खेल

फुटबल खेलाडीलाई राहत

फुटबल खेलाडीलाई राहत

बागलुङ। कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ । अखिल नेपाल फुटबल सङ्घको सहयोगमा जिल्ला फुटबल सङ्घ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई रु चार हजारका दरले बुधबार राहत प्रदान गरेको हो ।

राहत रकम वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलकूद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको बताउनुभयो । उहाँले सङ्कटका बेला खेलाडीलाई सघाएकामा फुटबल सङ्घको प्रशंसा गर्नुभयो । जिल्ला लिगसहित ए, बी र सी डिभिजन लिग खेलेका खेलाडीलाई मात्र राहत दिइएको सङ्घका जिल्ला अध्यक्ष रामराज गुरुङले बताउनुभयो । खेलाडी र अफिसियलाई गरी रु ७६ हजार राहतमा खर्च भएको उहाँको भनाइ छ । राहत रकमको चेक बुझेपछि खेलाडीले खुशी व्यक्त गरेका थिए । (रासस)