समाचार स्वास्थ्य

कोभ्याक्स सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आइपुग्यो

कोभ्याक्स सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आइपुग्यो

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान काठमाडौं आइपुगेको हो । कोरोना भाइरसविरुद्धको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको हो ।

खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरे । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्ने छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

सरकारले दोस्रो चरणको खोप अभियानका क्रममा आइतबारबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिँदै छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।
 
मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।