कभर स्टोरी

युट्यूबर र पत्रकारिता: को हुन यूटुबर ?

युट्यूबर र पत्रकारिता: को हुन यूटुबर ?

नारायण पौडेल

विषय प्रवेशः भाइरल जोडी युट्यूबमा 

‘टेलिभिजनमा हाल्दा हाल्दा अब म कावु भइसकेँ । अब म बोल्दिनँ । ल भयो । म अघाएँ, कुरा गर्दा गर्दा । किन अघाएँ ? चारपाँच दिन भइसक्यो । ममात्रै हो र सँसारमा ? चर्चित नहुने को छ र ? ४÷५ हजारले सहयोग हुन्छ ?  मेरो घर कसैले बनाइदिन्छ, बनाउन पर्ने मैेइलै हो । सहयोग आओस कि नआओस ल....’

रातारात भाइरल भएका सिँहप्रसाद लिम्बुले एक युट्यूबरसँग व्यक्त गरेको आक्रोश हो । युट्यूबरले सिँहप्रसाद चर्चित भएको, सहयोग आउँदै गरेको, घर बन्दै गरेको आदि कुरा गरेर बोल्न आग्रह गर्दैछन्, तर सिँहप्रसाद झन् आक्रोशित हुन्छन् ।

सिँहप्रसादको यो आक्रोशका पछाडि रोचक पृष्ठभूमी छ ।

सिँहप्रसादको घर ईलाम चुलाचुलीस्थित मंगलसिद्धी गाउँमा पर्दछ । वरपरका लम्बु समुदायमा उनको परिचय धामीका रुपमा स्थापित छ । ६७ बर्षका सिँहप्रसादको जीबन वियोगले भरिएको छ । कोही भाग्ने कोही बित्ने क्रम रोकिएन, एकपछि अर्को गरी चारवटी श्रीमती ल्याए । 

२०७५ को फागुनमा उनले पाचौँ श्रीमती भित्राए । २१ ब्र्षिया पूजा लिम्बु र सिँहप्रसादको दाम्पत्य १० महिनामा चल्दै थियो ।
युट्यूबरको प्रवेश भयो । 

सिँहप्रसादका नातेदार बुद्धराज लिम्बुले फेसबुकमा यो जोडी बारे स्टाटस लेखे । बुद्धराजका अनुसार पहिले देखिकै चिनजानका आधारमा उनैले जनालय टिभीकर्मी (युट्यूब च्यानल)लाई लिएर सिँहप्रसादको घर पुगे । 

जनालयले सिँहप्रसाद र पूजालाई प्रेरणादायी जोडीका रुपमा चिनायो । ‘भेटियो अनौठो जोडी–श्रीमानभन्दा ४७ बर्ष कान्छी पुजा । कसरी भयो बिहे ?’ क्याप्सन सहितको भिडियोमाथि जनालयले लेख्यो–माया होस त यस्तो (माथिपट्टि) दुई सन्तान जन्माउने रहर (तलपट्टि) ।

त्यसपछि के भयो ?

सिँहप्रसाद र पूजा भाइरल भए । सिँहप्रसादको घरमा युट्यूबरको धुइरो लाग्यो । घरमा मात्र हो र ? पूरा गाउँलाई अन्तरवार्ता लिए केहीले । कोही सिँहप्रसादको नयाँ ससुराली पुगे । कोही पूजाको पूर्वपतिको घर पुगे । एक साता नबित्दै सिँहप्रसाद र पूजाको नालीबेली सब लेखियो, देखियो÷देखाइयो । 

अनलाइन टिभी, वेभ नेपाल, युवा मन नेपाल, उर्लाबारी फोकस, सञ्जीवनी इन्टरटेमेन्ट, तीखे अनलाइन टिभी, फोकस अनलाइन टिभी, गोल्डेन टिभी, मेरो कन्काइ, पावरफुल न्युज, सुपरअनलाइन टिभी, नयाँखबर, लेकबेशी, अर्जेन्ट खबर, पावर मिडिया नेटवर्क, सवको अनलाइन टिभी, कालोपाटी, म अगाडि बढ्न चाहान्छ, साइनिङ नेपाल आदि इत्यादि ज्ञातअज्ञात युट्यूब च्यानलहरुले सनसनीपूर्ण क्याप्सनसहित भिडियो सामाग्री पोष्ट गरे । एक्सन नेपाल अनलाइन टिभी, एविसी नेपाललगायतका युट्यूबले यो जोडीलाई एक्सनमै उतारे ।

बाँसघारीमा छायाँकन गरिएको भिडियोमा लिम्बु दम्पत्तिलाई एकअर्काको काखमा राख्न लगाइन्छ । चुम्बन गर्न लगाइन्छ । 


प्रश्नमा शब्द चयन

अन्तरवार्ता जारी छ । पूजालाई प्रश्नः बा तपाईको अँगालोमा हुनुहुन्छ ? कस्तो लागिराछ ?

पूजाः राम्रो लागिराछ ।

प्रश्नकर्ताः अलि पुगेन भन्ने लागिराछ की ?

यहाँ प्रश्नकर्ताको भाव बुझ्न गाह्रो छैन । प्रश्नमा प्रयोग भएको सम्बोधनमा पनि सँगति छैन । बा तपाईको काखमा हुनुहुन्छ भनेर प्रश्न गरिन्छ । बा कस्को ? प्रश्न सोध्ने व्यक्तिको कि पूजाको । यदि सम्मानका खातिर सिँहप्रसादलाई बा भनिएको हो भने पूजालाई आमा भन्नुपर्ने, कतै सुनिदैन ।

अर्को अन्तरवार्तामा सिँहप्रसादलाई हरेक पटक प्रश्नकर्ताले बा भनेर सम्बोधन गर्छन । सँगै, पूजालाई सम्बोधन गर्दा बहिनी भनेर सम्बोधन गरिरहन्छन् । बा भनिसकेपछि बाकी श्रीमतीलाई बहिनी भन्न सुहाँउछ र ? बरु दनादन नामै लिएर सिँहप्रसादजी, पूजाजी भने सजिलो हुन्थ्यो ।

अर्को एक भिडियोमा सिँहप्रसादका भाइलाई सोधिन्छ–त्यति सानोलाई भाउजु भन्नुहुन्छ ?

भाइको जवाफ कम्ता चोटिलो छैन–तपाईको बुबाले १६ बर्षको ल्याए के गर्नुहुन्छ ? प्रतिप्रश्न सुनेपछि प्रश्नकर्ता नाजवाफ हुन्छन् । 

जीबन भरको प्रण ५ मिनेटमा चैट 

सिँहप्रसाद दम्पत्ति युट्यूबरले भनेजसरी प्रस्तुत हुँदै गए । पहिलो दिन आदर्श प्रेमीका रुपमा उनीहरु प्रस्तुत भए । उनलाई भेट्नका लागि युट्यूबको लर्को लाग्यो । युट्यूबरकै माध्यमबाट भाइरल भइरहने नेकपाका युवा नेता पुण्यप्रसाद गौतम पनि दम्पत्ति भेट्न पुगे । उनले सिँहप्रसाद र पूजालाई स्वश्थानी कथाका शिब शर्मा र गोमासँग तुलना गरे । ७० बर्षे बुढा ब्रह्माहण शिब शर्माले सात बर्षिय कन्या गोमासँग दाम्पत्य जीबन बिताएको कथा स्वस्थानी कथामा छ । 

युट्यूबरले खोतल्नु खोतले । यति खोतले कि कमला बानियाले एउटा भिडियोको मुन्तिर लेखिदिइन्–कस्तो हग्छ नि सोधपुछ गर्नु, अरु त सुनिसक्कियो ।

दुईचार दिन सिँहप्रसाद दम्पत्ति पनि कुराकानी रोचक बनाउन हौसिरहे । हुँदाहुँदा पूजा रोएको, सिँहप्रसादसँग पूजा असन्तुष्ट रहेको लगायतका सन्दर्भ आए । पूजाले सिँहप्रसादकै अगाडि मुख खोलिन्–छोड्न के बेर र ? खुट्टा भए जुत्ता कति कति ? पाँच मिनेटपनि लाग्दैन छोड्न ।

पहिलो अन्तरवार्तामा पूजा भन्दै थिइन्–दिन उमेरकाको भर हुन्न, बुढाले बाचुन्जेल साथ दिने ठानेर आएकी हुँ, म पनि जुनीभरलाई साथ दिनेछु ।
सिँहप्रसादको प्रतिष्ठा र परिवार नै तहस नहस हुने देखेपछि उनलाई सामाजिक सँजालमा ल्याउन भूमिका खेलेका बुद्धराज लिम्बुले युट्यूबबाटै युट्यूबरलाई चेतावनी दिए–विभिन्न हेडलाइन बनाएर सोझोपनको फाइदा उठाएर भिडियो अपलोड गर्ने ? सिँहप्रसादको घरमा समस्या आए तपाईहरुले जिम्मेवारी लिनुपर्छ ।

यो त उदााहरणमात्र 

युट्यूबरले धेरै व्यक्तिलाई भाइरल बनाएका छन् । सकारात्मक र नकारात्मक दुबै हिसावले । पीडितका लागि सहयोग जुटाउने, दूरदराजका कुरालाई आम चासोको बिषय बनाउनेलगायतका सन्दर्भ सकारात्मकपनि छन् । कतिपय मुद्धामा आमसँचारका माध्यमभन्दा बढी प्रभावकारी पनि दरिएका छन् । कृष्ण ओलीको जीबनमा आएको सुधारदेखि अशोक दर्जीको गायन क्षेत्रमा बढेको उचाइँमा युट्यूबरको योगदान महत्वपूर्ण छ । सँगै, अघोर बाबाहरुको उदय पनि युट्यूबरहरुकै कारण भएको छ । 

अतिरञ्जना युट्यूबरको मुख्य विशेषताका रुपमा स्थापित भएको छ । 

युट्यूबर को हुन् ? 

युट्यूबर भनेको इन्टरनेट सेलिब्रेटी हुन् जो मुख्यतः युट्यूबमा हालिएका भिडियो सामाग्री मार्फत लोकप्रियता हासिल गर्दछन् । सन् २००५ मा भिडियो सामाग्री अपलोड र सेयर गर्ने इन्टरनेट माध्यमका रुपमा युट्यूबको आविश्कार भयो । युट्यूब आविश्कार भएको १५ बर्षपनि पुगेको छैन । तर, यसले परम्परागत श्रब्यदृश्य आमसँचारलाई बदलिन वा विस्तापित हुन दबाब दिएको छ । हरेक व्यक्ति श्रब्यदृश्य सामाग्री विश्वभर पु¥याउन सक्ने भएको छ । 

युट्यूबरको मुख्य आम्दानी भनेको दर्शक हुन् । भिडियोको बीचबीच वा वरपर देखिने विज्ञापन हेरिएको आधारमा युट्यूबरलाई युट्यूबले पैसा दिने गर्दछ । पैसा दशर्कको संख्या, दशर्कले भिडियो हेरेको ठाउँ, भिडियोको सन्दर्भ आदि कुरामा निर्भर गर्दछ । युट्यूबबाटै एकै बर्षमा अरबौँ कमाउने पनि छन् ।

युट्यूबमा खेलौनाका बारेमा ब्याख्या गरेर सात बर्षिय रायनले गत बर्षमात्र एक अर्ब रुपैयाँभन्दा बढी कमाए । रायन टोयज रिभ्युनामक युट्यूब च्यानलमा मानिसहरु उनको खेलौना ब्याख्या हेर्छन, बीचबीचमा बिज्ञापन आउछ । त्यसैबापत रायनले अरबौँ कुम्ल्याउछन् । 

युट्यूबको नयाँ नियमअनुसार कुनै युट्यूब अकाउन्टबाट अपलोड भएका भिडियोहरु एकबर्षमा ४००० घण्टा हेरिएमा र १ हजार प्रयोगकर्ता भएमा पैसा आउन शुरु गर्दछ । पैसा आउनका लागि युट्यूबले विभिन्न मापदण्ड बनाएको छ । त्यसमा सबैभन्दा पहिला पहिलो सर्त हो–दशर्क । त्यसैले दशर्क तान्नका लागि सनसनीपूर्ण भिडियो शीर्षक हाल्ने र बीचबीचमा हाम्रो च्यानल सस्क्राइब गर्न नभुल्नुहोला भनेर दोहोराइरहिएको हुन्छ । भनिरहनु नपर्ला–मन परेको च्यानल सबस्क्राइब गर्न घरीघरी भनिरहनै पर्दैन । 

पत्रकार र युट्यूबर

परम्परागत परिभाषाअनुसार पत्रकार भनेको सम्पादकीय संरचनामा रही पेशागत आचारसंहिताको पालाना गरी कुनै आमासंचारमा आवद्धरही समाचारसँग सम्बन्धित काम गर्ने व्यक्ति हो । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले पत्रकारका बारे गरेको परिभाषा यस्तो छ–पत्रकार भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवश्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्तिबाहेक सञ्चारसम्बन्धी  व्यवसाय वा सेवालाई प्रमुख व्यावसाय अपनाई पारिश्रमीक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आँशिक समय काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सँकलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिन्जर, समाचारवाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसञ्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई सम्झनु पर्दछ (पत्रकार आचारसंहिता २०७३) ।

यो परिभाषाले युट्यूबरहरु पत्रकार हुन् कि होइनन् भन्ने प्रष्ट बोलेको छैन । पत्रकार महासंघका पूर्वसभापति एवं सूचनाको हकसम्बन्धी अभियन्ता तारानाथ दाहालका अनुसार नेपालको मौजुदा कानूनले युट्यूबलाई पत्रकारिताको माध्यम मानेको छैन तर केही प्रदेश संचार कानूनमा आमसंचार माध्यमको रुपमा उल्ले गरेका वा गर्न खोजेका छन् । दाहालका अनुसार युट्यूब सोसल साइट (सामाजिक संजाल) हो र यसलाई आमसँचारका रुपमा परिभाषित गरिनु गलत हो । सम्पादकीय पद्धतिमा आधारित नहुने हुँदा युट्यूबरहरु स्वेच्छाले भिडियो सामाग्री राख्ने दाहालको भनाइ छ ।

त्यसो त कतिपय युट्यूब अकाउन्ट टेलिभिजनकै नाममा रहेका छन् । टेलिभिजन नामधारी अकाउन्टलाई आमसँचार मान्ने कि नमान्ने ? दाहालका अनुसार नाम राख्दैमा युट्यूब च्यानल टेलिभिजन बन्न सक्दैन । उनी भन्छन्–यदि तीनले आफूलाई आमसँचार माध्यम भनेर स्वघोषणा गर्छन, कम्पनी खोलेर व्यापार गरेका छन्, आचार संहिता र पत्रकारिताको मूल्य मान्यता मान्छु भनेका छन् र सम्पादकीय संरचना सार्वजनिक गरेका छन् भने डिजिटल प्रशारण मान्न सकिन्छ तर तिनको आफ्नै वेभसाइट सिस्टम हुनुपर्छ । युट्यूबको भरमा छन् भने को

उत्तरदायी हुने ? युट्यूब कि तिनका कम्पनी ?

आमसँचारसम्बन्धी अध्येता भानुभक्त आचार्यका अनुसार अधिकाँश युट्यूबर पैसा कमाउनका लागि प्रोपागाण्डा गर्दछन् । व्यर्थका कुरालाई पनि हेरुँ हेरुँ बनाउने र दर्शकको धेरैभन्दा धेरै क्लिक तान्ने उद्देश्य धेरैजसो युट्यूबरको देखिन्छ । गुगलले भिडियो क्लिक भएबापत पैसा दिन छोड्ने हो भने धेरै युट्यूब अकाउन्ट बिलय हुने आचार्य ठोकुवा गर्छन् । 
पत्रकारितालाई माध्यमका हिसावले भन्दापनि यसको उद्देश्य र नियतमा कन्द्रीत रहेर परिभाषा गर्नुपर्ने उनको तर्क छ । सेनाले संचालन गर्ने रेडियोमा काम गर्ने रेडियोकर्मीलाई पत्रकारका रुपमा परिभाषा गर्न नमिल्ने उनको भनाइ छ । 

संचार र भाषाका अध्येता शरतचन्द्र वस्तीका अनुसार युट्यूबरले संचारकर्म गरेपनि पत्रकारिता गरेको मान्न सकिन्न । उनी पत्रकार र युट्यूबरको भेद यसरी खुट्याउँछन्– पत्रकारिताका आफ्नै परिभाषित विधि, प्रक्रिया र अनुशासन छन् । ‘चेक एण्ड ब्यालेन्स’को प्रणाली छ । कर्तव्य, जिम्मेदारी, जवाफदेही र मर्यादाको चौघेरा छ । यो एउटा व्यक्तिको लहड, सनक वा इच्छा, सदिच्छाको मात्र आधारमा निष्पन्न हुने काम वा पेशा होइन । युट्यूबर यस परिधिमा पर्दैनन् । त्यसैले ती अरु जे भए पनि पत्रकार होइनन् । तिनले ‘सञ्चार’ त गर्दा होलान् तर सञ्चार गर्नुमात्र पत्रकारिता होइन ।

युट्यूबको प्रयोग र पत्रकारिता

पत्रकारले युट्यूबको प्रयोग गर्न सक्छन् । तर, सबै युट्यूब अकाउन्टवाला पत्रकार होइनन् । अर्को हिशाबले भन्दा युट्यूब पत्रकारिताको अभिन्न पाटो बनेको छ । सबैजसो टेलिभिजन, पत्रपत्रिक, रेडियो, अनलाइनले युट्यूबमार्फतपनि समाचार सामाग्री दिइरहेका हुन्छन् । टेलिभिजनबाट प्रशारण हुने समाचार, अन्तरवार्ता टेलिभिजनमा भन्दा युट्यूबमार्फत विश्वभर र दर्शकको फुर्सदमा हेरिने गरिएको बताइन्छ । पंक्तिकार स्वयंले सो तथ्यको अनुभव गरेको छ । पत्रकारिताका निश्चित मूल्य मान्यता हुन्छन् । ती मूल्य मान्यतालाई अबलम्बन नगरिएमा युट्यूबको के कुरा जुनसुकै माध्यमबाट समाचार भनेर दिइएको सामाग्री समाचार हुन सक्दैन । गरिएको कर्म पत्रकारिता हुँदैन । 

पत्रकार महासँघका पूर्वअध्यक्ष तारानाथ दाहाल पत्रकारिताका हो होइन भन्नेका लागि सम्पादकीय संरचना, पत्रकार आचारसँहिताको पालाना र मूल्यमान्यता अपनाइएको नअपनाइएको बाट निक्र्योल गर्नुपर्ने बताउँछन् । 

पत्रकारिता पैसाका लागि मात्र गरिने पेशा होइन । यो निश्चित मूल्य, मान्यता र मर्ममा आधारित हुन्छ । ती कुरासँग सम्झौता गरिएमा नामी भनिएको पत्रकारिता पनि केबल दामी 
(दामवाला) सावित हुनेछ । आमसँचारसम्बन्धी अध्येता भानुभक्त आचार्यका अनुसार आमरुपमा सही सूचना सम्प्रेषण गर्नु, शिक्षा दिनु र पाठक दशर्कलाई सशक्तिकरण गर्नु पत्रकारको मुख्य उद्देश्य हो । सामाजिक उत्तरदायित्व पत्रकारिताको अर्को पाटो हो । 

को पत्रकार हो र को होइन ? के पत्रकारिता हो र के होइन ? यो आमसँचार र पत्रकारिता गर्नेका लागि गहन बिषय भएपनि आमरुपमा महत्वपूर्ण सवाल नहुन सक्छ । आमरुपमा सही सूचना सही ढंगबाट आयो कि आएन भन्ने कुराले अर्थ राख्छ । कसैले प्रमाणसहित फेसबुकमा केही कुरा राखेमा त्यसको प्रभाव प्रेसको झैँ पर्न सक्छ । प्रविधिका कारण हरेक व्यक्तिले सूचना आमरुपमा सम्प्रेषण गर्न सक्ने स्थिति छ । यो त गज्जब भयो । सँगै, प्रोपगण्डा र गलत सूचना प्रवाह तथा त्यसबाट पर्न जाने नकारात्मक प्रभाब थप चिन्ताको बिषय बनेको छ । 
नेपालमा प्रोपगण्डा र गलत सूचना सम्प्रेषणका बिरुद्ध स्पष्ट कानून छ । कानून कार्यान्वन गर्ने साहश भने नदेखिएको आमसंचारविद् भानुभक्त आचार्यको बिश्लेषण छ । 

बिषयको अन्त्य

सिँहप्रसाद दम्पत्तिलाई २÷४ दिन यसरी पछ्याइयो कि उनी आफैँले घोषणा गरेँ–म काबु भएँ, अब बोल्दिन । उनको दाम्पत्य जीबन मानबीय चासो भएपनि त्यसलाई अतिरन्जना गरियो । मूल उद्देश्य देखियो जसरी पनि भिडियो क्लिक गराइ छाड्ने । अधिकाँश भिडियोमा प्रयोग भएको शैली र भाषा पत्रकारिताको भाषाशैलीसँग मेल खाँदैन । 
सिँहप्रसादका छोरा मोहन थेगिम पूर्वी नेपालमा नाम कहलिएका लोक गायक हुन् । रोगले थलिएका थेगिमको काठमाडौँमा उपचार भइरहेको छ । सिँहप्रसादको सबै चिज खोज्ने धेरैजसो युट्यूबरका लागि यो पाटो बारे वास्ता भएको देखिएन । 

युट्यूबरहरुको पहुँच र प्रभाव दिनप्रतिदिन बढ्दो छ । गाउँगाउँमा इन्टरनेट पुग्दैछ । दूरदराजका बासिन्दाका हातहातमा उच्चप्रविधिका मोबाइल सेट पुग्दैछन् । जति इन्टरनेट र मोबाइलको बिस्तार हुन्छ युट्यूबरको प्रभाव पनि बढ्दै जानेछ । युट्यूबरले मूलधारको पत्रकारितामा बिषय नै नबनेका सन्दर्भलाई समाजको मूल बिषय बनाउन सक्छन् भन्ने कुराको पुष्टि अनेक सन्दर्भमा प्रमाणित भइसकेको छ । आफ्नो प्रभाब र योगदान सकारात्मक होस भन्नेमा युट्यूबर सचेत हुनैपर्छ । 

(पत्रकार नारायण पौडेलले प्रेस काउन्सिलको नियमित प्रकाशन संहिताका लागि लेखेको यो लेख समय सान्दर्भिक भएकाले साभार गरिएको हो ।)