समाचार

भैसिकिलेका छ घरपरिवारलाई स्थानान्तरण

भैसिकिलेका छ घरपरिवारलाई स्थानान्तरण

दमौली। पहिरोको जोखिममा रहेका तनहुँको ऋषिङ गाउँपालिका ८ भैसिकिलेका छ घरपरिवारलाई सुरक्षित स्थानमा सारिने भएको छ । गत असार २९ गते पहिरोले घर पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जोखिमपूर्ण बसोबास रहेको यहाँका ती घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सार्न लागेको हो ।

हाल बसिरहेको भन्दा केही माथि बस्ती स्थानान्तरणका लागि गाउँपालिकाले छ आना जग्गा खरिद गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । पहिरोको जोखिम नरहेको ठाउँमा जग्गा खरिद गरी परिवारलाई स्थानान्तरण गर्न लागेका छौँ , उहाँले भन्नुभयो । जग्गा गाउँपालिकाले खरिद गरिदिए पनि घर भने सम्बन्धित व्यक्तिले नै बनाउनुपर्नेछ । विस्थापित परिवारलाई सरकारले घर बनाउन केही रकम दिने कुरा छ, गाउँपालिकाले पनि के गर्न सक्छ त्यसमा छलफल गछौैँ , उहाँले भन्नुभयो ।

गत असार २९ गते पहिरोले घर पुरिएर आम्बबहादुर थापाका दुई छोराबुहारी र एक नातिनी गरी पाँच जनाले ज्यान गुमाएका थिए । घटनापछि थापाका परिवार सोही ठाउँमै रहेको छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । यही साउन ६ गते परेको भीषण वर्षाले घर भत्किएका बन्दीपुर गाउँपालिका १ का दुई परिवारलाई गाउँपालिकाले राहत रकम प्रदान गरेको छ । पूर्ण घर क्षति भएकालाई रु ३० हजार सहयोग गर्ने निर्णयबमोजिम गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले मन्जु अधिकारी र अर्जुन अधिकारीलाई उक्त रकम प्रदान गर्नुभयो । सोही अवसरमा रेडक्रस सोसाइटीबाट प्राप्त सामग्रीसमेत प्रदान गरिएको थियो । बन्दीपुर १ मा दुई घर पूर्ण, १० घर आंशिक क्षति र १५ घर जोखिममा रहेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले बाढीपहिरोबाट घर क्षति भएकालाई राहत दिने निर्णय गरेको थियो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाका अनुसार पूर्णरूपमा घर क्षति भएकालाई प्रतिघर रु ३० हजार र आंशिक घर क्षति भएकालाई प्रतिघर रु १० हजारका दरले राहत दिइनेछ । साथै बाढीले खेत बगर भएका किसानलाई प्रतिरोपनी रु दुई हजारका दरले राहत दिइनेछ । पहिराले घर पूर्णरूपमा क्षति भएर २० घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको छ , उहाँले भन्नुभयो । उहाँका अनुसार २० घर आंशिकरूपमा क्षति भएको छ । पहिरोबाट विस्थापित भएकाहरु छिमेकी र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् । बाढीले बन्दीपुर गाउँपालिकाभित्रका धेरै खेतहरु बगर भएका छन् । बगर भएका खेतको अनुगमन गरी क्षति भएका किसानलाई राहतस्वरुप क्षतिपूर्ति दिइनेछ । खेतमै पुगेर कति क्षति भएको छ, त्यसको निरीक्षण गर्छौँ, त्यसपछि कृषकलाई प्रतिरोपनी रु दुई हजारका दरले राहत रकम दिन्छाँै , अध्यक्ष थापाले भन्नुभयो ।

मास्क प्रयोग नगर्नेलाई जरिवाना

मास्क प्रयोग नगरी हिँडडुल गर्ने ७२ जनालाई प्रहरीले बिहीबार जरिवाना गरेको छ । कोभिड १९ को जोखिम कायमै रहेकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पटक पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति रु १०० का दरले जरिवाना गराइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले बुधबार पनि १०० जनालाई मास्क प्रयोग नगरेवापत जरिवाना गराएको थियो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो , उहाँले भन्नुभयो, तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौँ । उहाँका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसका बारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ ।(रासस)