समाचार राजनीति

राजकिशोरलाई उपेन्द्रको जवाफः बकबास नगर, काम गर्न मन छ भने गर नत्र भाग !

राजकिशोरलाई उपेन्द्रको जवाफः बकबास नगर, काम गर्न मन छ भने गर नत्र भाग !

जनता समाजवादी पार्टी (जसपा) भित्र मर्यादाक्रम विवाद चर्किएपछि राजकिशोर यादव पक्ष रुष्ट वनेको छ । पुर्वराजपा र समाजवादी पार्टीबीच एकतापछि मर्यादाक्रमबारे सुरुदेखि नै विवाद हुदै आएपछि सिरहामा आयोजना हुन लागेको कार्यक्रमका कारण  विवाद सतहमा आएको हो ।

संसद विघटनको विरोधमा सिराहामा शनिवारका लागि आयोजित कार्यक्रमका लागि गरिएको परिपत्रमा मर्यादाक्रम मिचेर नाम राखिएको भन्दै नेता राजकिशोर यादवले असन्तुष्टि जनाएका छन् । मर्यादाक्रम नसच्याए कार्यक्रम वहिस्कार गर्ने र कालोझण्डा देखाउने उनको चेतावनी छ।

जसपाले जारी गरेको परिपत्रमा सिरहामा हुने प्रदर्शन तथा सभामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव र राजकिशोर यादव सहभागी हुने उल्लेख गरिएको छ । त्यसमा आफ्नो नाम सबैभन्दा तल राखेकोमा नेता यादव रुष्ट छन् । 

उनी तत्कालिन राजपाका अध्यक्ष मण्डल सदस्य थिए । पार्टी एकतापछि उनी मर्यादाक्रममा रेणु यादवभन्दा अगाडी छन् । तर परिपत्रमा नाम तल राखिएको भन्दै उनले कार्यक्रम नै बहिष्कार गर्ने आफ्ना निकट नेता तथा कार्यकर्तालाई बताउँदै आएका छन् । 

राजकिशोरनिकट नेता राजाराम यादव र जसपा अध्यक्ष उपेन्द्र यादवबीच फोनमा चर्काचर्की भएको अडियोसमेत बाहिरिएको छ । अध्यक्ष यादवसँगको कुराकानीमा राजारामले सिरहामा आए विरोध गर्दै कालो झण्डा देखाउने चेतावनी दिएका छन् । उनले मर्यादाक्रम नसच्चाइए राजकिशोर यादवको समुह कार्यक्रममा सहभागी नहुने पनि भनेका छन् ।

जवाफमा उपेन्द्र यादवले रिसाएर ‘राजकिशोरको ग्रुप ओलीको कार्यक्रममा जान्छन् नि ? भन्दै प्रश्न गरेको छन। केहि समयको विवाद पछि उपेन्द्रले राजारामलाई बकबास नगर । काम गर्न मन छ भने गर, नत्र भाग,’ भनेका छन् ।

त्यसपछि राजारामले ‘तपाई डिक्टेटरशीप चलाउनुहुन्छ । अध्यक्ष हुनुहुन्छ भने के भयो ? पार्टी तपाईको होईन, तपाईलाई नै भगाउँछौ । तपाई आउनुस् सिरहा हामी पार्टीकै मान्छे कालो झण्डा देखाउँछौँ,’ भन्दै जवाफ दिएका छन् ।