समाचार राजनीति

प्रचण्ड ‘चटके’, माधव नेपाल उनका मामुली कार्यकर्ताः प्रम ओली

प्रचण्ड ‘चटके’, माधव नेपाल उनका मामुली कार्यकर्ताः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा लागेर आफ्नो जीवन वर्वाद बनाएकाहरुलाई पुस्पकमल दाहाल ‘प्रचण्ड’ले कहिल्यै नसम्झिएको र आफ्नै परिवारभित्र हराएको आरोप लगाएका छन् । 

अखिल नेपाल महिला संघको केन्द्रीय समितिको दोस्रो बैठकका सहभागी महिला नेतालाई सम्बोधन गर्दै जनयुद्ध कुहिएको फर्सी भन्दै गरेको टिप्पणीका विषयमा स्पष्टिकरण पनि दिए। ‘मैले त्यो कुरा पूर्व माओवादी आन्दोलनमा लागेकाहरुलाई भनेको होइन’ उनले भने–‘ठूला सपना देखाएर महान क्रान्ती भन्दै लाखौं युवालाई सहभागी गराउने प्रचण्डलाई भनेको हुँ ।’

परिवर्तनका नाममा हजारौं युवाहरुलाई लडाएर अन्त्यमा प्रचण्ड आफनै परिवारभित्र भुलेको उनको टिप्पणी थियो । उनले भने–‘देशमा परिवर्तन ल्याउन भन्दै लडाइयो, तर अहिले कहाँ ल्याए त्यो कुरा उनको परिवार वाहेक कसैलाई जानकारी छैन।’

प्रचण्डले नसम्झिए पनि वहिर्गमनमा परेका लडाकुहरुलाई यथोचित ब्यवस्था गर्ने ओलीले प्रतिवद्धता पनि जनाए ।

प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले नेकपामा आएको र त्यो पूरा नभएका कारण फर्किएको ओलीले वताए । प्रचण्ड चटके र माधवकुमार नेपाल उनका मामुली कार्यकर्ता भएको उनले दोहोर्याए ।