समाचार राजनीति

महन्थ ठाकुरको उपचार खर्च तिर्न म काठमाण्डौ आएको होईनः मन्त्री सोनल

महन्थ ठाकुरको उपचार खर्च तिर्न म काठमाण्डौ आएको होईनः मन्त्री सोनल

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि काठमाण्डौं स्थित नर्भिक अस्पताल भर्ना भए। 

लामो समय देखि मुटुको विरामी रहेका ठाकुर मुटुको चाल बढाउन राखिने ब्याट्री (पेसमेकर) परिवर्तनका लागि अस्पताल भर्ना भएका हुन् ।

ठाकुर अस्पताल भर्ना भए लगत्तै प्रदेश २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनल समेत काठमाण्डौ पुगेका छन् । उनी काठमाण्डौं जानुलाई अर्थपुर्ण रुपमा लिईएको छ । उनले शनिवारै अध्यक्ष ठाकुरसँग भेटघाट समेत गरेका छन् ।

अध्यक्ष ठाकुरको उपचारमा लाग्ने खर्चको विल तिर्न सोनल काठमाण्डौं गएको पार्टीकै एक नेताले जानकारी दिए ।

मन्त्री सोनलले भने उक्त आरोपको खण्डन गरे । दाँतमा समस्या आएपछि आफनै उपचारका लागि आफु काठमाण्डौ आएको र आईतवार साँझ मात्रै दन्त चिकित्सक प्रविण मिश्रसँग भेट गरेको वताए । उपपचारका लागि सोमवार पनि डा. मिश्रसँग भेट गर्नुपर्ने जनाएका उनले अध्यक्ष ठाकुरको उपचारमा लागेको खर्च तिर्न आएको भन्नु गलत भएको वताए । ‘वहाँ आफै सम्पन्न मान्छे हो, वहाँकी छोरी पनि डाक्टर हो’ उनले भने–‘पैसा मैले तिर्नु पर्छ ?’

पार्टी अध्यक्ष ठाकुरको उपचारमा लागेको खर्चको विल तिर्ने हैसियत पनि आफनो नभएको उनको भनाई छ । सोनलले भने–‘अध्यक्षको उपचार गराउने र विल तिर्ने मेरो हैसियत छ ?’