समाचार समाज देश

चितवन राष्ट्रिय निकुञ्जमा आखेटोपहार भण्डारणमा समस्या

चितवन राष्ट्रिय निकुञ्जमा आखेटोपहार भण्डारणमा समस्या

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका आखेटोपहार भण्डारणमा समस्या भएको छ । केन्द्रीय भण्डारणका रुपमा रहेको निकुञ्जमा देशैभरबाट आखेटोपहार आउने हुँदा भण्डारणमा कठिनाइ भएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा पाँच कोठा आखेटोपहारले भरिएका छन् । कतिपय आखेटोपहार कुहिएको र दुर्गन्ध फैलिएको उनले बताए। हाल यहाँको भण्डारणमा गैँडाको खाग १४९, गैँडाको खुर एक हजार २८६, बाघको छाला १६, चितुवाको छाला ९३ , रातो हाब्रेको छाला ४४ र  हात्तीको दारा ४११ थान तथा चिरुको राँैं ७५ बोरा छन् । 

त्यसैगरी कस्तुरीको बिना ११, चरी बाघको छाला चार, अजिङ्गरको छाला तीन, हिउँ चितुवाको छाला दुई र गोहीको छाला तीन थान तथा सालकको खपटा २४१, बाघको हड्डी ९५ र  भालुको पित्त १९ किलो छन् । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारी खागमा कीरा लागी बिग्रेको, केही खागको अवशेष मात्रै  रहेको, छाला तथा अन्य आखेटोपहार अधिकांश ओसको कारणले कुहिसकेको र बाँकी कुहिने अवस्थामा रहेको बताए। 

देशका विभिन्न स्थानमा चोरीशिकार तथा प्राकृतिक कारणले मरेका वन्यजन्तुको आखेटोपहार यहाँ ल्याउने गरिन्छ । यसैगरी तस्करबाट बरामद गरिएको वन्यजन्तुको आखेटोपहार पनि यहीँ ल्याइन्छ । 

आखेटोपहार थपिँदै जाने र  भण्डारण गर्ने स्थानको उचित व्यवस्था नहँुदा समस्या भएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । विसं २०७४ मा मन्त्रिपरिषद्को निर्णयबाट निकुञ्जमा ठूलो मात्रामा आखेटोपहार जलाएर नष्ट गरिएको थियो । त्यसपछि प्रत्येक पाँच वर्षमा कार्यविधि बनाएर नष्ट गर्ने भनिएको र पाँच वर्ष लामो समय हुने भएको कारण त्यसभन्दा छिट्टै नष्ट गरिनुपर्ने बराल बताउनुहुन्छ । आखेटोपहारको कुनै मूल्य नभएका कारण यसलाई केन्द्रीयस्तरको आखेटोपहार व्यवस्थापन समूहभन्दा स्थानीयस्तरको कार्यदल बनाएर चाँडो चाँडो नष्ट गरिँदै जानुपर्ने बरालले सुझाव दिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य सङ्कलनको अवस्था हेरेर समयसमयमा जलाएर व्यवस्थापन गर्नुपर्ने देखिएको बताए। यसको भण्डारण जटिल हुने भएकाले छिटोछिटो सरकारीस्तरबाट निर्णय गरी व्यवस्थापन गर्नु उपयुक्त हुने उनले बताए। 
(रासस)

विशेष