समाचार

प्रदेश २ मा आईतवार ८२ जनालाई कोरोना संक्रमण, ४ जनाको मृत्यु

प्रदेश २ मा आईतवार ८२ जनालाई कोरोना संक्रमण, ४ जनाको मृत्यु

प्रदेश नम्बर २ मा आईतबार ८२ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जना संक्रमितमो मृत्यु भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्रनारायण सिंह अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा गरिएको परिक्षणका क्रममा १२ महिलासहित ८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश–२ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

प्रदेश २ का ८ जिल्ला मध्ये रौतहटमा २६, सप्तरी र सिरहामा १८, पर्सामा १२ र सर्लाहीमा ८ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

प्रदेश–२ मा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ४६ पुगेको झाले जानकारी दिए ।

यसैगरी आईतवार ३४ जना संक्रमित कोरोना मुक्त भएका छन् । प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ४४ पुगेको छ । 

यस्तै आईतवार कोराना संक्रमणबाट प्रदेश–२ मा ४ जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका– १३ स्थित बलिरामपुरका ६५ वर्षीय पुरुष, रौतहटको गौर नगरपालिका–१ का ६१ वर्षीय पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका–४ का ७८ वर्षीय पुरुष र सोही महानगरपालिका–६ का ८८ वर्षीय पुरुषको मृत्यु भएको झाले वताए ।

प्रदेश–२ मा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । पर्सामा ४२, बारामा १८, धनुषामा १५,  महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, रौतहटमा ६, सर्लाहीमा ५ र १ भारतीय नागरिकको निर्देशनालयले जनाएको छ ।