समाचार अर्थ रोजगार

रहरले अष्ट्रेलिया पुगेकी कुसुमले फर्केर गाउँमै सुरु गरिन वाख्रा पालन

रहरले अष्ट्रेलिया पुगेकी कुसुमले फर्केर गाउँमै सुरु गरिन वाख्रा पालन


नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्ने गर्छ । इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्ट्रेलियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छन् ।

घरपरिवारसँगै बसेर परम्परागत पेशा तथा व्यापार गर्दागर्दै दुई वर्षअघि अष्ट्रेलिया गएकी थिएँ”, दाहालले भनिन्, “अष्ट्रेलियाको कृषि र पशुपालन फार्म हेरेपछि आफ्नै गाउँमा बाख्रापालन गर्न मन लाग्यो ।” अहिले उनी यही व्यवसायमा संलग्न छिन् ।

त्यस्तै निजी वनमा रुख हुर्काएर पनि वर्षेनी लाखौँ आम्दानी गरेकी छन्। उनले गाउँमा र आफ्ना साथीको विदेश जाने लर्को लागेको देखेर अष्ट्रेलिया जान मन लागेको भन्दै केही वर्षअघि अष्ट्रेलिया गएको बताइन् । भनिन्, “उहाँ विदेशमा जत्तिको मेहनत गरे त गाउँमै रोजगारीसँगै आम्दानी पनि मज्जाले गर्न सकिने रहेछ ।”

दाहालले विदेशको व्यापार र रोजगारको अवसर हेरेपछि आफूले धेरै कुरा सिकेको बताइन् । विदेशमा कृषि र पशुपालनमा लाग्नेलाई, सीप, प्राविधिक ज्ञान र सरकारी सहयोग पाएको देखेको उनी सुनाउँछिन् । भन्छिन्, “हामीले परम्परागतरुपमा बाख्रापालन गरिराखेको अवस्थामा प्राविधिक ज्ञान लिएर काम गर्दा आम्दानी बढ्छ भन्ने लागेर स्वदेश फर्किएँ ।”

नेपाल फर्किएपछि दाहालले बाख्रापालनको तालिम लिइन्। तालिमपछि उनले आफ्नो माइतीमा रहेको ५४ रोपनी जग्गा ठेक्का लिएर बाख्राको खोर बनाउने काम शुरु गरिन्। पुरानो पेशा व्यापारलाई निरन्तरता दिएर माइजोगमाई– ३ स्थित लप्सीबोटेमा बाख्रापालन शुरु भयो । दुई वर्षअघि स्थापना भएको अन्नपूर्ण कृषि तथा पशुपालन फार्ममा अहिले ६० वटा उन्नत जातका बाख्रा छन् । फार्ममा साधन, बयर र स्थानीय जातका बाख्रा छन् ।

बाख्रासँगै दाहालले स्थानीय जातको कुखुरा पनि पालेकी छन् । इलाम पर्यटकीय जिल्ला भएकाले आन्तरिक पर्यटकको पनि घुइँचो नै लाग्ने गर्दछ । यी स्थानीय जातका कुखुरा आन्तरिक पर्यटकका लागि नै खपत हुने गरेको र अधिकांश कुखुरा घरबाटै बिक्री हुने गरेको उनी बताउँछिन् । “विदेशमा बसेर गर्ने दुःख नेपालमै गरे त रोजगारीसँगै आम्दानी बढ्ने रहेछ’, दाहालले भनिन्, “जग्गामा राम्रो उत्पादन हुने र घाँस प्रशस्त हुँदै आएको बारीमा चिया, अकबरे खोर्सानी र खोर बनाएर बाख्रापालन गरिएको छ ।”

दाहालले चुला चौकाको काम भ्याएर भए पनि कृषि पेशा गर्न मन लागेको बताइन् । घरव्यवहार तथा अरु पनि कार्यभित्रैैदेखि लगाव लगाएपछि गर्न सकिँदो रहेछ भन्ने अुनभव आफूले लिएको दाहालको भनाइ छ । “घरगाउँमा सबै कृषि पेशामै छन् विदेशमा पनि कृषिबाट करोडौँ आम्दानी गरेको देखेका हामीले आधुनिक तरिकाले कृषि र पुशपालन गर्दा राम्रौ नै आम्दानी हुँदोरहेछ’ उनले भनिन् ।

करिब ५४ रोपनी क्षेत्रफलमा घाँस भएकाले उनलाई बाख्रा पाल्न गाह्रो भएको छैन । घाँस खेर जान नदिन मेसिनबाट कुटी काटेर बाख्रालाई दिने गरिएको छ । दाहालको भनाइ छ, “आम्दानी पनि राम्रो छ, नाफासँगै सन्तुष्ट पनि छु । फार्ममा गाउँका दुई युवाले रोजगारी पाएका छन् ।”

व्यवस्थापनका लागि बृहत् योजना बनाउने र लगानी जुटाउने काम भइरहेको भन्दै बिस्तारै खोरसँगै बाख्रा पनि थप्ने योजना रहेको उनी बताउँछिन् ।

अहिले उनको फार्ममा बाख्राको संख्या वृद्धि गरी ठूलो बनाएर १० जनालाई रोजगारी दिने योजना रहेको छ । “प्रदेश एककै नमूना बाख्रा फार्मसँगै उन्नत जातका बाख्राकोे स्रोत केन्द्रका रुपमा आफ्नो फार्मको विकास गर्नेछ”, उनले भनिन् ।

शुरुमा १२ लाख रूपैयाँ लगानीबाट व्यवसाय शुरु भएको र अहिले फार्ममा लगानी ३० लाख रूपैयाँ पुगेको छ । यो आर्थिक वर्षको छ महिनामा बाख्रा बिक्रीबाट १५ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको दाहालको भनाइ छ । “पश्चिम नेपालबाट साधन जातको बाख्रा र पूर्वी नेपालको पहाडी जिल्लाबाट बोयर जातको बाख्राको माग उच्च रहेको छ”, उनी भन्छिन् ।

व्यापारमा रमाइरहेको र उच्च शिक्षा हासिल गरेको मान्छेले बाख्रा किन पालेको भने पनि धेरैले गिज्याएको उनको अनुभव छ । तर आफूले हिम्मत नहारी बाख्र्रा र कुखुरापालनसँगै अकबरे खुर्सानीबाट आम्दानी राम्रो गरेको उनले बताइन् । दाहालको बुझाइमा उच्च शिक्षा हासिल गरेका मानिसले कृषि पेशामा लागे बजारको भाउ बुझ्न, प्राविधिक ज्ञान लिन सजिलो हुने भएकाले व्यावसायिक कृषि पेशमा युवायुवती नै लाग्नुपर्ने हुन्छ । उच्च शिक्षा लिएको युवा कृषि र पशुपालनमा लाग्यो भने आफ्नो हातको मोबाइलबाटै प्राविधिक ज्ञान र बजारको अवस्था बुझ्न सकिने पनि उनको अनुभव छ ।

“बाख्राको बजार निकै राम्रो छ”, दाहालले भनिन्, “बोयर बाख्रा नयाँ जात भएकाले सबै किसानले फार्मबाटै एक दुई वटा गर्दै खरिद गर्दै आएका छन् ।” बोयर बाख्रा प्रतिकिलो रु एक हजार ५०० देखि रु तीन हजार ५०० मा बिक्री हुन्छ । पश्चिमतिर साधन जातको ब्राखाको माग रहेकाले पूर्वमा बोयर र पश्चिममा साधन जातको बाख्रा बिक्री गर्दै आएको उनले जानकारी दिइन्।

कुसुमको बाख्राको फार्मसँगै कुखुरापालन पनि छ । अहिले खोरमा ५०० स्थानीय जातका कुखुरा छन् । कुखुराको बजारको समस्या नरहेको दाहालको भनाइ छ। उनको घरबाटै कुखुरा प्रतिकिलो रु ६०० मा बिक्री हुँदै आएको छ ।

कुखुरा गाउँघरदेखि शहरबजारका व्यक्ति पनि खरिद गर्न पुग्छन् दाहालको फार्ममा । कुखुरा र बाख्राको प्रशस्त मल हुने भएपछि दाहालले अकबरे खुर्सानीको खेती गर्नुभएको हो । दाहालले दुई रोपनी जमिनमा इलामको अकबरे खुर्सानी खेती गरेकी छन् । अकबरे खुर्सानी प्रतिकिलो रु ३०० मा बिक्री हुने गरेको छ । उनलेले यो वर्ष मात्रै ८० किलो खोर्सानी बिक्री गरेको बताइन् ।

गाउँमा बढ्यो बाख्रापालन

कुसुम दाहालले बाख्रापालनबाट पाएको सफलताबाट गाउँमा अहिले बाख्रापालनमा फर्किने युवाको संख्या बढ्दो छ । महिलाले बाख्रा फार्म खोलेको देखेपछि गाउँका दिदीबहिनीहरु बाख्रापालनमा लागेको स्थानीय रोशन काफ्लेले बताए ।

“गाउँमा आधुनिक तरिकाले बाख्रापालन गरेपछि हरेक घरमा खोर बनाइएको छ र बाख्रापालन गर्नेको सङ्ख्या बढेको छ”, फार्मकी सञ्चालक दाहालले भनिन्, “मैले बाख्रा फार्म खोलेपछि गाउँका धेरै महिला दिदीबहिनी पनि आएर बाख्रापालनको अनुभव लिएर आउनुभएको छ, धेरैले फार्म नै शुरु गर्नुभएको छ ।”

यहाँको अन्नपूर्ण बाख्रा फार्म खोलिएपछि अनुभव साटासाट पनि हुन थाल्यो र धेरै युवायुवतीले यो पेशा थालेका छन् । केही समययता मात्र यहाँ १० वटा नयाँ फार्म खोलिएको छ ।

दाहालले भने, “पुराना सात वटा मात्रै फार्म थिए मैले फार्म स्थापना भएपछि माइजोगमाई गाउँपालिकाभित्र ३० वटासम्म फार्म स्थापना भएका छन् ।”

“मैले बाख्रापालन शुरु गरेपछि मलाई धेरैले पछ्याउनुभएको छ, मलाई निकै खुशी लागेको छ, गाउँवासीमा प्रेरणा जगाउने महिला भएको छ”, दाहालले भनिन् । उनले व्यावसायिकरुपमा नै बाख्रा पाल्न शुरु गरेपछि गाउँमा जागरण नै आएकाले धेरैको घरमा फार्मका रुपमा नभए पनि १५ देखि २० वटा बाख्रा अधिकांशले राखेका छन् । बाख्राको मल चिया खेतीका लागि राम्रो हुने भएकाले किसानमा पनि आकर्षण बढेको छ ।

घरको कामसँगै सानो कृषि व्यवसाय र पशुपालन गर्दा आम्दानी हुने भएकाले त्यसतर्फ लाग्न सबै दिदीबहिनी र युवालाई दाहालको आग्रह छ । “घरको काम सबै दिदीबहिनीले गर्नुपर्छ भन्ने होइन कि घर बाहिरको व्यावसायिक कामको थालनी गर्दा पनि हुन्छ”, दाहालले भनिन् । काम गर्न इच्छाशक्ति हुनुपर्ने र काम सानो ठूलो जस्तो भए पनि गर्न छोड्नु नहुने उनको सुझाव छ ।

कुसुम दाहालको सफलताका लागि परिवारको सहयोग मुख्य रहेको छ । ‘व्यापार व्यवसायबाट खान लाउन पुग्दा पुग्दै पनि मलाई आफ्नो इच्छाअनुसार काम गर्न पाएको छु, मलाई श्रीमान् दामोदर दाहाल र ससुरा युवराज दाहालको सहयोग महत्वपूर्ण छ”, उनले भनिन् ।  उनले माइतीको जग्गा ठेक्का लिएर बाख्रा र कुखुरापालन तथा कृषि कर्म शुरु गरेको समेत सुनाइन् ।

कुसुमको कामप्रति उहाँका श्रीमान् पनि सन्तुष्ट हुनुहुन्छ । दामोदरले भने, “हामीलाई खान लाउन समस्या नभए पनि काम गर्छु भन्नेलाई मैले सक्दो सहयोग गरेको छु र कामप्रति सन्तुष्ट पनि छु ।” (रासस)

विशेष