समाचार

संसद विघटन सदर भए संविधान विघटनलाई लालमोहर लगाए सरह हुनेछः दमननाथ ढुङ्गाना

संसद विघटन सदर भए संविधान विघटनलाई लालमोहर लगाए सरह हुनेछः दमननाथ ढुङ्गाना

संविधान निगरानी समूहले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व सभामुख दमननाथ ढुंगानाले ‘कथम् प्रतिनिधिसभा विघटनलाई सदर गरियो भने त्यो संसद होइन संविधान विघटनलाई लालमोहर लगाएसरह हुनेछ’ भन्दै ‘त्यस्तो भयो भने नागरिकले सडकबाटै न्यायाधीशहरुलाई अभद्र व्यवहार गर्नसक्ने’ आँकलन गर्नुभएको छ । भूतपूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ संयोजक रहेको कार्यक्रममा अर्का पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पनि बोल्नुभएको थियो ।

नेकपा (बहुमत) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले समेत आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा बोल्दै सिटौलाले ‘संविधान हेरेर अदालतले फैसला गरोस् । हामीले सोचेर, विचार गरेर हजार चोटी निधार खुम्चाएर संविधानमा त्यस्तो व्यवस्था गरिएको हो । पहिलो चोटी निर्वाचन भएपछि सरकार गठन गर्नै नसक्ने अवस्था पर्यो भने पाँचौ चरणपछि अर्को प्रतिनिधि सभा भन्ने व्यवस्था गरिएको हो । विघटनको कुरै होइन ।’

सत्तारुढ दलको तर्फबाट पूर्व सभामुख तथा संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङलाई बोलाइए तापनि उहाँले ‘म नबोलुँ क्यार !’ भनेर पन्छिनुभएको बताइन्छ । नेम्वाङ्ग पन्छिएपछि ओली समूहको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सम्पर्क राख्दा नयाँ दिल्ली जानुभएको भनिएको र उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू काठमाडौं बाहिर रहेको जनाउ दिएपछि कार्यक्रममा सरकारकै मान्छे आउन नचाहेको आयोजकले बताएका छन् ।
–जनआस्था