समाचार

फर्कियो माउन्ट केटु हिमाल आरोहण टोली

फर्कियो माउन्ट केटु हिमाल आरोहण टोली

पाकिस्तान स्थित विश्वकै दोस्रो अग्लो माउन्ट केटु हिमाल सफलतापूर्वक आरोहण गरेर दश सदस्यीय नेपाली आरोहण टोली स्वदेश फर्किएको छ। उनीहरूले गत माघ ३ गते माउन्ट केटुको सफल आरोहण गरेका थिए।

आठ हजार ६ सय ११ मिटर उचाइको केटु हिमालमा हिउँद याममा अहिलेसम्म कसैले पनि आरोहण गरेका थिएनन्। नेपाली १० जना आरोहीले सफलतापूर्वक आरोहण सम्पन्न गरेका छन्।

नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले केटु आरोहण गरेका हुन्।

दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनविना नै आरोहण गरेका थिए।  सुरूमा तीन वटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखर पुगेका थिए।

चुचुरोको सय मिटर तल भेला भएर सबैजनाले एकैपटक चुचुरोमा पाइला टेकेका थिए। 

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको टोलीलाई टानका प्रतिनिधिहरूले स्वागत गरेका छन्। 

नेपाली आरोहण टोलीले सफलतापूर्वक माउन्ट केटु आरोहण गरेपछि पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाइसमेत दिएका थिए।