समाचार राजनीति

वावुराम भन्छन्– हामी राम/कृष्ण र ओली रावण/कंशको अवतार !

वावुराम भन्छन्– हामी राम/कृष्ण र ओली रावण/कंशको अवतार !

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफूलाई राम र कृष्ण एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई कंश र रावण भएको वताएका छन् । 

जनता समाजवादी पार्टीले बुधबार पोखरामा आयोजना गरेको प्रतिनिधि सभा विघटनको विरोध कार्यक्रममा बोल्दै भट्टराईले यस्तो वताएका हुन् । उनले द्वापर युगामा कृष्ण र कंश तथा त्रेतायुगमा राम र रावणबीच संघर्ष भएको भन्दै अहिले कलियुगमा आफुहरुको ओलीसँग लडाई भईरहेको वताए ।

‘द्वापर युगमा कृष्ण र कंशका बीचमा लडाइँ थियो’ उनले भने, ‘अहिले कलियुगमा हाम्रो केपी ओलीसँग लडाइँ छ। ओली कंश र रावण हो, हामी कृष्ण र राम।’ उनले यो लडाइँ निरन्तर चल्ने वताए ।

संकटको अवस्थामा केपी शर्मा ओलीले संसद विघटन गरेर आफूहरूलाई आन्दोलनमा जान बाध्य पारेको भट्टराईले बताए। उनले गत निर्वाचनमा ओलीले नक्कली राष्ट्रवादको डंका पिटेर सोझा नेपालीलाई झुक्याएको आरोप पनि लगाए।

भट्टराईले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र ओलीलाई एकै अवतार भएको वताए । अमेरिकामा राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाएको भन्दै नेपालमा पनि संसद ब्युँताएर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनुपर्ने भट्टराईले बताए।

‘ट्रम्पको कार्यकाल ८ दिन बाँकी छ, यत्तिकै छोड्यो भने भोलि अर्कोले पनि यस्तै गर्छ भनेर त्यहाँ महाअभियोग लगाउन खोजिएको छ’, उनले भने, ‘नेपालमा पनि केपी ओलीको प्रतिगामी हर्कत गरेको छ, त्यतिकै छोड्नुहुँदैन।’

प्रतिनिधि सभा विघटन सच्याउन कांग्रेसले खुट्टा कमाएको र प्रचण्ड र माधव नेपालले पानी आन्द्रे कुरा गरेको आरोप लगाए।