समाचार स्वास्थ्य

अर्थमन्त्री पौडेल भन्छन्–‘लकडाउन हुँदैन’

अर्थमन्त्री पौडेल भन्छन्–‘लकडाउन हुँदैन’

कोरोनाको दोस्रो लहरको त्रास र लकडाउनको चर्चा चलिरहेका बेला सरकारले लकडाउन नहुने बताएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लकडाउन नहुने बताएका हुन्। कोरोनाको दोस्रो लहरबाट जोगिनका लागी स्वास्थ्य मापदण्डलाई कडाइकासाथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने उनले बताए।

‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनुपर्छ । अर्कोतर्फ आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन र त्यो अहिले उपयुक्त पनि हुँदैन’, उनले भने।

कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रीत भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए।

उनले भने–‘हामी बजेटको तयारीमा जुटेका छौं । सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ । हामी कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रीत हुन्छौं । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौं ।’

राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे। उनले कोरोनाविरुद्धको खोप खरिदका लागि बजेटको अभाव हुन नदिने पनि बताए।
–जनआस्था

लकडाउन कोरोना अर्थमन्त्री विष्णुप्रसाद पौडेल