समाचार स्वास्थ्य

सप्तरीमा ३८ प्रहरीसहित ५३ जनालाई कोरोना पुष्टि, मृतकको संख्या ९ पुग्यो

सप्तरीमा ३८ प्रहरीसहित ५३ जनालाई कोरोना पुष्टि, मृतकको संख्या ९ पुग्यो

सप्तरीमा विहिवार ३८ प्रहरीसहित ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गतका प्रहरी र जिल्लाका विभिन्न स्थानमा गरी ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

विहिवार सहित सप्तरीमा कोरोना संक्रमित प्रहरीको संख्या ९५ पुगेको छ । यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपी सहित मातहतका २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रहरी तालिम केन्द्रका ३५ जनालाई संक्रमण भएको थियो ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ११ सय ४३ पुगेको छ । संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ भने ७५० जना निको भएका छन् । सप्तरीमा ३८४ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ।

मृतक को–को ?
सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वुधवार सप्तरीको खडक नगरपालिका ३ का ३५ वर्षिय युवकको मृत्यु भयो ।

उनी किड्नी सम्वन्धि विरामी रहेको थिए । 

एक वर्षदेखि सातामा दुईपटक डायलसिस गराउँदै आएका ति युवकलाई ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हुँदै धरान पुगेका थिए । 

भदौ २८ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएएपछि उनलाई धरान लगिएको थियो । 

यसअघि भदौ १८ गते राजगढ ७ र राजविराज ७ मा एक एक जनाको मृत्यु भएको थियो । राजगढ गाउँपालिका–६ फकीरा स्थायी घर भई राजविराज नगरपालिका–७ मा बस्दै आएका ५० वर्षीय पुरुषको मृत्यु भएको थियो । राजविराजस्थित स्थानीय क्लिनिकपछि छिन्नमस्ता अस्पतालमा भर्ना भएका उनलाई धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । उनी चिनी रोगबाट पीडित थिए । उनी नेपाल टलिकम राजविराजका अधिकृत हुन्।

सोहि दिन राजविराज नगरपालिका–७ का ५५ वर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। भदौ ७ गते संक्रमण पुष्टि भएपछि छिन्नमस्ता अस्पताल राजविराजबाट रेफर भएका उनी कोभिड–१९ अस्पताल धरानमा भदौ ८ गते भर्ना भएका थिए। उनी १५ वर्षदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।

भदौ १३ गते राजविराज नगरपालिका २ की ५५ वर्षिया महिलाको मृत्यु भएको थियो। ज्वरो तथा रुघाखोकीको समस्या देखिएपछि गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी उनलाई थप  समस्या देखिएपछि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा राती करिव ९ वजे वाटोमै मृत्यु भएको थियो।

भदौ ५ गते राजविराज नगरपालिका–७ का ७७ वर्षीय पुरुषको ग्राण्डी अस्पताल, काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी ‘प्रोस्टेट’ को रोगले पीडित थिए।

भदौ २ गते राजविराज नगरपालिका–४ का २८ वर्षीय युवकको मृत्यु भएको थियो। निमोनियाले ग्रस्त भइ राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना भएका युवकको थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्ने वित्तिकै मृत्यु भएको थियो। उनलाई भदौ ४ गते कोरोना पुष्टि भएको हो।।

साउन २७ गते डाकनेश्वरी नगरपालिका ८ स्थायी घर भई राजविराज ६ स्थित सिरहा रोडमा वस्दै आएका ७९ वर्षिय वृद्धको मृत्यु भएको थियो। ३÷४ दिनअघि ज्वरो आएपछि चेक गर्दा २७ गते साँझ कोरोना पुष्टि भएको थियो। आईसोलेसनमा लैजाने क्रममा वाटोमै उनको मृत्यु भएको थियो। उनी मुटु, थाइराइड, सुगर, उच्च रक्तचापवाट पीडित थिए।

साउन २० गते रुपनी गाउँपालिका–५ धुरगाउँका ४५ वर्षीय मृतक पुरुषको मृत्यु भएको थियो। साउन २१ गते  उनलाई कोरोना पुष्टि भयो । मलेसियाबाट एक महिना अघि आएर घरमा बसेपछि स्वासप्रस्वासमा समस्या आएर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको उपचार हुन नसकेपछि धरान लाने क्रममा बाटोमै मृत्यु भएको थियो।

साउन १ गते राजविराजका–६ का ७३ वर्षिय व्यापारीको धरानमा उपचारका क्रममा मृत्यु भयो। कोशी ग्यासको प्रमुख डिलर र खाद बीज भण्डारका सञ्चालकरहेका उनी भारतको दिल्लीबाट दरभंगा हुँदै १३ दिनअघि घर आएका थिए। श्रीमतीको कलेजोसम्बन्धी उपचारका लागि दिल्ली गएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र प्रोस्टेटका बिरामी थिए ।
 

ADVERTISEMENT