समाचार अपराध सुरक्षा

अमलेखगन्ज आउने पेट्रोलियम पाइपलाइन काटेर भारतमै डिजल चोरी

अमलेखगन्ज आउने पेट्रोलियम पाइपलाइन काटेर भारतमै डिजल चोरी

भारत–नेपाल पेट्रोलियम पाइपलाइन बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै फुटाएर डिजल चोरी भईरहेको पत्ता लागेको छ ।

पटना–सिवान–मोतिहारी हुँदै वाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ । भारतीय अखबार नवभारत टाइम्सका अनुसार सिवान जिल्लाको डुमरा गाउँ नजिकै पाइपलाइन फुटाएर चोरी भएको हो । 
जिल्ला प्रशासन कार्यालय सिवानका अधिकारीहरुले करोडौं रुपैयाँ बराबरको डिजल चोरी भएको आशंका गरेका छन् । बिहारमा पेट्रोलियम पाइपलाइन फुटाएर चोरी भएको यो पहिलो घटना हो।

पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरुलाई खबर गरेका थिए ।

मेन पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको नवभारत टाइम्सले उल्लेख गरेको छ । त्यस्तै दैनिक सयौं लिटर डिजल चोरी भएको हुन सक्ने पनि आशंका गरिएको छ । 

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।