समाचार अर्थ पर्यटन

प्रधानमन्त्री ओली भन्छन्– रेल उद्घाटन गर्न चाँडै आउँछु, भारत भन्छ– समय निश्चित छैन

वीरेन्द्र रमण

प्रधानमन्त्री ओली भन्छन्– रेल उद्घाटन गर्न चाँडै आउँछु, भारत भन्छ– समय निश्चित छैन

जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरको ढल्केवरमा आयोजित कार्यक्रममा अव छिट्टै रेल सञ्चालन हुने र आफु त्यसको उद्घाटनमा आउने जानकारी दिए। तर, आवश्यक कर्मचारी समेत नहुँदा रेल सञ्चालनको अनिश्चिचता कम भएको छैन ।

नेपालमा रेलमा काम गर्ने दक्ष जनशक्तिको अभाव देखिएपछि तत्काल भारत माथि नै भर पर्नु पर्ने आवस्था छ । भारतीय पक्षले पनि नेपाल सरकारले कतिपय प्रावधिक विषयहरु मिलाउन नसकेका कारण रेल सञ्चालनमा ढिलाई हुने वताएको छ । भारत सरकारका रेल मन्त्री पियुष गोयलले नेपाल सरकारलालाई रेल सञ्चालनको लागि पठाइएको जनशक्ति स्वीकृत नभएका कारण रेल सञ्चालनको समय निश्चित नभएको वताएका छन् ।

भारतीय जनता पार्टी बिहारबाट राज्य सभामा प्रतिनिधित्व गरिरहेका सांसद सुशिलकुमार मोदीले शुक्रवार उठाएको प्रश्नको जवाफमा दिदै मन्त्री गोयलले नेपाल सरकारले आवश्यक प्रक्रिया पुरा नगरेकाले रेल सञ्चालनमा ढिलाई भएको उनको भनाई छ।

सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको जनाएको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । 

भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिक रुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउए ।

कम्पनीसँगको समन्वयमा २६ जना प्राविधिक कर्मचारी ल्याउन लागिएको छ । रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

तर, मोदीको उपस्थिती भौतिक रुपमा वा भर्चुअल हुने भन्ने टुङ्गो लागि सकेको छैन । 

भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए। कम्प्युटरलगायतका आवश्यक सामग्री खरिद भईसकेको र सेट गर्न वाँकी रहेको उनले जानकारी दिए । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बस लगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताए। सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न रु ७५ भाडादर तोकिएको छ । 

सेवा शुरु गर्न मन्त्रिपरिषद् बैठकले सहज बनाउने उनले आशा गरे।

रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहे पनि रेलले यातायातमा अझै सुविधा दिनेछ । यो रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्गसँग जोड्ने सरकारी योजना छ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा रेल सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याइएको थियो । सो रेलमा एक हजार २ सय देखि एक हजार ३ सय जनासम्म यात्रु यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।     

नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा सञ्चालनमा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा पुनः सञ्चालनको तयारी गरिएको छ ।

कुर्थाबाट जयनगरसम्म ३५ किलोमिटर रेलमार्गको निर्माण कार्य गत वर्ष नै सकिएको थियो । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । 

विशेष