विचार

बेरोजगारीको समस्या झेल्दै भारतबाट फर्किएकाहरु

बेरोजगारीको समस्या झेल्दै भारतबाट फर्किएकाहरु

सिद्धराज भट्ट

उहाँ आफ्नै गाउँठाउँमा मजदुरी गरेर कमाइ गर्ने सोचमा हुनुहुन्छ तर मजदुरीको काम पाउनुभएको छैन । कोरोनाका कारण भारतबाट फर्किन बाध्य भएँ, कमाएको जति सकियो, अब परिवारका ११ जना सदस्यलाई कसरी पाल्ने , दुःखेसो गर्दै उहाँले भन्नुभयो, आफ्नै ठाउँमा केही काम गर्ने सोच भए पनि कसैले ऋण दिँदैन । गत चैत ७ गते घर फर्किएका नेपालीले सिलाइकटाइ गर्ने आफ्नो पुख्र्याैली पेशा भए पनि सिलाइ मेसिन खरिद गर्न पैसा नहुँदा त्यसै बेरोजगार बनेको बताउनुभयो ।

दिल्लीबाट फर्किनुभएका कृष्णपुर नगरपालिका वाणी गाउँका युवा वीरेन्द्र कठायत पनि परिवार कसरी पाल्ने भन्ने चिन्तामा हुनुहुन्छ । उक्त गाउँमा कठायतसहित करीब ५० युवा भारतमा देखिएको कोरोनाको त्रासपछि वैशाख महिनामा पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्किएका थिए । काम नपाएपछि यतिबेला टोलमा भलिबल खेलेर दिन बिताउने गरेका छौँ , कठायतले भन्नुभयो, भारतमा काम पाउँदा हुने कमाइ घर पठाउँदा परिवार पाल्न सहज थियो, अहिले कमाइ बन्द हुँदा परिवार पाल्न गाह्रो भयो ।

कोरोनाको समस्या हटेपछि पुनः दिल्ली जाने योजना रहेको कठायतले सुनाउनुभयो । कोरोनाको कहरसँगै घर फर्किन बाध्य भएका धेरै सुदूरपश्चिमवासीले अहिले बेरोजगारको समस्या झेलिरहेका छन् । सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको मुख्य गन्तव्य भारत हो तर कोरोनाको सन्त्रासका कारण गत चैत महिनायता धेरै नेपाली भारतबाट स्वदेश फर्किएका छन् । यो प्रदेशबाट झण्डै चारदेखि पाँच लाख सुदूरपश्चिमवासी भारतका विभिन्न शहरमा काम गरिरहेको अनुमान छ । भारतका विभिन्न शहरमा होटल, सुरक्षा, यातायात र निजी कम्पनीमा बढी सङ्ख्यामा नेपाली कार्यरत रहेको बताइएको छ ।

 जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी कोरोनाको त्राससँगै चैत महिनायता एक लाख चार हजार सुदूरपश्चिमवासी भारतबाट फर्किएको बताउनुहुन्छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षको बजेट कार्यक्रममार्फत कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवाका साथै प्रभावित कृषकलाई लक्षित गरी व्यवसायमुखी र आत्मनिरभरतर्फ उन्मुख गराउन कृषि कार्यक्रम ल्याएको छ । यद्यपि सरकारले बेरोजगार युवाका लागि ल्याएको कृषि कार्यक्रमका बारेमा यी युवा अनभिज्ञता प्रकट गर्दछन् । 

 भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्मा कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवा र कृषकलाई कृषि कार्यमा सहभागी गराउन व्यसायमुखी कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताउनुहुन्छ । यो कार्यक्रम कार्यान्वयनका लागि कृषक र बेरोजगार युवालाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, मल बीउबिजन, सिँचाइलगायत अनुदान दिने गरी मन्त्रालयले चालु वर्षमा कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ । 

 यसका लागि मन्त्रालयले कोरोनाका कारण प्रभावित भएका किसान र स्वदेश भित्रिएर बेरोजगार बनेका युवाको विवरणसमेत स्थानीय तहसँग समन्वय गरी सङ्कलन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

 प्रदेश सरकारले चालु आव ०७७÷७८ मा प्रस्तुत गरेको बजेट नीति कार्यक्रममा कोभिड–१९ को महामारीबाट प्रभावित नागरिकलाई राहत पुग्ने, गरिबी न्यूनीकरण गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रतिकूल असरको क्षति न्यूनीकरण गर्ने, अर्थतन्त्रको पुनरोत्थानमा टेवा पुर्याउने र स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

 यस्तै रोजगारी गुमाएका नागरिकको आयआर्जन बढाउँदै उनीहरुको ज्ञान सीप क्षमताको प्रयोग गरी कृषि तथा गैरकृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र अर्थतन्त्र गतिशील बनाउने जस्ता क्रियाकलाप सञ्चालनमा समेत बजेटले प्राथमिकता दिएको छ । (रासस)