फोटो राजनीति

फ्लोर क्रस गर्ने कर्णालीका ४ एमाले सांसदलाई कारवाही गर्ने तयारी

फ्लोर क्रस गर्ने कर्णालीका ४ एमाले सांसदलाई कारवाही गर्ने तयारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका ४ सांसदलाई कारबाही गर्ने तयारी गरेको छ। पार्टी श्रोतका अनुसार सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई कारबाही गर्ने तयारी भइरहेको छ।

अराजनीतिक, अलोकतान्त्रिक काम गर्ने र पार्टीको हितविपरीत गद्धारी गर्नेहरूलाई कारबाही गर्ने तयारी भर्यरहेको एक नेताले जानकारी दिए ।

पार्टीको ह्विपविपरीत उनीहरुले शुक्रबार फ्लोर क्रस गरी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। यो सँगै मुख्यमन्त्री शाहीको पद जोगिएको छ। 

कांग्रेस र माओवादीसँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो। कर्णाली प्रदेशसभाका ३९ सांसदमध्ये २२ जनाले शाहीलाई विश्वासको मत दिए। जसमा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र एमालेका चार जनाले शाहीको पक्षमा मतदान गरे।

यता, फ्लोर क्रस गरेका सांसद प्रकाश ज्वालाले पार्टी नेतृत्वले गरेको उपेक्षित व्यवहारको परीणामस्वरुप यस्तो कठोर निर्णय लिन बाध्य भएको वताएका छन् ।

पार्टी एकलौटी चलाउने, पार्टी कब्जा गर्ने, नेताहरूलाई कारबाही गर्ने कार्यले यस्ता अनपेक्षित परिणाम ल्याउने गरेको वताउँदै त्यसै कारण यो निर्णय गरिएको पनि जिकिर गरे ।
रहरले भन्दा पनि वाध्यता यस्तो निर्णय गरिएको र केन्द्रका नेताहरूसँगको सल्लाहअनुसार भएको उनको भनाई छ।

उनले पार्टीको कारबाही भोग्नसमेत तयार रहेको जानकारी दिए ।