुग्ने उनको दावी छ । 

तथापी उद्योगले किल्न शेल्ल  १९ दशमलव ८ मिटर चेन्जका लागि प्राविधिक अनुसन्धान सम्पन्न गरी बोलपत्र समेत भएकोले ६ महिना भित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखी काम भईरहेको न्यौपानेले वताए । यसैगरी एक वर्ष भित्र एसपी (सस्पेन्सन प्रिहिटर) सिस्टमबाट आरएसपी सिस्टममा परिवर्त गरी उत्पादन क्षमता वढाएर ८ सयबाट ११ सय मेट्रिक टन पुर्याईने न्यौपानेले जानकारी दिए ।