समाचार

कैदीवन्दी पनि राजनीतिक विचारधाराका आधारमा सरुवा, गिरीलाई मोरङ पुर्याइयो

कैदीवन्दी पनि राजनीतिक विचारधाराका आधारमा सरुवा, गिरीलाई मोरङ पुर्याइयो

कर्मचारी, प्रशासन, न्यायालय, सुरक्षा हुँदै कैदी पनि राजनीतिक असर देखिन थालेको छ। कैदीवन्दी पनि विचारधाराका आधारमा सरुवा हुन थालेका छन् । कारागारभित्र भिन्दै साम्राज्य खडा गरेर गुन्डागर्दी, असुली र फिरौतीको धन्दा चलाउँदै आएका तथा यातना दिएर कैदीबन्दीमाथि चरम शोषण गर्ने अभिषेक गिरीलाई सरकार परिवर्तनसँगै मोरङ लान कांग्रेस नेताहरुले ‘लबिङ’ सुरु गरेका थिए।

गिरीलाई चौकिदार बनाउनका लागि विगतको अभ्यासविपरीत पुराना चौकीदार, नाइके, भाइनाइकेको मोरङबाट सरुवा गरियो।सरकारको यो निर्णयको कारागार भित्रबाट चौतर्फी आलोचना र विरोध पनि भयो तर, त्यसको समेत सुनुवाई नगरी गिरीलाई मोरङ कारागार पुर्याईएको छ।

मोरङ ल्याउँदा ठूलो संख्यामा रहेका कैदीबन्दी असुरक्षित हुने भन्दै कैदीबन्दी आंतकित बनेपनि त्यसको सुनुवाई गरिएन ।

कैदीबन्दीहरूको विरोधका बीच पनि अभिषेक गिरीलाई विराटनगर कारागार लगियो । बिहीबार बिहान ४ बजेतिर गिरीलाई विराटनगर कारागारभित्र प्रवेस गराइएको हो। दिउँसो ल्याउँदा विरोध हुने भएकोले गिरीलाई प्रशासनले सुटक्क राती सप्तरीदेखि विहानको राती कारागार प्रवेश गराएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

गिरीले रोजेको ठाउँमा सरुवा गर्दै आएको कारागार व्यवस्थापन विभागले उनलाई अनुकूल हुने निर्णय गर्ने क्रम जारी राखेको थियो। यही क्रममा बुधबार मोरङ कारागारमा रहेका गिरीको विरोधी मानिने चौकीदारसहितका ८ जना कैदीबन्दीलाई सिन्धुली सरुवा गरिएको छ।

गिरीलाई मोरङ कारागार सार्न नहुने भन्दै आन्दोलनमा उत्रिएकामध्ये कैदीबन्दीको तेस्रो लट सरुवा भएको हो। यसअघि दुई चरणमा गिरिको विरोधमा उत्रने कैदीबन्दीको सरुवा गरिएको थियो । नेपाली कांग्रेस नेता अमृत अर्यालको पहलमा गृहमन्त्री बालकृष्ण खाणले गिरीले चाहेजस्तो निर्णय गराउँदै आएका छन्। कांग्रेसको गिरीलाई मोरङ नल्याइ नछाड्ने हठले मोरङ कारागारलाई भने निरन्तर समस्यामा पार्दै आएको छ।

गिरीलाई मोरङ कारागार पठाउन विभागले दुई महिनायता निरन्तर प्रयास गरिरहेको थियो। तर कैदीबन्दीले आन्दोलन गरेपछि गिरीको मोरङ कारागार प्रवेश सम्भव भइरहेको थिएन। डेढ महिनामा तीन पटक चौकीदार फेरेपछि बिहीबार बिहान सुटुक्क गिरीलाई कारागार छिराइएको हो।

गिरीलाई विराटनगर कारागार ल्याउन चौकीदार कात्तिक कामत, सिटी कमान्डर युवराज परियार, वडा नाइके रितेश कामत, आन्तरिक प्रशासनका विकास महतो, विवेक कामत, शिवनारायण माझी र मौसम चौधरीलाई सरुवा गरिएको छ।

सरुवामा परेकालाई निकाल्न खोज्दा मोरङ कारागारको अवस्था बुधबारसाँझ तनावपूर्ण बन्यो। ठूलो संख्यामा प्रहरी परिचालन गरेर आठ जनालाई निकाल्न खोज्दा विरोधमा उत्रिएका कैदीबन्दीले कारागारमा आगजनी गर्ने धम्की दिएका थिए।

त्यसपछि प्रहरी टोली फिर्ता भएको थियो। राति १० बजेतिर पुनः गएको प्रहरी टोलीले सरुवामा परेका चौकीदार कामत र सिटी नाइके परियारलाई मोरङबाट निकालेर सिन्धुली कारागार लगेको छ । सरुवामा परेका अन्य छ जना भने अहिले मोरङमै रहेको जनाईएको छ। 
 

अभिषेक गिरी कारागार