अर्थ

बन्दाबन्दीले राजश्व सङ्कलनमा कमी

बन्दाबन्दीले राजश्व सङ्कलनमा कमी

महेन्द्रनगर। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६ ०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ ।सो कार्यालयलाई वार्षिक रु ४८ करोड ६८ लाख राजश्व सङ्कलनको लक्ष्य दिइएको भएपनि बन्दाबन्दी लगायतका कारणले राजश्वमा कमी आएको हो । कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख नहकुल शर्माले गत आर्थिक वर्षमा रु २५ करोड ८४ लाख राजश्व संकलन भएको बताउनुभयो ।

केही वर्षयता भन्सारमा भएको आन्तरिक सुधार र अवैध सामान आयातमा नियन्त्रण गरिएपछि राजश्व बढेपनि ६ महिनायता कोरोनाले राजश्व प्रभावित बनेको छ । बन्दाबन्दीले यहाँका नाकाहरु अझै प्रभावित भएको छ , निमित्त कार्यालय प्रमुख शर्माले रासससित भन्नुभयो, अझै भारतीय बजारबाट सामान आयात गर्ने वातावरण बनिसकेको छैन ।

गड्डाचौकी नाकाबाट ठुला सवारी साधनभन्दा पनि साइकल र मोटरसाइकलमा बढी सामान ढुवानी हुने गरेको भन्सार कार्यालयको भनाइ छ । वनबासा पुलका कारण यहाँ आयात निर्यातका लागि ठूला सवारीसाधान चल्दैनन्, शर्माले भन्नुभयो,बन्दाबन्दी खुकुलो भएपनि नाका अझै सामान्य अवस्थामा आइसकेको छैन । उहाँले हाल गड्डाचौकी नाका दैनिक तीन घण्टा चलेको बताउनुभयो । त्यसैगरी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ३४ करोड २० लाख राजश्व उठाउने लक्ष्य लिएको छ ।(रासस)