समाचार

राजमार्ग अतिक्रमण गरेर व्यापार : दुर्घटनाको जोखिम

राजमार्ग अतिक्रमण गरेर व्यापार : दुर्घटनाको जोखिम

  
सर्लाही   
सर्लाहीको  मुख्य बजार लालबन्दी र हरिवनको मुख्य चोकमा सडक मिचेर व्यापार–व्यवसाय गरिँदा दुर्घटनाको जोखिम बढेको छ । ती क्षेत्रका पूर्व–पश्चिम लोकमार्गमा स्थित बसपार्क र सडकपेटीमा सडक अतिक्रमण गरी व्यापार– व्यवसाय गर्ने क्रम बढ्दै गएकोे हो ।     
जिल्लाकै व्यापारिक केन्द्रका रूपमा रहेका ती मुख्य बजारमा सञ्चालित विभिन्न पसल व्यवसायीलाई पटक–पटक आफ्नो व्यवसाय हटाउन आग्रह गरेको भए पनि प्रभावकारी बन्न सकेको छैन् । यी बजारमा व्यापारीले बिहानैदेखि राजमार्ग अतिक्रमण गरेर फलफूललगायत विभिन्न सामग्री किनबेच गर्दै आएका छन् ।    
सडकमै हुने गरेको व्यापारका कारण दुर्घटनाको जोखिम दिनानुदिन बढदै गएको ट्राफिक प्रहरीले जनाएको छ । व्यस्त सडक र तीव्रगतिमा आएका सवारी साधनले कतिबेला कहाँ र कति क्षति गर्छ भन्ने अनुमान पनि लगाउन नसकिने स्थानीय व्यापारी किसान महतोले बताए । लोकमार्ग अतिक्रमण गरेर व्यापार गर्ने व्यापारीलाई करको दायरामा ल्याउने प्रयास नगरिदिँदा मनोमानी बढेको र नियमकारी निकाय मौन रहेको व्यापारीको आरोप छ ।     
लोकमार्ग अतिक्रमण गरेर व्यापार गर्ने व्यापारीलाई ट्राफिक प्रहरीले समेत पटक–पटक हटाउन आग्रह गरेको भए पनि व्यापारी व्यवसायीले अटेर गरेका छन् भने स्थानीय सरकारले पटक–पटक हटाउँदासमेत अटेर गरेका लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्र न्यौपाने (कुमार) ले बताए । उनले आफूहरुले पटक–पटक हटाउने प्रयास गरेपनि फुटफाटका व्यपारीले हटाएको दिन हटाउने र भोलिपल्ट फेरि आएर सोही स्थानमा व्यापार गर्ने गरेका छन् । नगरपालिकाको आफ्नै भित्री बजार व्यवस्थित नरहेका कारण पनि केही समस्या आएको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भु मैनालीले जाकारी दिए ।     
पहुँच भएकाले सडक मिचेरै बनाएको संरचना हटाउन वास्ता नगरिएको तर निमुखामाथि प्रशासन र स्थानीय सरकार पनि निर्मम भएको व्यापारीको भनाइ छ । लालबन्दी र हरिवनमा लोकमार्ग तथा सडक अतिक्रमण गरेर व्यापार व्यवासाय मात्र नभई पार्किङको उचित सुविधासमेत नहुँदा अटो, इ–रिक्सा तथा माल ढुवानी गर्ने ठेला पनि लोकमार्गमै लगाउने गरेका छन् ।     

सर्लाही लालबन्दी हरिवन

विशेष