समाचार प्रदेश १

यातायात व्यवसायीको साझा समस्यालाई सरकारले सम्बोधन गर्छः मुख्यमन्त्री राई

यातायात व्यवसायीको साझा समस्यालाई सरकारले सम्बोधन गर्छः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिई यातायात सञ्चालन गर्नुपर्ने बताएका छन्। आगामी असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले  आज भर्चुअल छलफलमा उक्त आग्रह गरेका हुन् । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गरेका हुन्।

छलफलमा मुख्यमन्त्री राईले असोज ५ गते अगाडि व्यवसायीलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीको विवरण तयार गर्न आग्रह गरे। उनले यातायात व्यवसायीको साझा समस्यालाई सरकारले सम्बोधन गर्दै जाने बताउँदै मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानी अपनाउन आग्रह गरे। उनले लामो दूरीका यात्रुको विवरण राख्न पर्ने बताए।

छलफलमा व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए । उनीहरुले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधन चलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । छलफलमा यातायात व्यवसायीका साथै यातायात क्षेत्रका मजदुर सङ्गठनका प्रतिनिधिको सहभागिता थियो । 
(रासस)